मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन लाख १५ हजार घर पुनःनिर्माण, सात लाख ३२ हजार ७७१ ले गरे अनुदान सम्झौता


 

काठमाडौँ । भूकम्पबाट भत्किएकामध्ये तीन लाख १५ हजार ८९७ घर पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणमा सोमबारसम्म प्राप्त तथ्याङ्कअनुसार आठ लाख १२ हजार १६१ लाभग्राहीमध्ये सात लाख ३२ हजार ७७१ ले अनुदान सम्झौता गरेका छन् । सम्झौता गरेकामध्ये सात लाख २६ हजार ३३३ ले पहिलो किस्ता बुझेका छन् ।

पहिलो किस्ता लिएर पाँच लाख ६० हजार ७८१ लाभग्राहीले पुनःनिर्माण शुरु गरेका छन् । जग निर्माण गरी पाँच लाख ३१ हजार १९ भूकम्प पीडितले दोस्रो किस्ता माग गरेका छन् ।

दोस्रो किस्ताका लागि पाँच लाख २२ हजार १९३ परिवार प्रमाणीकरण भएको तथ्याङ्क प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रस्तुत गरे ।

सोमबारसम्म पाँच लाख १८ हजार ५५ लाभग्राहीले भुक्तानी पाएका छन् । तेस्रो किस्ता माग गर्नेको सङ्ख्या तीन लाख ४४ हजार ३९८ पुगेको छ । तेस्रो किस्ताका लागि तीन लाख ३४ हजार ५० भूकम्प पीडित प्रमाणीकरण भएका छन् । घर निर्माण सम्पन्न गरेका तीन लाख १९ हजार ६६९ परिवारलाई तेस्रो किस्ता वितरण गरिएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षति भएका ५४ हजार ६५८ लाभग्राही प्रबलीकरण सूचीमा समावेश भएका छन् । जसमध्ये ११ हजार ८९५ ले अनुदान सम्झौता गरेका छन् । १० हजार ४६४ परिवारले पहिलो किस्ता लिएका छन् ।

प्रबलीकरण सूचीमा परेकाले दुई किस्तामा रु एक लाख पाउने प्राधिकरणको कार्यविधिमा उल्लेख छ । पुनःनिर्माण गर्नेले भने तीन किस्तामा तीन लाख अनुदान पाउँछन् ।

समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्रगति विवरण प्रस्तुत गरेपनि गणपूरक सङ्ख्याको अभावमा आजलाई बैठक स्थगित गरिएको समितिका सभापति कल्याणी खड्काले जानकारी दिइन् । यसै साता समितिको बैठकमा पुनःनिर्माणका बारेमा छलफल हुने जनाइएको छ ।