कृषि क्षेत्रमा विकास बैंकको उत्साहजनक लगानी, कुन बैंकको लगानी कति ? « Eglish Khabarhub

कृषि क्षेत्रमा विकास बैंकको उत्साहजनक लगानी, कुन बैंकको लगानी कति ?



खस्यौली । रुपन्देहीमा रहेका विकास बैंकले कृषि क्षेत्रमा उत्साहजनक लगानी गरेका छन् ।

बैंकले गरेको लगानीबाट कृषिजन्य आयात रोक्न सघाउ पुग्ने र व्यापार घाटासमेत कम हुने विश्वास गरिएको छ । खासगरी पशुपालन, कुखुरापालन, मत्सत्यपालन र तरकारी खेतीमा विकास बैंकले लगानी गरेका छन् ।

बुटवलमा रहेको साइन डेभलपमेण्ट बैंकका कार्यकारी प्रमुख प्रकास पौडेलले भने–“मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन बैंकले कृषिमा लगानी बढाउन चाहेको छ ।” उनले कृषिलाई उच्च प्राथमिकतामा राखेर लगानी गरिरहेको जानकारी दिँदै सबैभन्दा बढी सहुलियतपूर्ण कर्जामा बैंकले लगानी गरिरहेको बताए ।

उक्त बैंकले कृषि क्षेत्रमा न्यूनतम १३ प्रतिशत ब्याजदरमा एक अर्ब सात करोड लगानी गरेको छ भने ३० करोड सहुलियतपूर्ण ब्याजमा लगानी गरेको छ ।

कार्यकारी प्रमुख पौडेलले कृषि क्षेत्रमा उत्साहजनक अवस्था रहेको उल्लेख गर्दै युवाको आकर्षण पनि बढ्दै गएको बताए । उनले नेपालमा अझै पनि वित्तीय साक्षरता नभएकाले संस्थागत सामाजिक उत्तरदायित्व वहन हुने गरी वित्तीय साक्षरता जगाउने काम गरिरहेको बताए ।

तिनाउ विकास बैंकलेपनि कृषि र उत्पादनशील क्षेत्रमा लगानी बढाएको उल्लेख गर्दै कार्यकारी प्रमुख प्रदीपकुमार श्रेष्ठले भने, “कृषि क्षेत्रको विकास नभइकन समग्र अर्थतन्त्रको विकास हुन सक्दैन ।” उनले उत्पादनशील क्षेत्रको लगानीले गरीबी निवारणमासमेत सघाउ पुग्ने भएकाले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन सकिनेमा जोड दिए ।

सो बैंकले एक अर्ब भन्दा बढी कृषि र उत्पादनशील क्षेत्रमा लगानी गरेको छ । मत्यपालन, कुखुरापालन, गाई फार्म र तरकारी खेतीमा लगानी गरेको बैंकले कृषकको माग अनुसार एक लाखदेखि एक करोडसम्मको परियोजनामा कृषि कर्जा प्रवाह गरेको छ ।

कालिकानगरमा रहेको नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकले पनि कृषि क्षेत्रलाई उच्च प्राथमिकतमा राखेर कृषि कर्जा प्रवाह गरेको छ ।

बैंकका कार्यकारी प्रमुख राजनप्रसाद खनालले १३ प्रतिशत ब्याजदरमा उखु उद्योग, केराखेती, मत्यपालन र भैंसी पालनमा लगानी गरेको जानकारी दिए । उनले अहिलेसम्म ३७ करोड ३७ लाख कृषि क्षेत्रमा लगानी भएको बताए ।

Publish on: