काठमाडौँ । विद्युतीय सामग्रीको बारेमा जानकारी दिन आगामी पुस ६ देखि १० गतेसम्म ‘निक इलेक्ट्रो टेक, २०१८’ आयोजना गरिने भएको छ ।
नेपाल विद्युतीय व्यापार महासङ्घले उक्त मेलाको आयोजना गरेको हो । मेलाको नारा ‘आर्थिक समृद्धिको संवाहक ऊर्जा’ भन्ने रहेको छ । यो महासङ्घले आयोजना गरेको नवौ संस्करणको मेला हो । मेलामा विद्युतीय सामग्रीसँग सम्बन्धित ७७ प्रदर्शनी कक्ष राखिनेछ ।
मेलाको प्रमुख आकर्षणमा नेपाल इकरात इञ्जिनीयरिङ कम्पनी (निक)ले उत्पादन गरेको ६६ केभी क्षमताको ट्रान्सफर्मर रहनेछ ।
निकका प्रमुख एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशीका अनुसार विगतमा ११ केभी, ३३ केभी क्षमतामा ट्रान्ससफर्मर उत्पादन गर्दै आएकोमा अब भने ६६ केभी क्षमतामा ट्रान्सफर्मर उत्पादन गर्न लागिएको छ ।
मेलामा स्वदेशी एवं विदेशी कम्पनीका विद्युतीय सामग्री तथा उपकरण राखिने मेलाका संयोजक सुदर्शनप्रसाद पौडेलले जानकारी दिए ।
यस्तै मेलामा स्वदेशी तथा बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका प्रसारण तथा वितरण सामग्री, केबुल एवं कण्डक्टर, लाइटिङ र बहुसञ्चार उपकरणसहित विविध विद्युतीय उपकरणसमेत राखिनेछ । मेलालाई एक लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा राखिएको छ ।
SHARE YOUR THOUGHTS