काठमाडौं । लगानी बोर्डले निजी क्षेत्रसँग आयोजनाको सूची मागेको छ ।
आगामी चैत १५ र १६ गते आयोजना हुने लगानी सम्मेलन, २०१९ का लागि उपयुक्त परियोजना पेश गर्न बोर्डले आज एक सूचना मार्फत निजी क्षेत्रसँग अनुरोध गरेको छ ।
निजी वैदेशिक लगानी प्रवद्र्धन गर्ने लक्ष्यका साथ आयोजना हुने लगानी सम्मेलनमा उल्लेखनीय संख्यामा विदेशी लगानीकर्ताको सहभागिता रहने अपेक्षा गरिएकाले निजी क्षेत्रले गरेको लगानी तथा अध्ययन गरेका आयोजनाको सूची उपलब्ध गराउन बोर्डले आग्रह गरेको हो ।
सम्मेलनमा लगानीकर्ता समक्ष लगानीयोग्य परियोजना प्रस्तुत गर्ने कार्यक्रम सभेत रहेकाले निजी क्षेत्रले अध्ययन गरेका संयुक्त लगानीका लागि उपयुक्त हुने परियोजना भए सो को विवरण उपलब्ध गराउन भनिएको बोर्डको सूचनामा उल्लेख छ ।
बोर्डले आगामी माघ मसान्तभित्र प्राप्त हुने गरी ती परियोजनाको जानकारी उपलब्ध गराउन भनेको हो । बोर्डले जलविद्युत्, कृषि, पर्यटन, भौतिक निर्माण तथा, खनिज तथा अन्य महत्वपूर्ण आयोजना उपलब्ध गराउन आग्रह गरेको छ ।
अघिल्लो पटक आयोजना गरिएको लगानी सम्मेलनमा दातृ निकायले प्रतिवद्धता जनाएको रकम समेत प्राप्त नभएको अवस्थामा आगामी चैतमा आयोजना गर्न लागिएको सम्मेलनले कस्तो प्रतिफल देला र कस्तो लगानीको योजना आउला भन्ने बारेमा भने केही भन्न सकिने अवस्था रहेको छैन ।
अघिल्लो सम्मेलनमा कूल १४ खर्बको प्रतिवद्धता आएपनि असाध्यै न्यून रकम मात्रै सरकारले प्राप्त गरेको छ । विदेशी लगानीका परियोजना समेत खासै आएका छैनन् ।
आएको भनिएको भारतीय लगानी समेत परियोजना स्थलमा पुग्न सकेको छैन । अरुण तेस्रोको लगानीकर्ता सतजल विद्युत् निगमले काम सुरु गरेपनि भारतीय लगानीकै अर्को परियोजना माथिल्लो कर्णालीको काम सुरु हुन सकेको छैन ।
SHARE YOUR THOUGHTS