२८ मंसिर २०८२, शनिबार

नमुना सहकारी जसले एक महीनामा एक करोडको सुन्तला बेच्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रत्ननगर । तामिन कृषि बहुउदेश्य सहकारीले एक महीनामै एक करोड बराबरको सुन्तला बिक्री गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित उक्त सहकारीले गत मङ्सिर २० देखि पुस १९ सम्ममा उक्त मूल्य बराबरको सुन्तला बिक्री गर्न सफल भएको हो ।

“मङ्सिर २० गतेबाट सुन्तला बिक्री गर्न शुरु गरेका थियौँ, अहिलेसम्म एक करोडको सुन्तला बिक्री भएको छ” सहकारीका अध्यक्ष हरिबहादुर नेपालले भने । उनका अनुसार सहकारीमा आबद्ध ८५ कृषक सदस्यले ८० बिघा जमीनमा सुन्तला खेती गरेका छन ।

गत वर्ष सहकारीले २ करोड बराबरको सुन्तला बिक्री गरेको थियो । उनले भने, “अहिले एक महीनामै एक करोड नाघेको छ, अझै एक महीना बाँकी छ, २ करोड सजिलै पुग्छ ।”

“बोटबाटै आधाआधी जती सुन्तला बिक्री भइसकेको छ, माघको दोस्रो हप्तासम्म सुन्तला बिक्री गरिन्छ”, अध्यक्ष नेपालले भने, “तामिन सहकारीबाट मात्र यस वर्ष २ करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान छ ।”

उक्त सहकारीमा आबद्ध तामिन, ठङराङ, साठीमुरे, न्याङ्दीखोला, कमेरघाट, निबुवाडाँडाका कृषकले १० बिघासम्ममा सुन्तला खेती गर्दै आएका छन ।

सहकारीले सुन्तलाको पकेट क्षेत्रअन्तर्गत बेलाबेलामा तालीम दिनाका साथै सुन्तलाको बिरुवासमेत वितरण गरेको थियो । यसबाट किसानको आर्थिक अवस्थामा पनि सुधार भएको उनको भनाइ थियो ।

सहकारीमा आबद्ध किसानले आफूखुशी सुन्तला विक्री गर्न पाउँदैनन सहकारीमार्फत नै सुन्तला बिक्री हुँदै आएको छ । “किसानले सहकारीमा सुन्तला ल्याउँछन, तौलन्छन अनि सहकारीले व्यवसायीलाई बिक्री गर्छ” उनले, “किसानका सुन्तला सहकारीमार्फत नै उचित मूल्यमा बिक्री भइरहेका छन ।”

सुन्तला किसानका अनुसार ग्रेड नगरेको सुन्तला यतिबेला प्रतिकिलो ६५ देखि ७० रुपैंयामा बिक्री भइरहेको छ भने ग्रेड गरेको सुन्तला प्रतिकिलो एक सय रुपैंयामा बिक्री भइरहेको छ । तामिनको सुन्तलाको मुख्य बजार मुग्लिन हो । गोर्खा, लमजुङ, चितवन र पूर्वका जिल्लामा समेत त्यहाँको सुन्तला पुग्छ । दुई वटा पात भएको सुन्तला तामिनको सुन्तला भन्ने बुझिन्छ ।