कुलिङ पिरियड: बैंकका सीइओ/डेपुटी सीइओ माथि कडा राष्ट्र बैंक आफ्ना कर्मचारीमाथि उदार « Eglish Khabarhub

कुलिङ पिरियड: बैंकका सीइओ/डेपुटी सीइओ माथि कडा राष्ट्र बैंक आफ्ना कर्मचारीमाथि उदार



काठमाडौं । निजी बैंकका सीइओ, डेपुटी सीइओमाथि झन् कडा भएर प्रस्तुत भएको नेपाल राष्ट्र बैंक उही मुद्दामा आफ्ना कर्मचारीमाथि भने निकै लचिलो भएको छ ।

राष्ट्र बैंकका कर्मचारीलाई अवकासपछि निजी बैंक तथा वित्तीय संस्थामा जागिर खान नपाउने समयावधि (कुलिङ पिरियड) घटाउन लागिएको हो ।

राष्ट्र बैंक ऐन संसोधनका लागि राष्ट्र बैंकले तयार पारेको मस्यौदामा आफ्ना कर्मचारीको कुलिङ पिरियड निकै खुकुलो बनाउने प्रस्ताव गरिएको छ ।

अहिले गभर्नरले आजीवन अर्को संस्थामा जागिर खान नपाउने व्यवस्था छ भने डेपुटी गभर्नर र कार्यकारी निर्देशकलाई ३ वर्ष निजी बैंक तथा वित्तीय संस्थामा जागिर खान पाउँदैनन् ।

आफ्ना कर्मचारीहरुको कुलिङ पिरियड घटाएको राष्ट्र बैंकले बैंकका सीइओ र डेपुटी सीइओ दुबैलाई ६ महिनाको कुलिङ पिरियड लगाउन प्रस्ताव गरेको छ ।

निर्देशक, उपनिर्देशक र सहायक निर्देशकले भने २ बर्ष निजी बैंकमा जागिर खान पाउँदैनन् ।

राष्ट्र बैंकले डेपुटी गभर्नर, कार्यकारी निर्देशक, निर्देशक सबैले राष्ट्र बैंको जागिरबाट अवकास पाएको एक वर्षपछि निजी बैंक तथा वित्तीय संस्थामा जागिर खान पाउने प्रस्ताव गरिएको छ ।

‘राष्ट्र बैंकमा जागिर खायो भन्दैमा ३/३ वर्षसम्म कुलिङ पिरियड राखिदिँदा हामीलाई समस्या पर्दैन ?’ एक डेपुटी गभर्नरले प्रतिप्रश्न गर्दै भने, ‘मासिक ८० हजार तलब हुन्छ, भत्ता बढ्दैन, अनि जागिर जाडेको ३ वर्षसम्म जागिर खान नपाएपछि पूर्वडेपुटी गभर्नर भनेर घर चल्छ र ?’

त्यसैले आफूहरुले कुलिङ पिरियड घटाउने प्रस्ताव गरेको उनले जानकारी दिए ।

‘लामो समय कुलिङ पिरियड लगाउँदा राष्ट्र बैंकबाट अवकास पाएको दक्ष जनशक्ति बेरोजगार बस्नुपर्ने अवस्था आयो,’ उनले भने, ‘त्यसैले कुलिङ पिरियड घटाउन प्रस्ताव गरिएको हो ।’

आफैले नियमन गरेका बैंक तथा वित्तीय संस्थाको सञ्चालक तथा ब्यवस्थापनमा जान थालेपछि राष्ट्र बैंकले कुलिङ पिरियड लगाएर नियन्त्रण गरेको थियो ।

यसरी राष्ट्र बैंकका कर्मचारीहरु अवकास पाउनेवित्तिकै निजी बैंकमा जागिर खान जान पाउँदा राष्ट्र बैंकमा हुँदा निजी बैंक वित्तीय संस्थाको प्रतिनिधि जस्तै भएर काम गर्न थालेपछि कुलिङ पिरियड लगाएको हो ।

आफ्ना कर्मचारीहरुको कुलिङ पिरियड घटाएको राष्ट्र बैंकले बैंकका सीइओ र डेपुटी सीइओ दुबैलाई ६ महिनाको कुलिङ पिरियड लगाउन प्रस्ताव गरेको छ । यसअघि निर्देशनमार्फत कुलिङ पिरियड लगाएको राष्ट्र बैंकले अव निजी बैंकका फस्ट म्यान र सेकेन्ड म्यानलाई ऐनमै कुलिङ पिरियड तोक्न प्रस्ताव गरेको हो ।

राष्ट्र बैंकका कर्मचारीहरुले निजी बैंकका सीइओ र डेपुटी सीइओलाई पनि १ वर्षकै कुलिङ पिरियड लगाउने प्रस्ताव तयार पारेको थियो । तर, उच्च व्यवस्थापनले निजी बैंकका उच्च पदस्थ कर्मचारीलाई ६ महिनाको मात्रै कुलिङ पिरियड लगाउनु पर्ने बताएपछि त्यसै गरिएको हो ।

राष्ट्र बैंक ऐनको संसोधन मस्यौदा अर्थ मन्त्रालय पठाइसकिएको छ ।

Publish on: