काठमाडौं । सेयर कारोबारमा प्यान लगाउने सरकारको तयारीप्रति लगानीकर्ताहरुले गंभीर असन्तुष्टि जनाएका छन् ।
आगामी बैशाख १ गतेदेखि दोस्रो बजारमा सेयर कारोबार गर्दा अनिवार्य प्यानमा दर्ता हुनुपर्ने व्यवस्था गर्नका लागि लगानीकर्तासँग गरिएको छलफलमा लगानीकर्ताहरुले यस्तो बताएका हुन् ।
सरकारले प्यान अनिवार्य भनेर लगानीकर्ताहरुलाई आतंकित बनाउने काम गरेको लगानीकर्ताहरुको भनाइ छ ।
अर्थमन्त्रीको बक्रदृष्टिका कारण लगातार घटेको सेयर बजारलाई आफूहरुले आन्दोलन गरेर ५८ बुँदे उपलब्धि गरेको तर फेरि धितोपत्र बोर्डले बजार सिध्याउन प्यानको कुरा झिकेको लगानीकर्ताहरुले आरोप लगाए ।
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बजार प्रतिकुल हुँदा बजार सिध्याउने खेल भएको आरोप लगाइन् ।
‘अनिवार्य प्यानलाई हाम्रो संघ घोर भत्र्सना गर्दछ,’ अध्यक्ष पोखरेलले भनिन्, ‘हामीलेक अहिलेकै अवस्थामा कुनैपनि हालतमा प्यान लागू गर्न दिनु हुँदैन । र, दिँदैनौ पनि ।’
सरकारलाई प्यान लागू गर्नु नै छ भने पञ्चवर्षिय योजना बनाएर प्यान लगाउन उनले सुझब दिइन् ।
लगानीकर्ता तारा फुल्लेलले प्यानको कुरा झिकेर साना लगानीकर्ता घगाउन खोजिएको आरोप लगाए ।
‘बजार घटेर लगानीकर्ता तनाबमा परिरहेका बेला कहाँबाट आयो एक्कासी प्यान अनिवार्य गर्ने कुरा ?’ फुल्लेलले प्रश्न गरे, ‘बैशाख १ गतेदेखि नै अनिवार्य गर्नुपर्ने कारण के ?’
बजार विकासमा सरकारले अवरोध गरेको लगानीकर्ताहरुको ठम्याइ छ ।
सेयर लगानीकर्ता दबाब समूहका दिपेन्द्र अग्रवालले यस्ता फण्डा झिकेर बजार घटाएर नियामक निकायमा बस्नेहरुले नै सेयर किनबेच गर्ने गरेको आरोप समेत लगाए ।
‘नियामक निकायमा बस्नेहरुले बेलाबेलामा बजार घटाउन यस्ता काम गर्छन्, घटेको बजारमा आफूले सेयर किन्छन्, अनि पछि ब्यवहारिक भएन भन्दै लागू गर्दैनन् र कमाउँछन्,’ अग्रवालले भने ।
अग्रवाल नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदप्रति निकै आक्रमकरुपमा प्रस्तुत भए ।
‘आफूले काम गर्न नसक्ने अनि माथिको निर्देशन भन्दै बजार बिगार्ने काम गर्ने ?’ अग्रवालले साउदालाई प्रश्न गर्दै भने, ‘माथिको निर्देशनमात्रै मान्ने हो भने महाप्रबन्धकको कुर्सीमा किन टाँसिरहनुभएको ? छाडिदिनोस् ।’
यो ५८ बुँदे उपलब्धिलाई ओझेलमा पार्न प्यानको कुरा झिकिएको लगानीकर्ताहरुको भनाई थियो ।
‘बजार घटेको समयमा यो कुरा आवश्यक छैन, साना लगानिकर्तालाई तर्साउन खोजियो, अहिले कुनैपनि हालतमा प्यान अनिवार्य गर्नु हुँदैन,’ लगानीकर्ताहरुको संयुक्त भनाई थियो ।
SHARE YOUR THOUGHTS