काठमाडौं । डिभिजन वन कार्यालय सप्तरीले रुख काट्न नदिँदा राष्ट्रिय महत्वको हेटौंडा ढल्केबर–दुहबी ४०० केभी डबल सर्किट प्रसारण लाइनको विगत काम साढे दुई वर्षदेखि रोकिएको छ ।
वन कार्यालयका प्रमुख (डिएफओ) धिरेन्द्र प्रताव सिंहले विभिन्न बहना बनाउँदै नियोजित रुपमा रुख कटानका लागि आदेश नदिँदा आयोजनाको काम रोकिएको विद्युत प्राधिकरणको भनाई छ ।
रुख कटानको स्विकृति दिन आयोजनाले पटक-पटक गरेकोे ताकेतालाई डिएफओ सिंहले अस्विकार गर्दा सप्तरीमा पर्ने आयोजनाको टावर निर्माण रोकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘यो प्रसारण लाइनको निर्माण करिब एक वर्षभित्रमा सकेनौं भने ४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न नसकी खेर फाल्नु पर्ने जोखिम छ, यस्तो रणनीतिक तथा राष्ट्रिय महत्वको प्रसारण लाइनको काम रुख कटानको सम्पूर्ण प्रक्रिया पूरा गर्दासमेत डिएफओका कारण रोकिएको छ’,उनले भने ।
यस्तै माथिल्लो तामकोसी जलविद्युत आयोजनाबाट आगामी कात्तिकदेखि विद्युत उत्पादन गर्ने लक्ष्य रहेको घिसिङले बताएका छन् ।
दोलखाको गोंगर-खिम्ती (रामेछाप)-ढल्केबर (धनुषा) २२० केभी प्रसारण लाइनमार्फत आउने विद्युत ढल्केबर पूर्व र पश्चिममा हाल रहेको १३२ केभी प्रसारण लाइनको क्षमताले नधान्ने हुँदा माथिल्लो तामकोसीको विद्युत प्रवाह गर्न नसकिने घिसिङको भनाई छ ।
हेटौडा–ढल्केबर–दुहबी २८५ किलोमिटर प्रसारण लाइन आयोजनाले ७९२ वटा टावरमध्ये सप्तरीमा १४२ वटा पर्छ । त्यसमध्ये ११७ टावरको जग हालिएको छ । २५ मध्ये १३ वटा वन क्षेत्र भित्र पर्छ ।
मन्त्रिपरिषद्को २०७३ भदौ १ को बैठकले सप्तरीमा पर्ने टावर तथा २३ मिटर दायाँ र २३ मिटर बायाँ प्रसारण लाइनको रुट (राइट अफ वे) का लागि ३१.६७ हेक्टर वन क्षेत्रको जग्गा प्रयोग गर्न र त्यहाँ रहेका रुखबिरुवा हटाउन स्वीकृति दिएको उनको भनाई छ ।
आयोजना र वन विभागबीच २०७३ मंसिर १९ मा सम्झौता भई कार्यान्वयनका लागि तत्कालीन जिल्ला वन कार्यालय सप्तरी पठाइएको थियो । कार्यालय प्रमुखले विभिन्न बहाना बनाउँदै ढिलाइ गरिदिएका कारण हालसम्म रुख कटान सम्बन्धी प्रकृया अगााडी बढ्न नसकेको आयोजना प्रमुख राधेशरण महतोले बताए ।
‘मन्त्रिपषिदबाट कुल ४८४१ थान रुख संख्या हटाउने तथा भोगाधिकार उपलब्ध गराउन स्वीकृति भएको थियो । अहिले २ बर्ष पछि पुनः छपान टाँचा लगाउने प्रयोजनको लागि भेरिफिकेशन गर्दा ८९९ थान रुख संख्या बढयो भनि थप स्वीकृतिको लागि विभागमा फाइल पठाएको छ, महतोले भने ।
‘विभागसँग सम्झौता २०७३ मंसिर १९ मा भएको थियो, यसको कार्यान्वनको लागि हामीले निरन्तर ताकेता गर्यौं तर डिएफओले विभिन्न बहाना बनाएर २०७४ पुसम्म केही गर्नु भएन फाइल थन्काएर राख्नुभयो, अहिले फाइल विभागमा पुगेको छ अझै कति समय लाग्ने हो केही टुंगो छैन ।’
विभागमा फाइल माघ ११ मा दर्ता भएको छ । अहिले बढ्यो भनिएको रुख संख्या आयोजनाको स्वीकृति प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनभन्दा रहेको संख्याभन्दा कम रहेको उनको भनाई छ ।
महतोका अनुसार, डिएफओले आफूलाई फुर्सद नभएको, वनको आफ्नो धेरै काम भएको लगायत कारण देखाउने गरेका छन् ।
पाँच वर्षदेखि सप्तरीको डिएफओ रहेका सिंह उमेर हदका कारण आगामी असारमा अनिवार्य अवकास पाउँदैछन् । सप्तरीकै स्थायी बासिन्दा रहेका सिंहले अवकास नपाएसम्म काम नहुने आयोजनाका कर्मचारीहरुको अनुमान छ ।
तत्काल कटान सुरु नगर्ने हो भने छपान गरिएका रुखमा राखिएको नम्बर मेटिने हुँदा पुनः छपान गर्नु पर्ने हुन्छ । यसले गर्दा आयोजनाको काम झनै प्रभावित हुने छ ।
सरकार, प्राधिकरणको लगानी र विश्व बैंकको नेपाल–भारत विद्युत प्रसारण लाइन तथा व्यापार पयिोजना अन्तर्गतको सहुलितपूर्ण निर्माण भइरहेको आयोजनाको निर्माण सन् २०२० अप्रिल मा सक्ने लक्ष्य राखिएको छ ।
SHARE YOUR THOUGHTS