काठमाडौं । सनराइज बैंक र एनसीसी बैंकले वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले ब्याजदरमा गरेको भद्र सहमति तोडेका छन् । यी दुई बैंकले भद्र सहमति तोड्दै बढी ब्याज दिएर नेपाल टेलिकमको २ अर्ब रुपैयाँ निक्षेप लगेका छन् ।
दुबै बैंकले आजदेखि लागू हुनेगरी १५ पैसाले ब्याजदर बढाएर विभिन्न बैंकमा रहेको नेपाल टेलिकमको परिपक्क भएको मुद्दति निक्षेप आफ्नो बैंकमा लगेका हुन् ।
अर्थ मन्त्रालय र राष्ट्र बैंकको सुझाब अनुसार ब्याजदरलाई एकल अंकमा राख्न बैंकर्स संघले संस्थागत मुद्दति निक्षेपमा ९ प्रतिशतभन्दा बढी ब्याज दिन नहुने सहमति गरेको थियो । जसअनुसार बैंकहरुले संस्थागत मुद्दति निक्षेपमा ९ प्रतिशत ब्याज दिने भन्दै नयाँ ब्याजदर प्रकाशित गरेका थिए । प्रकाशित ब्याजदरमा ०.५० प्रतिशत थप गरेर ग्राहकलाई ब्याज दिन सकिने ब्यवस्था छ ।
तर, संघका सदस्य रहेका एनसीसी र सनराइजले भद्र सहमति तोड्दै आजै नयाँ ब्याजदर प्रकाशित गरेका छन् । र, विभिन्न बैंकमा भएको नेपाल टेलिकमको २ अर्ब रुपैयाँभन्दा बढी निक्षेप लान सफल भएका छन् ।
‘हामीले साढे ९ प्रतिशत ब्याजदरमा नविकरण गर्न खोज्दा नेपाल टेलिकमले मानेन, उसले ९.६५ प्रतिशत ब्याजदरमा एनसीसी र सनराइज बैंकमा निक्षेप राखेको छ,’ एक बैंकरले भने, ‘हामीचाहीँ भद्र सहमतिप्रति इमानदार हुने उनहीहरुले चाहीँ बेइमानी गरेर हामीकहाँ भएको निक्षेप तान्ने ?’
चालू आर्थिक वर्षको शुरुदेखि नै बैंकिङ प्रणालीमा थप ऋणयोग्य पुँजी (तरलता) अभाव छ । तरलता अभावका कारण कतिपय बैंकको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) राष्ट्र बैंकले तोकेको (८० प्रतिशत) भन्दा माथि छ ।
सीसीडी मेन्टेन गर्न नसकेका कारण राष्ट्र बैंकको कारबाहीमा परिने भएपनि त्यस्ता बैंकहरुले बैंकर्स संघको भद्र सहमति तोड्ने गरेका हुन् ।
बैंकर्स संघ र नेपाल राष्ट्र बैंकले तत्काल एक्सन नलिए अरु बैंकले पनि बढी ब्याज दिन थाल्ने निश्चित छ ।
SHARE YOUR THOUGHTS