१ पुस २०८२, मंगलबार

दोहोरो कर विरूद्ध अटो व्यवसायी धर्नामा, माग पुरा नगरे स्थानीय सरकार विरुद्ध आन्दोलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । सरकारले दोहोरो कर लगाएर आफूलाई मर्कामा पारेको भन्दै सुर्खेतका अटो व्यवसायी वीरेन्द्रनगर नगरपालिकामा मङ्गलबारदेखि धर्नामा बसेका छन ।

उनीहरुले एउटै जिल्ला र स्थानमा अटो सञ्चालन हुँदा पनि राज्यलाई तिर्नु परेको दोहोरो करले अन्यायमा पारेकाले विरोधमा उत्रेको बताएका छन । अटो व्यवसायी खडगबहादुर दर्लामीले यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशमा चार हजार ५०० तिरेर पञ्जीकरण गरिसक्दा नगरपालिकाले थप पाँच हजार कर लादेको आरोप लगाए ।

“नगरपालिकाले यति ठूलो कर लगाएर हामी व्यवसायीको ढाड सेक्ने काम गरेको छ”, दर्लामीले भने, “न्यायिक कर लगाएर अटो व्यवसायीलाई व्यवस्थापन गरियोस ।” व्यवसायीमैत्री कर निर्धारण गर्न राखिएको माग पूरा नगरिए स्थानीय सरकारका विरुद्ध सडक आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार वार्षिक पाँच हजार व्यावसायिक कर लगाइएको बताए । “ऐनले स्पष्ट तोकेका आधारमा स्थानीय सरकारले अटो व्यवसायीको सुरक्षा, पार्किङ र व्यवस्थापनका लागि व्यावसायिक कर निर्धारण गरेको छ”, उपप्रमुख ढकालले भने, “यसका लागि हामीले कार्यविधि पनि पारित गरेका छौँ ।”
उनले व्यवसायीका लिखित गुनासो प्राप्त भएअनुसार नगरसभाबाट सम्बोधन गरिने बताए । । हाल सुर्खेतमा दुई हजार २०० अटो सञ्चालन हुँदै आएको व्यवसायीले बताएका छन ।