काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले संघीय संसदको अर्थ समितिमा दिएको अभिव्यक्ति निकै विवादित भयो । सेयर ब्रोकरहरु अध्यक्ष कार्कीको अभिव्यक्तिले अर्थ समितिमा आफूहरुको अपमान गरेको भन्दै उनी विरुद्ध खनिए ।
गत मंगलबार कार्कीले पुँजी बजारसम्बन्धी अर्थ समितिले गरेको छलफलमा ब्रोकरहरुप्रति आक्रोश व्यक्त गरेका थिए । कार्कीले ब्रोकरहरुसँग क्षमता पनि नभएको र सुशासन पनि नभएको बताएका थिए ।
त्यस्तै, बैंकलाई ब्रोकर लाइसेन्स दिँदा ब्रोकरहरुले आफूलाई महाशत्रू ठानेको र आफू विरुद्ध माथिल्लो निकायमा गएर फोन गरेर दबाब दिन लगाएको बताएका थिए ।
कार्कीले संसदमा बोलेको कुरालाई क्लिकमाण्डूले सांसदकै अघि ब्रोकरप्रति खनिए सेबोन अध्यक्ष कार्की, भने- मलाई महाशत्रू घोषणा गरेर के गर्न सक्नुभयो ? भन्ने शीर्षकमा समाचार सम्प्रेशण थियो ।
त्यसैगरी क्लिकमाण्डूले कार्कीले संसदीय समितिमा राखेको बिचारलाई जस्ताको त्यस्तै उतारेर गत बुधरबार सेयर ब्रोकरसँग सुशासन पनि छैन, क्षमता पनि छैनः सेबोन अध्यक्ष रेवतबहादुर कार्कीको बिचार पनि सम्प्रेषण गरेको थियो ।
कार्कीले ब्रोकरहरुले कामदारलाई ३ हजार तलब दिने गरेको पनि संसदमा बताएका थिए । त्यस्तै विराटनगरबाट एउटा ब्रोकर फरार भएको पनि बताएका थिए ।
बिहीबार सबै ब्रोकरहरुले कार्कीको अभिव्यक्तिविरुद्ध गंभी आपत्ति जनाउँदै नेपाल धितोपत्र बोर्डलाई ६ पृष्ठ लामो ज्ञापनपत्र बुझाए । ब्रोकरहरुले ज्ञापनपत्र बुझाएपछि कार्कीले ब्रोकरहरुलाई शुक्रबार छलफलका लागि बोलाएका थिए ।
छलफलको शुरुमा कार्कीले ब्रोकर संघका अध्यक्ष भरत रानाभाटले संसदका अघि आफ्नो विरोध गरेको भन्दै अरु ब्रोकरलाई पोल लगाएका थिए ।
ब्रोकरसँग सेबोन अध्यक्ष कार्कीले भने- नबोलेका कुरा मिडियामा आए, सत्य भए राजिनामा दिन्छु
‘तपाईं (ब्रोकर) हरुको अध्यक्षले संसदकै अघि मेरो विरोध गर्नुभयो, यसरी नियामकको विरोध गर्न मिल्छ ?’ कार्कीले भनेका थिए, ‘तपाईंहरु सुन्ने साक्षी हुनुहुन्थ्यो भने तपाईंका अध्यक्षले के के भने भन्ने कुरा थाहा पाउनु हुन्थ्यो ।’
कार्कीको तीर ब्रोकर संघका अध्यक्ष रानाभाटतिर सोझियो । त्यसपछि ब्रोकरहरुले अध्यक्ष रानाभाटलाई केरकार गरे ।
सत्य कुरा लुकाएर लुक्दैन । एकैछिनमा त्यस्तो भइहाल्यो ।
अनि रेवतबहादुरले अर्कोतिर फाले । मिडियाले आफूले बोल्दै नबोलेको कुरा छापेको भनेर ।
‘त्यो क्लिकमाण्डू भन्ने अनलाइनले मैले बोल्दै नबोलेको कुरा छापेछ, तपाईंहरु त्यही पढेर धारणा बनाएर मेरो विरोधमा उत्रिनुभयो,’ कार्कीले भने, ‘मैले ब्रोकरसँग सुशासन र क्षमता छैन भनेकै होइन, ब्रोकरले महाशत्रु ठाने भनेर पनि भनेकै छैन । त्यस्तो हावादारी समाचार लेख्ने अनलाइनको पछि दौडिने ?’
छलफमा उपस्थित ब्रोर संघका अध्यक्ष रानाभाटले ‘संसदीय समितिमा भएको छलफलमा म पनि थिएँ । तपाईंले त्यहाँ बोलेकै कुराहरु मात्र मिडियामा आएका छन्, झुट नबोल्नुहोस् अध्यक्षज्यू’ भनेपछि कार्की जंगिए ।
‘मैले त्यो बोलेको हुँ भन्ने प्रमाण छ ? स-प्रमाण देखाइदिनुहोस् म नैतिकताका आधारमा राजिनामा दिन्छु,’ भन्दै कार्कीले चुनौति दिएका थिए ।
तर, क्लिकमाण्डूले कार्कीले संसदीय समतिमा बोलेको अडियो भने जस्ताको त्यस्तै राखेको छ ।
अब कार्कीले राजिनामा दिन्छन् वा दिँदैनन् त्यो उनको निजी कुरा हो । बस्, आगामी दिनमा बोलेको कुरालाई बोलेकै होइन भनेर अरुलाई दोष लगाउँदै आफू चोखिन नखोजुन् ।
SHARE YOUR THOUGHTS