काठमाडौं । नागरिक लगानी कोषले स्टक डिलरको काम गर्नु अवागै सेयर किन्ने कामलाई तीब्रता दिएको छ । बजारमा सस्तो भएको समयमा सेयर किन्न लागेको कोषले जनाएको छ ।
कोषले स्टक डिलरको काम गर्नका लागि सहायक कम्पनी खोल्नुपर्छ । करिब ६ महिनाअघि धितोपत्र बोर्डले कोषलाई मार्केट मेकरको काम गर्नको लागि सहायक कम्पनी खोल्न निर्देशन दिएको थियो ।
बोर्डले दिएको निर्देशन भन्दा पनि अहिले दोस्रो बजारबाट सेयर किन्ने कामलाई प्राथमिकतामा राखेको छ । स्टक डिल्लरको रुपमा काम गर्नका लागि अन्य केही कम्पनीहरुसँग छलफल अघि बढाउने काम भएकोले कम्पनी दर्ताको काम केही समयपछि हुने बताइएको छ ।
कोषका कार्यकारी निर्देशक रमन नेपालका अनुसार अहिले विभिन्न तीन वटा कम्पनीसँग छलफल चलिरहेको छ ।
‘कोषले मात्रै स्टक डिल्लरको काम गर्ने भए कम्पनीमा दर्ता हुन कुनै समस्या हुने थिएन, अन्य कम्पनीहरु पनि मिलेर काम गर्नुपर्ने भएकोले अहिले दर्ताको प्रकृयामा नगएको हो, पहिल कति कम्पनीले काम गर्ने भन्ने निश्कर्ष निकालेपछि कम्पनी दर्ताको प्रकृयामा जाने छौं, अहिले हामी केही कम्पनीसँग छलफल गरिरहेका छौं,’ कोषका कार्यकारी निर्देशक नेपालले क्लिकमाण्डूसँग भने ।
अहिले कोषले प्रबन्धपत्र र नियमावली बनाउने काम सकेको नेपालले जानकारी दिए । प्रबन्धपत्र र नियमावली बनेपनि केही कम्पनीसँग मिलेर काम गर्नु पर्ने भएकोले त्यसको फिजीब्लीटी अध्ययन गर्ने र अध्ययन पछि बाँकी काम अघिबढ्ने उनको भनाई छ । फिजीब्लीटि तयार भएपनि आगामी, एक, दुई, तीन वा पाँच वर्षसम्मका कति लगानी गरेर जाने भन्ने थाहा हुन्छ ।
नेपालका अनुसार अहिले अन्य कम्पनीसँग छलफल चलिरहेको र आगामी चैत ४ गते कोषको बार्षिक साधारण सभापछि कम्पनी दर्तादेखि सबै काम सकिने उनको भनाई छ ।
आर्थिक वर्ष २०७२/०७३ को बजेटमा नागरिक लगानी कोषलाई मार्केट मेकरको रुपमा बजारमा परिचालन गर्ने भनिएपछि धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको नेतृत्वमा कार्यदल बनेको थियो । त्यो कार्यदलले कोषलाई कसरी काम गर्न दिने भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन बनाएर बोर्डका अध्यक्षलाई बुझाइ पनि सकेको छ ।
प्रतिवेदनमा यसको कार्यान्वयनका लागि कोष र नेप्सेले आवश्यक तयारी गर्दै जाने उल्लेख छ । अहिलेको अवस्थामा नेप्सेले भने आफ्नो तयारी सकिसकेको जनाएको छ ।
अहिले दिनानुदिन घटिरहेको बजारलाई स्टक डिल्लरले केही हदसम्म सन्तुलनमा ल्याउने लगानीकर्ताहरुको भनाई छ । कोषका साथै कर्मचारी सञ्चय कोष, नेपाल दुरसञ्चार कम्पनी, बिमा संस्थानको संयुक्त लगानीमा स्टक डिल्लर सञ्चालन हुने चर्चा छ ।
SHARE YOUR THOUGHTS