काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ को उद्घाटन गरेकी छिन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले भृकुटीमण्डपमा आयोजनामा गरेको १५ घरेलु उद्योग महोत्सव २०७५ को उद्घाटन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले लघु, घरेलु तथा साना उद्योगहरूको मुलुकको आर्थिक समृद्घिका लागि ठूलो योगदान रहेको बताए ।
समृद्घिको मुख्य आधार नै साना उद्योग भएको भन्दै उनले मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने बताए ।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारको नारालाई पुरा गर्नका लागि यस्ता उद्योगहरुको प्रवद्र्घन, विकासमा ध्यान दिनुपर्ने आवश्यकता औैंल्याए ।
आर्थिक समृृद्घिको अभियानमा कुनै पार्टी या समुह नभनेर सबैलाई समेटेर अगाडि बढ्ने भन्दै मन्त्री यादवले भने, ‘मुलुकमा ८०–९० वर्षदेखिको राजनीतिक व्यवस्था परिवर्तको आन्दोलन सकिएको छ, अबको आन्दोलन भनेको आर्थिक समृद्घिका लागि हो ।’
नेपालमा भएको कच्चा पदार्थ र कृषिजन्य उत्पादनको व्यवसायीकरण गर्नुपर्नेमा जोड दिंदै उनले भने, ‘कृषिप्रधान मुलुक जहाँ ५० प्रतिशत जनशक्ति कृषिमा लागेका छन् । तर सारा कृषिजन्य उत्पादन आयात गरेर खान्छौं ।’
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजार प्रवद्र्धन गर्न आवश्यक भएको बताए ।
मुलकले अहिले वार्षिक १२ खर्ब भन्दा बढीको वैदेशिक व्यापार घाटा व्यहोरिरहेको भन्दै उनले भने, ‘एकातिर हामी दैनिक उपभोग्य बस्तुका सामान समेत विदेशबाट आयात गरिरहेका छौं भने अर्कोतिर हाम्रा निर्यातयोग्य उत्पादन समेत निर्यात गर्न सकिरहेका छैनौं । निर्यातले मात्र हाम्रो व्यापारघाटा पुर्ति गर्नसक्ने अवस्थामा हामी छैनौं, अपितु स्वदेशी उत्पादनको उपयोगबाट मात्र हामीले यसलाई कम गर्न सक्छौं ।
मेला संयोजक तथा महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेको हुँदा आकर्षक प्रतिफल दिन नसकेका बताए । अध्यक्ष सिंहले भने, ‘परिणामतः यस्ता उद्योगहरूमा पुस्ता हस्तान्तरणको समस्या रहेको छ । यस्तै पक्षलाई सम्बोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले धेरै अगाडी देखि नै नियमित रुपमा राष्ट्रिय, प्रदेश तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनीहरु आयोजना गर्दै आएको छ ।’
पाँच दिनसम्म चल्ने मेलामा २०५ वटा स्टल रहेका, उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरु सहभागी रहेको, चीन, भारत र वंगलादेश गरी ४५ वटा अन्तर्राष्ट्रिय स्टल रहेका छन्, पाँच दिनको अवधिमा करिब चार लाख ५० हजारले अवलोकन गर्ने र झण्डै १५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।
SHARE YOUR THOUGHTS