काठमाडौं । सेयर बजारमा देखिएका समस्या समाधान गर्न राजश्व सचिव लालशंकर घिमिरे आफै तम्सिएका छन् ।
सेयर बजारमा देखिएका समस्या सरोकारवाला सबै निकायले समाधान गर्नुपर्ने र ती समस्या समाधान गर्न नसक्ने भए जो कोही पनि पदमा बसिरहनुको कुनै औचित्य नहुने बताएका छन् । बुधबार सेयर लगानीकर्ताका प्रतिनिधिहरुसँगको कुराकानीमा सचिव घिमिरेल यस्तो बताएका हुन् ।
पछिल्लो समयमा सेयर बजारमा के कस्ता समस्या छन् भनेर बुझ्नका लागि सचिव घिमिरेले इन्भेष्टर फोरम, नेपाल पुँजी बजार लगानीकर्ता संघ र सेयर लगानीकर्ता संघका पदाधिकारीहरुलाई आमन्त्रण गरेका थिए ।
सचिव घिमिरेले उनीहरुसँग पछिल्लो समयमा बजार विकासका बाधकहरुको बारेमा जानकारी लिएका छन् । छलफलमा सहभागीहरुले तत्काल बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, वैशाख १ देखि नै अनिवार्य प्यान लागु गर्न नहुने र अहिले अनलाईनमा देखिएको समस्या तत्काल समाधान गर्नका लागि पहल गरिदिन आग्रह गरेको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन् ।
उनले भनिन्, ‘हामीले प्यान, बैंकलाई ब्रोकर लाईसेन्स र अनलाइनको विषयलाई प्राथमिकताका साथ उठाएका छौं, राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले बनाएको प्रतिवेदन कार्यान्वयमा जोड दिन पनि विशेष आग्रह गरेका छौं ।’
छलफलकै क्रममा सचिव घिमिरेले भोली (बिहीबार) १२ बजेसम्म धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र ब्रोकर एसोसिएसनलाई बोलाउने र कुन निकायले गर्नेकाम के–के हुन र त्यो काम तत्काल गर्न निर्देशन दिने बताए ।
सचिव घिमिरेले उक्त समयमा मन्त्रालय मातहतका कर्मचारीलाई तीनवटै निकायका अधिकारीले गर्ने कामका बारेमा जानकारी लिन र उनीहरुले गर्ने कामहरुका बारेमा भोली (बिहीबार) १२ बजेसम्म मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिन भनेका छन् ।
सचिव घिमिरेले कुनै पनि निकायले गर्नुपर्ने काम समयमा नै नगर्ने हो भने त्यस्ता अधिकारी कुनै पनि पदमा बस्न आवश्यक नरहेको बताए । दुई घन्टा भन्दा बढी समय भएको छलफलमा लगानीकर्ताहरुले ५८ बुँदे माग पुरा भएमा बजारमा देखिएका ९५ प्रतिशत समस्या समाधान हुने भनेपछि त्यस विषयमा सबै निकायसँग छलफल गरेर सबै माग पुरा गर्ने जानकारी गराएको अध्यक्ष पोखरेलको भनाई छ ।
सचिव घिमिरेले लगानीकर्ताको सबै माग टिपोट गरेका छन् । ती माग पुरा हुने भन्दै लगानीकर्ताहरुलाई निश्चित हुन पनि आश्वासन दिएका छन् ।
SHARE YOUR THOUGHTS