२९ मंसिर २०८२, आइतबार

बैशाखमा बैंकबाट ७ अर्ब हरायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बैशाख महिनामा बैंकिङ च्यानलबाट ७ अर्ब रुपैयाँ हराएको छ । बैंकबाट बाहिरिएको रकम फेरि बैंकिङ च्यानलमा नआउँदा बैंकहरुको निक्षेप घटेको छ । बैशाख लागेपछि मात्रै बैंकमा ७ अर्ब रुपैयाँले निक्षेप घटेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत चैत अन्तिम दिन वाणिज्य बैंकहरुको कूल निक्षेप २७ खर्ब ३ अर्ब रुपैयाँ थियो । बैशाख २० गतेसम्म आइपुग्दा ७ अर्ब रुपैयाँले घटेर बैंकहरुको कूल निक्षेप २६ खर्ब ९६ अर्ब रुपैयाँ छ ।

आयात बढेको कारण बैंकबाट बाहिरिएको पैसा बैंकिङ च्यानलमा नआएको हुनसक्ने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए ।

‘यो बीचमा आयात बढिरहेको छ, सामान किन्नका लागि बैंकबाट बाहिरिएको पैसा बैंकमा फर्किन सकिरहेको छैन, जसकारण निक्षेप घटेको हुनसक्छ,’ दाहालले क्लिकमाण्डूसँग भने, ‘र, अर्को कुरा पछिल्लो समय सर्वसाधारणहरु नगदमै बढी कारोबार गर्न थालेका कि भन्ने आशंका बढेको छ ।’

ठीक एक वर्षअघि बैशाख महिनामा २५ अर्ब रुपैयाँले निक्षेप बढेको थियो । एक वर्षअघि २५ अर्ब रुपैयाँले बढेको निक्षेप अहिले किन ७ अर्ब रुपैयाँले घट्यो ? यो भने चिन्ताको विषय भएको बैैंकरहरु बताउँछन् ।

आज भोलि नै बैंकिङ च्यानलबाट नेपाल आयल निगमको भुक्तानीका लागि १० अर्ब रुपैयाँभन्दा बढी बाहिरिँदैछ । जसले लगानी योग्य पुँजी (तरलता) अभाव झेलिरहेको बैंकिङ क्षेत्रलाई थप समस्या सिर्जना गर्नसक्ने देखिन्छ ।

अचम्मको कुरा के छ भने निक्षेप घटे पनि बैंकहरुले कर्जा भने बढाएका छन् । बैशाख महिनाका ३ हप्तामा मात्रै बैंकहरुले २३ अर्ब रुपैयाँले कर्जा बढाएका छन् ।

राष्ट्र बैंकका अनुसार चैत अन्तिम दिन २४ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका बैंकहरुले बैशाख २० गतेसम्ममा २४ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

‘पछिल्लो समय देखिएको निक्षेप र कर्जाबीचको असन्तुलनले वर्षको अन्ततिर पनि बैंकमा तरलता सहज हुने संकेत छैन,’ दाहालले भने ।

चालू आर्थिक वर्षको शुरुदेखि नै कर्जा र निक्षेपबीच सन्तुलन मिलेको छैन । बैंकिङ क्षेत्र लगानी योग्य पुँजीको चरम मारमा छ । अधिकांश बैंकहरु टाइट सीसीडी रेसियोमा बस्न बाध्य छन् ।

चालू आर्थिक वर्षमा मात्रै बैंकहरुले ३ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् भने २ खर्ब २६ अर्ब रुपैयाँ मात्रै कर्जा प्रबाह गरेका छन् । १० महिनामै बैंकहरुले निक्षेपभन्दा १ खर्ब ६ अर्ब रुपैयाँ बढी कर्जा विस्तार गरेका छन् ।