काठमाडौं । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार ०७५ चैत मसान्तमा बैंकहरुले ४.७५ प्रतिशतभन्दा बढी स्प्रेड राख्न पाउँदैनन् । तर, ५ बैंकको स्प्रेड दर राष्ट्र बैंकले तोकेको भन्दा बढी छ ।
दुई सरकारी बैंक र ३ निजी क्षेत्रद्धारा प्रवद्र्धित बैंकको स्प्रेड दर राष्ट्र बैंकले तोकेभन्दा बढी भएको हो ।
बैंकहरुले निक्षेपकर्तालाई दिने र ऋणीसँग लिने बीचको ब्याज अन्तर नै स्प्रेड दर हो । स्प्रेड दर भनेको बैंकलाई ब्याजमार्फत कमाउनका लागि राज्यले दिएको सुविधा हो ।
वित्तीय क्षेत्र विकास रणनीतिले क्रमिकरुपमा बैंकहरुको स्प्रेडदर घटाउँदै लैजाने नीति लिएको छ । सोही नीति अनुसार राष्ट्र बैंकले ०७५ चैत मसान्तमा स्प्रेड दर ४.७५ प्रतिशत र ०७६ असार मसान्तसम्ममा ४.५० प्रतिशतमा झार्न बैंकहरुलाई निर्देशन दिइसकेको छ ।
बैंकहरुले प्रकाशित गरेको ०७५ चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार कृषि विकास बैंक र नेपाल बैंकको स्प्रेड दर निकै उच्च छ । कृषि विकास बैंकको ५.६१ प्रतिशत र नेपाल बैंकको ५.५० प्रतिशत स्प्रेड दर छ ।
त्यसैगरी, एनआइसी एशियाको ४.९६, प्रभु बैंकको ४.८८ र नेपाल एसबिआइ बैंकको स्प्रेड दर ४.८० प्रतिशत छ ।
राष्ट्र बैंकले घटाउन निर्देशन दिँदादिँदै पनि सबै बैंकले निर्देशनको अटेर गर्दै स्प्रेड दर बढाएका हुन् ।
राष्ट्र बैंकको निर्देशन अटेर गरेर स्प्रेड दर बढी राख्ने बैंकलाई राष्ट्र बैंकले कारबाही गर्ने प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।
‘त्यो स्प्रेडदर एक्चुअल हो कि होइन भनेर राष्ट्र बैंकले अध्ययन गर्छ, त्यसपछि प्रष्टिकरण सोध्छ,’ प्रवक्ता निरौलाले क्लिकमाण्डूसँग भने, ‘अनि चैत मसान्तमा ४.७५ प्रतिशतभन्दा बढी स्प्रेडदर हुने बैंकलाई नगद लाभांस वितरणमा रोक लगाउने, शाखा खोल्न नदिने, पुनकर्जाको सुविधा नदिने कारबाही हुन्छ ।’
निर्देशन पालना नगर्ने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले नछाड्ने उनको भनाई थियो ।
‘स्प्रेडको निर्देशन केही बैंकले पालना गरेनन् भनेर हामीकहाँ गुनासो आइरहेको छ,’ उनले भने, ‘हामी छिट्टै एक्सन लिन्छौं ।’
गत असार मसान्तमा कृषि विकास बैंकको स्प्रेड दर ५.४६ प्रतिशत थियो । उसले अहिले बढाएर ५.६१ प्रतिशत पुर्याएको हो ।
त्यसैगरी, गत असार र गत पुसमा ४.९९ प्रतिशत रहेको स्प्रेडलाई राष्ट्र बैंकले चैत मसान्तसम्ममा ४.७५ प्रतिशतमा झार्न निर्देशन दिएपछि नेपाल बैंकले उल्टो बढाएर ५.५० प्रतिशत पुर्याएको छ ।
त्यस्तै, गत असारमा ५.१० प्रतिशत रहेको स्प्रेडलाई घटाउँदै लगेपनि एनआइसी एशिया बैंकले चैत मसान्तमा राष्ट्र बैंकले तोकेको सीमाभित्र ल्याएको छैन । गत पुसमा ४.३८ प्रतिशतमा झरेको स्प्रेडलाई चैत मसान्तमा बढाएर ४.९६ प्रतिशत पुर्याएको हो ।
त्यसैगरी, प्रभु बैंकले पनि गत असार मसान्तमा ४.७२ प्रतिशत रहेको स्प्रेडलाई पुसमा ४.८७ र चैत मसान्तमा ४.८८ प्रतिशत पुर्याएको छ ।
गत असार मसान्तको तुलनामा नेपाल एसबिआइ बैंकले केही घटाए पनि चैत मसान्तमा राष्ट्र बैंकले तोकेको सीमामा ल्याउन सकेको छैन । गत असार मसान्तमा ४.९९ प्रतिशत रहेको स्प्रेड पुस मसान्तमा ४.८७ र चैत मसान्तमा ४.८० प्रतिशत छ ।
वित्तीय क्षेत्र विकास रणनीतिले क्रमिकरुपमा बैंकहरुको स्प्रेडदर घटाउँदै लैजाने नीति लिएको छ । सोही नीति अनुसार राष्ट्र बैंकले ०७५ चैत मसान्तमा स्प्रेड दर ४.७५ प्रतिशत र ०७६ असार मसान्तसम्ममा ४.५० प्रतिशतमा झार्न बैंकहरुलाई निर्देशन दिइसकेको छ ।
राष्ट्र बैंकको निर्देशनसँगै बैंकहरुले स्प्रेडदर घटाइरहेका छन् ।
गत असार मसान्तमा ५.०६ प्रतिशत रहेको स्ट्यान्टर्ड चार्टर्ड बैंकको स्प्रेड पुसमा ४.८४ र चैतमा ४.७५ प्रतिशतमा झरेको छ ।
गत असार मसान्तमा ५.०५ प्रतिशत रहेको स्प्रेड नविल बैंकले पुसमा ४.७७ र चैतमा ४.६३ प्रतिशतमा झारेको छ ।
बैंकर्स संघका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत रहेको एनबी बैंकले पनि स्प्रेड बढाएको छ । यद्यपि राष्ट्र बैंकको निर्देशनभित्रै छ ।
गत असारमा ३.६७ प्रतिशत रहेको स्प्रेड पुसमा ३.४१ प्रतिशतमा झरेको थियो । तर, चैत मसान्तमा बढेर ४.७१ प्रतिशत पुगेको छ ।
हेर्नुहोस् कुन बैंकको स्प्रेड दर
| Bank | Chaitra 075/ | Poush 075 | Ashwin 075 | Ashad 075 |
| Agricultural Development | 5.61% | – | 5.15% | 5.46% |
| Nepal Bank | 5.50% | 4.99% | 4.98% | 4.99% |
| NIC | 4.96% | 4.38% | 4.99% | 5.10% |
| Prabhu Bank | 4.88% | 4.87% | 4.94% | 4.72% |
| Nepal SBI | 4.80% | 4.87% | 4.37% | 4.99% |
| Standard Chartered | 4.75% | 4.84% | 4.65% | 5.06% |
| Mega | 4.73% | – | 4.73% | 3.91% |
| Nepal Bangladesh | 4.71% | 3.41% | N/A | 3.67% |
| Rastriya Banijya | 4.70% | – | N/A | 4.95% |
| Everest | 4.69% | 4.38% | 4.32% | 4.72% |
| Sanima | 4.64% | 4.23% | 4.44% | 4.66% |
| Global IME | 4.63% | 3.81% | N/A | 4.86% |
| Nabil | 4.63% | 4.77% | 4.96% | 5.05% |
| Machapuchre | 4.57% | 4.08% | 4.55% | 4.75% |
| Himalayan | 4.50% | – | 4.64% | 4.09% |
| Sunrise | 4.37% | 4.31% | 4.55% | 4.15% |
| NMB | 4.33% | 3.99% | 3.78% | 4.14% |
| BoK | 4.28% | 4.16% | 3.63% | 4.43% |
| Nepal Investment | 4.24% | 4.24% | 4.53% | 4.59% |
| Laxmi | 4.19% | 4.08% | 4.02% | 4.13% |
| Siddhartha | 4.15% | 3.99% | 4.77% | 4.58% |
| Century | 3.96% | 3.63% | 4.29% | 3.97% |
| Prime | 3.71% | 3.62% | 4.23% | 4.23% |
| Janata | 3.67% | 4.51% | 4.83% | 4.41% |
| Citizens | 3.64% | 3.45% | 4.00% | 3.84% |
| Kumari | 3.61% | 3.38% | 3.37% | 3.12% |
| CIVIL | 3.38% | 3.23% | 4.15% | 2.65% |
| Nepal Credit & Commerce | 3.17% | 4.08% | 4.72% | 4.12% |

प्रतिक्रिया