काठमाडौं । विगत ५ वर्षमा औसत ४० प्रतिशतको लाभांश दिइरहेको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य तेस्रो त्रैमाशको वित्तीय विवरण प्रकाशित भएयता निरन्तर आरोलो लागेको छ । विगत १८ कारोबार दिनमा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य ३ दिन मात्रै बढ्यो ।
पटक-पटक सञ्चालक समितिमा आफ्नो प्रफरमेन्समाथि प्रश्न उठेपछि सीइओ पाण्डेले लोन रिकोभरी, एसएमई लेन्डिङ र बिजनेश ग्रोथमा एग्रेसिभ हुन कर्मचारीहरुलाई निर्देशन दिइसकेका छन् ।
बोनस सेयर समायोजनयता बैंकको सेयर मूल्यमा खासै बढेको छैन । बैंकको एक कित्ता सेयरको अन्तिम कारोबार मुल्य ५३७ रुपैयाँ छ ।
वाणिज्य बैंकहरुमा ठूलो पुँजी (६७ अर्ब ६० करोड बजार पुँजीकरण) भएको यो बैंकको नाफा घटेको वित्तीय विवरणको प्रभाव मात्रै सेयर बजारमा परेको छैन खराब कर्जा ३०० प्रतिशतले बढेपछि लगानीकर्ताहरु सशंकित भएका छन् ।
स्टाफ मिटिङमा NIC Asia को उदाहरण दिँदै इन्भेष्टमेन्ट बैंकका सीइओको निर्देशन- एग्रेसिभ हुनुहोस्
वित्तीय विवरणको विश्लेषण
बैंकको नाफा १० प्रतिशतले घटेर २ अर्ब ५६ करोडमा सीमित भएको छ । गत वर्षको यही अवधिमा नाफा २ अर्ब ८३ करोड रहेको थियो ।
त्यस्तै, बैंकको खुद व्याज आम्दानी १९.४३ प्रतिशतले बढेर ४ अर्ब ९६ करोड पुगेको भएपनि बैंकको अन्य आम्दानी घट्दा र खराब कर्जाको लागि प्रोभिजनिङ गर्नु परेपछि त्यसको असर वित्तीय विवरणमा देखिएको हो । त्यसो त प्रशासनिक खर्च लागत केही बढेको छ । जसले गर्दा नाफा घटेको हो ।
नाफाको वृद्धिदरः एनआइसी एशियाको चमत्कार, नविल कमजोर, इन्भेष्टमेन्टको घट्यो, कुन बैंकको कति ?
यो चैत मसान्तमा बैंकको कुल कर्जामा खराब कर्जा ३०० प्रतिशतले बढेर ३.०४ प्रतिशत पुगेको छ । गत वर्षको चैत मसान्तमा यस्तो अनुपात ०.७६ प्रतिशत थियो ।
निक्षेपको व्याजको लागि हुने खर्च र कर्जाको व्याजबाट हुने आम्दानीको सन्तुलन राम्रै देखिएपनि शुल्क र कमिसनबाट हुने आम्दानी र खर्चमा केही असन्तुलन देखिन्छ ।
कस्ले तिरेन इन्भेष्टमेन्ट बैंकको ४ अर्ब ? खराब कर्जा ३००%ले बढ्यो, कुन बैंकको कति ? (सूचिसहित)
शुल्क र कमिसनबाट हुने आम्दानी ३ करोड रुपैयाँले घटेको छ भने खर्च दोब्बरले बढेर करीब २४ करोड पुगेको छ । बैंकले वर्ष अन्त्यमा खराब कर्जामा सुधार गर्न सके राम्रो रकम फिर्ता (राइट ब्याक) हुने देखिन्छ ।
बैंकको प्रतिसेयर आम्दानी ३५ बाट घटेर २७.१७, मूल्य आम्दानी अनुपात २० गुणा र प्रतिसेयर नेटवर्थ १ सय ९९ छ । बैंकले तेस्रो त्रैमाशसम्मको नाफाबाट १ अर्ब ४३ करोड बाड्न सक्ने देखिन्छ ।
त्यस्तै, यसअघिको १० करोड २२ लाख सेयर प्रिमियम बाँकी छ । दुवै जोड्दा हालको चुक्ता पुँजीको आधारमा १२.२३ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ । अन्तिम त्रैमाशसम्ममा यसमा फेरबदल भने आउन सक्छ ।
चालू आर्थिक वर्षको ९ महिनामा इन्भेष्टमेन्ट बैंक निक्षेप र कर्जा दुबै बढाउनमा अन्तिम स्थानमा छ । यो ९ महिनाको अवधिमा प्रतिशतका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंकको निक्षेपको वृद्धिदर सबैभन्दा कम छ । यो बैंकले जम्मा ३.२० प्रतिशतले मात्रै निक्षेप बढाएको छ ।
०७५ असार मसान्तमा १ खर्ब ४० अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरेको इन्भेष्टमेन्ट बैंकले ०७५ चैत मसान्तमा १ खर्ब ४४ अर्ब ८२ करोड रुपैयाँ पुर्याएको छ । रकमका आधारमा ४ अर्ब ४९ करोड रुपैयाँ मात्रै बढी हो ।
त्यस्तै, यो ९ महिनाको अवधिमा कर्जा बढाउने बैंकहरुको सूचिमा सेकेन्ड लास्ट छ नेपाल इन्भेष्टमेन्ट बैंक । यो बैंकले जम्मा ६।०७ प्रतिशत अर्थात् ७ अर्ब ३३ करोड १० लाख रुपैयाँले बढाएर ०७५ चैत मसान्तमा कूल कर्जा १ खर्ब २८ अर्ब १५ करोड रुपैयाँ पुर्याएको छ ।
बैंकहरुको लोन ग्रोथ: रकममा एनआइसी एशिया र प्रतिशतमा एनबी फस्ट, इन्भेष्टमेन्ट र प्राइम लास्ट
लगानीकर्ताको सम्पत्तिमाथि बैंकले दिने प्रतिफल (आरओई) पनि लगातार घटिरहेको छ । चैत मसान्तमा इन्भेष्टमेन्ट बैंकको जम्मा १५.१९ प्रतिशत मात्रै आरओई छ । ०७४ चैतमा आरओईका आधारमा चौथो नम्बरमा रहेको यो बैंक ०७५ चैत मसान्तमा १५औं स्थानमा पुगेको छ ।
स्रोतका अनुसार बैंकको प्रफरमेन्स निकै कमजोर बनेपछि सञ्चालक समितिको बैठकमा सञ्चालकहरुले प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको प्रफर्मेन्समाथि प्रश्न उठाएका छन् । पटक-पटक सञ्चालक समितिमा आफ्नो प्रफरमेन्समाथि प्रश्न उठेपछि सीइओ पाण्डेले लोन रिकोभरी, एसएमई लेन्डिङ र बिजनेश ग्रोथमा एग्रेसिभ हुन कर्मचारीहरुलाई निर्देशन दिइसकेका छन् ।
प्राविधिक विश्लेषण
बैंकको प्राविधिक विश्लेषणले अहिले नै बैंकको सेयरमा लगानी गर्नुभन्दा पर्खनुपर्ने संकेत गरिरहेको छ ।
लगातार कालो मैनवत्ति बनाइरहेको बैंकको सेयर मूल्यले अन्तिम २ दिनमा पहिलो दिन इन्भर्टेड ह्यामर (उल्टो ह्यामर आकृति) र अन्तिम दिन स्पिनिङ टप्स आकृती बनाएको छ । इन्भर्टेड ह्यामरले सेयर मूल्य घट्न रोकिन सक्ने संकेत गरिरहेको भएपनि तुलनात्मक रुपमा कमजोर यो संकेत सत्य साबित हुन सकेन ।
लगानीकर्ताको सम्पत्तिमाथि प्रतिफल दिनेमा एनआइसी एशिया फस्ट, सिभिल लास्ट, कुन बैंकको कति ? (सूचिसहित)
अन्तिम दिन बनेको स्पिनिङ टप्सको तल्लो धागो केही लामो भएकोले अझै बजारमा बिक्री चाप हावी भएको र बिक्रीकर्ता घट्दो मूल्यमा बेच्न तयार रहेको देखाएको छ ।
बीचको केही हप्ता ७ दिने मुभिङ एभरेज रेखाले २१ दिने रेखालाई काटेको थियो । यसले मूल्य बुलिश प्रवृत्तिमा देखाएको थियो । तर, १२ दिन अघिको कारोबार दिनमा २१ दिने रेखाले ७ दिने रेखालाई काटेर माथि लागेको छ । मूल्य वियरिश प्रवृत्तिमा रहेको यसले देखाउँछ ।
यस्तै प्रवृत्ति १४ दिन अवधिको आरएसआइ सूचकले समेत देखाउँछ । हाल कम्पनीको सेयर मूल्यले आरएसआई स्केल ३० मा आइपुगेको छ । अहिलेसम्म अधिक बिक्री कै अवस्था (क्षेत्रमा) मा रहेको देखिन्छ ।
हुन त, हालै यो स्केलको १९ सम्म पुगेको मूल्य अहिले बढ्न थालेको हो । यद्यपि सन्तुलित क्षेत्रमा भने आइसकेको छैन । ७० स्केल माथि पुगेमा भने अधिक खरीद भइरहेको संकेत गर्छ ।
विगत एक महिनाको मूल्यको आधारमा निकालिएको पीभट विश्लेषणले बैंकको मूल्य थप घटे ५१९ मा पहिलो टेवा पाउनेछ । त्यसमा नोकिए ५ सय २ र ४सय ६९ मा क्रमश टेवा मिल्न सक्छ । बढ्ने क्रममा रहेमा भने ५ सय ६९ मै पहिलो प्रतिरोध हुनेछ ।
त्यसपछि पनि वृद्धि जारी रहे क्रमशः ६०२ र ६१९ मा प्रतिरोध देखा पर्नेछ । सम्रग प्राविधिक सूचक र वित्तीय विवरण हेर्दा बजारमा लगानी गर्न केही समय अझै कुर्नु नै सही निर्णय हुने देखिन्छ ।
SHARE YOUR THOUGHTS