लगानी बोर्डले गर्याे ५५ अर्बको लगानी स्वीकृत, वीरगञ्ज र भैरहवामा बन्ने भयो ‘फ्रेइट टर्मिनल’ « Eglish Khabarhub

लगानी बोर्डले गर्याे ५५ अर्बको लगानी स्वीकृत, वीरगञ्ज र भैरहवामा बन्ने भयो ‘फ्रेइट टर्मिनल’



काठमाडौं । सरकारले वीरगञ्ज र भैरहवामा गरी दुई स्थानमा प्राइभेट फ्रेइट टर्मिनल र बुल्क हेन्डिलिङ फेसिलिटिज निर्माण परियोजनाको सम्भाव्यता अध्ययनका लागि अनुमति दिने निर्णय गरेको छ ।

सरकारले आइतबार लगानी बोर्डको ३८ औं बैठकले सरकारलाई कुनै पनि आर्थिक दायित्व नपर्ने गरी फ्लास फ्रेइट लोजिस्टिक कम्पनीलाई अनुमति दिने निर्णय गरेको हो ।

उक्त परियोजनाका लागि रु ६ अर्ब ५१ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

बैठकले फिलिपिन्सको एम/एस ग्रिनइनर्जी सोलुसन इंकलाई ७ वटै प्रदेशमा सौर्य उर्जा परियोजनाको सम्भाव्यता अध्ययनका लागि समेत अनुमति दिने निर्णय गरेको छ ।

उक्त परियोजनाबाट ५५० मेगावट सौर्य उर्जा उत्पादन गर्ने र त्यसका लागि ४८ अर्ब २४ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

त्यस्तै, सरकारले लुम्बिनीमा वल्र्ड बुद्धिस्ट एक्जिबिसन पार्क निर्माण तथा सञ्चालनका प्रस्तावक कम्पनी सिल्क रोड इन्टरनेशनल होल्डिङ कम्पनी लिमिटेडलाई अध्ययन अनुमति प्रदान गर्ने निर्णय समेत गरेको लगानी बोर्डका उप सचिव राजु गुरागाइँले जानकारी दिए ।

बैठकले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ कार्यान्वयनका लागि मस्यौदा गरिएको सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली २०७६ को मस्यौदालाई स्वीकृत गर्नका लागि मन्त्रिपरिषदमा पेश गर्ने समेत निर्णय गरेको छ ।

बैठकमा बोर्डका अध्यक्ष महाप्रसाद अधिकारीले हालै सम्पन्न लगानी सम्मेलनबाट प्राप्त परियोजनाहरु अगाडि बढाउने बारे भएका प्रगति प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले मुलुकको आर्थिक विकासका लागि ठूला परियोजना कार्यान्वयनको गती तीव्र बनाउनुपर्ने समेत बताएका थिए ।

Publish on: