राष्ट्र बैंकलाई प्राइम बैंकको ब्रिफिङः छिट्टै कमर्सियल बैंक गाभ्दैछौं, कुन हो त्यो ? « Eglish Khabarhub

राष्ट्र बैंकलाई प्राइम बैंकको ब्रिफिङः छिट्टै कमर्सियल बैंक गाभ्दैछौं, कुन हो त्यो ?



काठमाडौं । प्राइम बैंकको टोली केही दिनअघि राष्ट्र बैंक पुग्यो । उक्त टोलीले राष्ट्र बैंकका कार्यकारी निर्देशकसहित डेपुटी गभर्नरलाई पनि भेट्यो ।

राष्ट्र बैंकका अधिकारीहरुलाई भेटेर प्राइम बैंकको टोलीले निकट भविष्यमै वाणिज्य बैंक गाभ्ने तयारी गरिरहेको जानकारी दिए ।

‘प्राइम बैंकको टोली आएर हामी सकेसम्म मौद्रिक नीतिभन्दा अघि नै एक वाणिज्य बैंकसँग मर्जरको सैद्दान्तिक सहमति गर्छौं भनेर भनेका छन्,’ राष्ट्र बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘कुन बैंकसँग सैद्दान्तिक सहमति गर्ने भनेर नाम चाहीँ भनेनन् ।’

यसरी बैंकहरु स्वतस्फूर्त मर्जरमा जानु अन्त्यन्तै सकरात्मक भएको राष्ट्र बैंकका ती अधिकारीले बताए ।

‘हामीले बैंकहरुको संख्या घटिदिए हुन्थ्यो भनेर चाहेका छौं, यस्तो अवस्थामा प्राइमले खुसीको खबर सुनाएको छ,’ ती अधिकारीले भने, ‘सैद्दान्तिक सहमति गरेर आएपछि हामी सक्नेसम्का सुविधा दिन्छौं ।’

राष्ट्र बैंकले फोर्स गरेर भन्दा पनि स्वतस्फूर्त मर्जर चाहेको ती अधिकारीको भनाई छ ।

मर्जरमा राष्ट्र बैंकको रणनीतिः थर्काउने र लोभ्याउने

‘वाणिज्य बैंकको संख्या १५/१६ वटा मात्रै भइदिए हुन्थ्यो भन्ने हाम्रो सोचाइ हो, त्यसका लागि देखिनेगरी फोर्स गरेर होइन, थर्काउने अनि प्रोत्साहन गर्ने रणनीति अनुसार हामी अघि बढेका छौं,’ स्रोतले भन्यो, ‘राष्ट्र बैंकले एकएक संस्थालाई बोलाएर मर्जरमा जानुहोस् नत्र हामी असहयोग गर्न बाध्य हुनेछौं भनेर थर्काएपछि बैंकहरु मर्जरमा जानका लागि हदैसम्मको प्रयास गर्ने छन् । र, संख्या घट्ने छ भन्नेमा हामी विश्वस्त छौं । यो पनि अनौपचारिकरुपमा फोर्स नै हो ।’

राष्ट्र बैंकको यस्तो रणनीति बुझेको प्राइम बैंकले पछिल्लो समय आधा दर्जन वाणिज्य बैंकहरुसँग मर्जरको कुराकानी गरिरहेको छ । प्राइम बैंक स्रोतका अनुसार कुमारी, सेञ्चुरी, सिभिल, मेगा र सिटिजन्स लगायतका बैंकसँग मर्जरका लागि प्रारम्भिक कुराकानी भइरहेको छ ।

‘छलफल प्रारम्भिक नै छ, यद्यपि हामी चाँडै टुंग्याउने प्रयासमा छौं,’ स्रोतले भन्यो ।

एभरेष्ट र लक्ष्मीको मर्जरमा चुकेको राष्ट्र बैंक प्राइम र ओममा नचुकोस्, अब यसो गरौं

पहिलो चरणमा विकास बैंक र फाइनान्स कम्पनीहरु गाभ्ने र त्यसपछि वाणिज्य बैंकसँग मर्ज गर्ने रणनीति अनुसार काम भइरहेको स्रोतको भनाई छ ।

ओम डेभलपमेन्ट बैंकसँगको एक्विजिसन टुटेपछि प्राइम बैंकलाई मर्जरमा जान तीब्र दबाब छ । जसकारण पनि प्राइ बैंक मर्जरका लागि डेढ दर्जन बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जरका लागि एग्रेसिभ भएर छलफल गरिरहेको छ ।

प्राइम र ओमलाई ३ महिनाभित्र मर्जरमा जान राष्ट्र बैंकको अल्टिमेटम, नत्र यस्तो कारबाही

राष्ट्र बैंकले गत बैशाखमा प्राइम र ओम दुबैको डिमर्जका लागि स्वीकृति दिँदै ३ महिनाभित्र अर्को संस्था खोजेर मर्जर तथा एक्वायरमा जान निर्देशन दिइसकेको छ । ३ महिनाभित्र मर्जरमा नगए राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी पनि दिइसकेको छ ।

राष्ट्र बैंकको कारबाहीबाट जोगिन प्राइम बैंकले जेठ २२ गते कन्काइ विकास बैंकलाई र जेठ २६ गते ललितपुर फाइनान्सलाई एक्वायर गर्ने सैद्दान्तिक सहमति गरिसकेको छ ।

‘कन्काइ र ललितपुर फाइनान्ससँग सहमति भएपछि हामी राष्ट्र बैंकको कारबाहीबाट जोगिएका छौं,’ प्राइम बैंक स्रोतले भन्यो, ‘अब साना र ठूला दुबै संस्थासँग मर्जरमा जाने रणनीति अनुसार तीब्ररुपमा छलफल गरिरहेका छौं । चाँडै सुखद खबर सुनाउने तीब्र आकांक्षा छ ।’

Publish on: