धनगढी । अत्तरिया नगरपालिकाको राजपुर गाउँमा आयुर्वेद अस्पताल निर्माण गर्ने कार्य अलपत्र परेको छ ।
वन विभागले अस्पताल निर्माण गर्ने भनी छुट्याइएको जग्गाको भोगाधिकार दिन नमानेका कारण निर्माण कार्य अलपत्र परेको हो ।
उक्त ठाउँमा सुदूरपश्चिम क्षेत्रलाई लक्षित गरी सुविधा सम्पन्न ५० श्ययाको अस्पताल बनाउने लक्ष्य रहेको अस्पताल निर्माणका लागि गठित समितिका उपाध्यक्ष छत्रराज जोशीले बताए ।
उनले जग्गाको भोगाधिकार नदिएकै कारण हरेक वर्ष अस्पताल निर्माणका लागि आउने ठूलो रकम खर्च हुन नसकेर ‘फ्रिज’ हुँदै गएको बताए।
सरकारसँग जग्गासम्बन्धी स्वामित्व विवाद टुङ्ग्याएर अस्पताल निर्माणमा सहयोग गर्न आग्रह गरिएकोमा अहिलेसम्म कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ ।
‘इलाका वन कार्यालय गेटाले भोगाधिकारका लागि सिफारिस गरेको लामो समय बितिसक्दा पनि विभागले स्वीकृति नदिँदा अस्पताल निर्माण अघि बढ्न सकेको छैन,’ जोशीले भने, ‘ निर्माण कार्य अघि बढ्न नसक्दा बर्सेनि आउने बजेट पनि फ्रिज हुँदै गएको छ ।’
सरकारले आफैँ अस्पताल निर्माणको निर्णय गर्ने तर काम हुन नदिने प्रवृत्ति देखिएको स्थानीयवासीको गुनासो छ ।
उक्त ठाउँमा आयुर्वेद अस्पताल निर्माणका लागि आवश्यक सर्भे र अनुगमन गर्न आयुर्वेद विभागका महानिर्देशकको नेतृत्वको टोलीले हालै स्थलगत रुपमा अध्ययन गरी यसै वर्षदेखि निर्माण सुरु गर्न पहल गर्ने प्रतिबद्धता जनाएको थियो ।
स्वास्थ्यमन्त्री गगन थापा र वन राज्यमन्त्री दीर्घराज भाटले हालै निर्माणस्थलको अनुगमन निरीक्षण गरी अस्पतालको काम छिट्टै सुरु गरिने आश्वासन दिए पनि काम अगाडि बढ्न सकेको छैन् ।
अस्पताल भवन निर्माणका लागि त्यहाँ केही वर्षअघि शिलान्याससमेत गरिसकेको छ । रासस
SHARE YOUR THOUGHTS