डिजिटल करेन्सी बिटक्वाइनको भाउ २४ घण्टामा १० हजार डलरबाट बढेर ११ हजारभन्दा माथि पुगेको छ । क्वाइन३६० का अनुसार गत मार्च महिनायता यो सबैभन्दा उच्च मूल्यमा पुगेको हो ।
विश्वको सबैभन्दा ठूलो डिजिटल करेन्सी प्लेटफर्म बिटक्वाइनको भाउ गत डिसेम्बर यता २५० प्रतिशतले बढेको हो । गत डिसेम्बरमा यसको भाउ ३१२२ अमेरिकी डलर थियो ।
गत मे महिनाको अन्त्यतिर यसका सह संस्थापक केनेटिकले वर्षको अन्त्यसम्ममा बिट क्वाइनको मूल्य ३० हजार अमेरिकी डलरभन्दा माथि पुग्ने अनुमान गरेका थिए । उनले बिटक्वाइन अहिले ‘क्रिप्टो विन्टर’बाट बाहिरिएर ‘क्रिप्टो स्प्रिङ’मा पुगेको एक अन्तरवार्ताका क्रममा बताएका थिए
तर वाल स्ट्रिटका पूर्व कार्यकारी तथा वर्तमान ब्लकचेन रिसर्चर टोन वेज एक्प्रेस्डले केनेटिकको अनुमानमा आशंका गर्दै ‘क्रिप्टो विन्टर’ अझै नसकिएको बताएका थिए ।
यस साताको सुरुवातमा साइबर सेक्यूरिटी फार्म क्यास्परस्काइ ल्यावले आफ्नो सर्भेको नतिजा सार्वजनिक गर्दै १९ प्रतिशत उपभोक्ताले विश्वभरी क्रिप्टो करेन्सी खरिद गरिरहेको बताएको थियो ।
विटक्वाइनको भाउ बढ्नुमा दुनियाँको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबकले क्रिप्टो करेन्सी बनाउने खबर पनि कारक रहेको धेरैको अनुमान छ । मिडियाका रिपोर्टका अनुसार फेसबुकले छिट्टै नै आफ्नो छुट्टै करेन्सी ल्याउने तयारी गरेको छ ।
उक्त करेन्सीका माध्यमबाट फेसबुक प्रयोगकर्ताहरुले म्यासेन्जर इन्स्ट्राग्राम, ह्वाट्सएप जस्ता माध्यमबाट एक अर्कालाई पैसा ट्रान्सफर गर्न सक्नेछन् । यतिमात्रै नभइ फेसबुकले अब छिट्टै नै ब्लकचेक बेस्ड यूजर अथेन्टिकेशन फिचर समेत जोड्न थालेको छ ।
तर नेपालमा भने यसको कारोबार गर्न पाइँदैन् । सन् २०१७ अगस्ट १३ तारिखमा नेपाल राष्ट्र बैंकले बिट क्वाइनको कारोबारलाई गैरकानूनी भन्दै बन्द गरेको थियो । नेपालमा मात्रै होइन, बिट क्वाइन पाकिस्तानमा पनि बन्देज छ ।
त्यस्तै, छिमेकी मुलुक चीन, बंगलादेश र भारतमा पनि कारोबारलाई कानूनी मान्यता दिएको छैन भने अल्जेरिया, बोलिभिया, इक्वेडोर, इन्डोनेसिया, थाइल्याण्ड, भियतनाम, म्याडोनिया, ब्राजिल, मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरियामा पनि कारोबार गर्न पाइँदैन् ।
प्रतिक्रिया दिनुहोस्