१ पुस २०८२, मंगलबार

बैंकलाई ब्रोकर लाइसेन्सः धितोपत्र बोर्डमा रोकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वाणिज्य बैंकलाई ब्रोकरको काम गर्न दिने कार्य यतिबेला धितोपत्र बोर्डमा पुगेर रोकिएको छ ।

तीन वाणिज्य बैंकहरुले कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी खोलेर ब्रोकरको काम गर्न तयार रहेको भन्दै नेप्सेलाई जानकारी पनि गराइसकेका छन् ।

दुई दर्जन वाणिज्य बैंकहरुले नियमावली संशोधन गरेर सहायक कम्पनी खोल्न राष्ट्र बैंकमा अनुमति लिइसकेका छन् । राष्ट्र बैंकबाट सहायक कम्पनी खोल्न अनुमति पाएपछि ३ वटा बैंकहरुले कम्पनी खोलेर नेप्सेमा ब्रोकरको काम गर्न अनुमति मागेको बताइएको छ ।

नेप्सेमा बैंकहरुको फाइल पुगेपछि नेप्सेले धितोपत्र बोर्डलाई ब्रोकर छनोट गर्ने विधि अध्ययनका लागि पठाएको छ । नेप्सेले बोर्डलाई पठाएको यस्तो विधिमा कम्पनीको पुँजी, प्राविधिक व्यवस्था, जनशक्ति व्यवस्थापन, कार्यालय व्यवस्थापन तथा कार्यालयको क्षेत्रफल, आचार संहिता लगायतका विषय रहेको नेप्सेका एक अधिकारीले बताए ।

अब नेप्सेले पठाएको आधारलाई धितोपत्र बोर्डले अध्ययन गर्ने छ । उक्त आधारहरु मन परेको खण्डमा त्यसलाई पास गर्ने र नपरेको खण्डमा आवश्यक परिवर्तन गरेर सूचना निकाल्न निर्देशन दिने बताइएको छ ।

नेप्सेले बोर्डमा उक्त विधि पठाएको तीन साता बितिसक्दा पनि बोर्डले कुनै जानकारी नगराएको नेप्सेका अधिकारीको भनाई छ ।

नेप्सेका एक अधिकारीले भने ‘हामी अहिले पनि बोर्डबाट के निर्देशन आउने हो भन्ने पर्खेर बसेको छौं ।’

सहायक कम्पनी खोलेर त्यही कम्पनी आर्फत ब्रोकरको काम गर्न नेप्सेमा अनुमति दिने बैंकहरुमा एनआईसी, सानिमा र प्रभु रहेका छन् ।

अन्य बैंकहरुको भने जानकारी नभएको नेप्सेले जनाएको छ । यता धितोपत्र बोर्डले उक्त विधिको अध्ययन भइरहेको र केही समयमा टुंग्याउने जनाएको छ ।