काठमाडौं । बैंकहरुको वित्तीय प्रतिवेदन परिवर्तन हुने भएको छ । अब वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले कर्जाको ब्याजको नगद आय प्राप्त भएपछि मात्रै आम्दानीको रूपमा वित्तीय प्रतिवेदनमा देखाउन पाउने भएका छन् ।
यसको मतलब खराब कर्जाको ब्याजलाई आम्दानीको रूपमा लेखाङ्कन नगरी बैंकहरुले वित्तीय प्रतिवेदन सार्वजानिक गर्नूपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले ‘ब्याज आम्दानी लेखाङ्कन सम्बन्धी मार्गदर्शन-२०७६’ लागू गर्दै बैंकहरूले तयार पार्ने वित्तीय प्रतिवेदनमा परिवर्तन गरेको हो ।
नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) लागू भएपछि आम्दानी नभएको ब्याजलाई पनि आयमा देखाउँदा नाफा बढी देखिने र हुँदै नभएको आम्दानी देखाउँदा कर तिर्नुपर्ने समस्या उत्पन्नत भएको थियो । उठ्न नसकेको ब्याजलाई वित्तीय प्रतिवेदनमा आम्दानी देखाउँदा नाफा बढी देखिने गरेको समस्या थियो ।
नेपाल बैंकर्स एशोसिएशनको वित्तसम्बन्धी समितिले खराब कर्जाको ब्याजलाई आम्दानीमा देखाउँदा कर तिर्दा समस्या भएको भन्दै समस्या समाधानका लागि राष्ट्र बैंकमा अनुरोध गरेको थियो ।
यो समस्याको समाधान गर्न राष्ट्र बैंकले ‘ब्याज आम्दानी लेखाङ्कन सम्बन्धी मार्गदर्शन-२०७६’ लागू गरेको हो । यो सँगै बैंकको वित्तीय प्रतिवेदनमा बढी नाफा देखिएपछि सेयरधनीलाई सो विवरणअनुसार लाभांश पाउनु पर्छ भन्ने दोधारको अन्त्य भएको छ ।
SHARE YOUR THOUGHTS