बैंकहरुको नाफा २५ प्रतिशतले बढ्यो, कसले कति कमाए ? « Eglish Khabarhub

बैंकहरुको नाफा २५ प्रतिशतले बढ्यो, कसले कति कमाए ?



काठमाडौं । सबै वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय संस्थाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । २८ वटा वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरण हेर्दा बैंकहरुको नाफा २५.१४ प्रतिशत बढेको छ ।

अघिल्लो आर्थिक वर्षमा ५२ अर्ब २८ करोड ८२ लाख ९२ हजार रुपैयाँ नाफा कमाएका बैंकहरुले गत वर्ष नाफा २५.१४ प्रतिशतले बढाउँदै ६५ अर्ब ४३ करोड ७६ लाख ३५ हजार रुपैयाँ कमाएका छन् ।

यो अवधिमा सबै भन्दा बढी नाफा राष्ट्रिय वाणिज्य बैंक नै रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब ३२ करोड ८३ लाख ७१ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोहि अवधिमा ३ अर्ब ६५ करोड ९२ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।

यस्तै वाणिज्य बैंक पछि दोस्रो स्थानमा नविल बैंक रहेको छ । नबिल बैंकको नाफा ४ अर्ब २९ करोड ४१ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

यस्तै सबैभन्दा कम भने सिभिल बैंकको रहेको छ । सिभिल बैंकले गत आवको चौथो त्रैमासमा ८० करोडको हाराहारीमा नाफा आर्जन गरेको छ ।

बैंकले चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छैन । तर बैंक स्रोतका अनुसार गत आवको चौथो त्रैमासमा बैंकको नाफा ८० करोडको हाराहारीमा नाफा कमाउने बताइएको छ ।

यता प्रतिशतको आधारमा हेर्दा २८ वटा बैंकमध्ये राम्रो सुधार एनआईसि एसिया बैंकको रहेको छ । एनआईसी एसिया बैंकको नाफा गत आवको चौथो त्रैमासमा १२८ प्रतिशतले बढेको छ ।

प्रतिशतको आधारमा दोस्रो स्थानमा प्रभु बैंक रहेको छ । प्रभु बैंकको नाफा ११२.०५ प्रतिशतले बढेको छ । गत आवको चौथो त्रैमासमा ३ वटा बैंकको नाफामा गिरावट आएको छ ।

नेपाल बैंकको नाफा १८.७७, नेपाल इन्भेष्टमेन्ट बैंक ६.६६ र सेञ्चुरी बैंकको नाफा ५.६४ प्रतिशतले नाफा घटेको रिपोर्टले देखाएको छ ।

Publish on: