म्यानपावर चलाउने एजुकेशन कन्सलटेन्सीप्रति कठोर बन्दै वैदेशिक रोजगार विभाग « Eglish Khabarhub

म्यानपावर चलाउने एजुकेशन कन्सलटेन्सीप्रति कठोर बन्दै वैदेशिक रोजगार विभाग



काठमाडौं । एजुकेशन कन्सलटेन्सीका नाममा म्यानपावरको काम गर्ने कम्पनीको संख्या बढेसँगै वैदेशिक रोजगार विभागले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको संकेत दिएको छ ।

विभागले एजुकेशन कन्सलटेन्सीका नाममा म्यानपावर चलाउने कम्पनीमा छापा मार्ने क्रमलाई बढाएको छ ।

विभागले छापा मार्न थालेसँगै औपचारिक तथा अनौपचारिक रुपमा उजुरी गर्नेको संख्या बढेको महादिर्नेशक डा. भिष्म प्रसाद भुसालले क्लिकमाण्डूसँग भने ।

उनले भने, ‘अहिले उजुरीहरु आइरहेका छन्, तर हामीले अझै बलियो प्रमाण खोजिरहेका छौं, सकेसम्म हामी त्यो क्षेत्रमा प्रवेश नगरौंनै भन्ने हो तर बैदेशिक रोजगार सम्बन्धि कुनै पनि प्रमाण भेटियो भने हामी छाड्दैनौ ।’

विभागमा अहिले शैक्षिक परामर्श संस्थाहरुले गर्ने विज्ञापनका उजुरीहरु बढी देखिएका छन् । ‘उहाँहरुसँग केही छ र त विज्ञापन गर्नुहुन्छ, यद्यपि हामी अहिले प्रमाण संकलन गरिरहेका छौं’ उनले भने ।

उनका अनुसार शैक्षिक परामर्श संस्थाहरुलाई जुन क्षेत्राधिकार छ त्यसैमा मात्रै सीमित हुनुपर्छ, त्यसभन्दा बाहिर जानु हुँदैन । यदि त्यसो भएको अवस्थामा कारबाही गरिने उनले बताए ।

यसका लागि शिक्षा मन्त्रालयसँग सहकार्य गरी काम गर्ने उनको भनाइ छ । ‘सहकार्य सुरु भइसकेको छ, छलफल भइरहेको छ’ उनले भने ।

‘एजुकेशन कन्सलटेन्सीका नाममा कार्यालय खोल्ने तर काम अर्कौ हुन्छ भने त्यो सरासर गलत छ, त्यसले म्यानपावर र एजुकेशन कन्सलटेन्सीबीचको सीमांकन जरुरी छ ।’

पछिल्लो समय शैक्षिक परामर्शका नाममा वैदेशिक रोजगारीका लागि पठाउने भन्दै मानिसहरु ठगीमा पर्न थालेसँगै विभागले चासो देखाएको हो ।

विभागले नेपाल शैक्षिक परामर्श संघ (इक्यान)सँग पनि छलफल अगाडि बढाएको छ । मंगलबारमात्रै इक्यानका तीन जना प्रतिनिधि विभाग पुगेर चासो व्यक्त गरेका थिए । जसमा इक्यानले विभागलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको भुसालले जानकारी दिए ।

उनले भने, ‘उहाँ भेट गर्न आउनु भएको थियो, सक्दो सहयोग गर्छौ भन्नु भएको छ ।’

भुसालले जुन उद्देश्यका लागि कम्पनी खोलिएको हो सोही काम गर्न गर्नका लागि एजुकेशन कन्सलटेन्सलाई सुझाव दिएका छन् ।

Publish on: