२९ मंसिर २०८२, आइतबार

ईट्टा उद्योगहरुमा डोजर लगाइएकोप्रति व्यवसायीहरुको आपत्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत आइतवार नमोबुद्ध नगरपालिकाले भकुण्डेवेशीमा सञ्चालित आठ वटा ईट्टा उद्योगहरु बन्द भएको बेला पारी डोजर लगाई भत्काएकोप्रति व्यवसायीहरुले आपत्ति जनाएका छन् ।

नेपाल ईट्टा उद्योग महासंघले काठमाडौंमा एक पत्रकार सम्मेलनमार्फत सो कार्यको विरोध गर्दै यस विषयमा संघीय सरकारको ध्यानाकर्षण गराएको छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष महेन्द्र चित्रकारले यसरी तहसनहस पारिएका उद्योगमा रहेका भौतिक संरचनाहरु, चिम्नी, पाकेका ईट्टा, कामदारहरुको वासस्थान र कार्यालय भवन आदिमा भएको क्षति कम्तिमा १० करोडको भएको जानकारी दिए ।

महासंघका अनुसार ईट्टा उद्योगबाट हुने प्रदुषणलाई घटाउने सन्दर्भमा विगतमा नगरपालिक र ईट्टा उद्योगीबीच भएको छलफललाई समेत आधार मानी ती उद्योगहरुमा जी ग्याज फोर्स ड्रग्ड फ्रिङ सिस्टम पीपीएम प्रविधि प्रयोग गरी सरकारले तोकेको ३५० पीपीएको मापदण्ड भन्दा अत्यन्त कम मात्रै प्रदुषण गरिरहेको उनले बताए ।

सबै मापदण्डलाई वेवास्ता गर्दै संविधानले प्रत्याभुत गरेको सम्पत्ति राख्न र व्यवसाय गर्न पाउने मौलिक हकको हनन गर्दै नगरपालिका जस्तो जिम्मेवार निकायका प्रमुखले गुण्डागर्दी शैलीमा उद्योगमाथि आक्रमण गराउनु निन्दनीय रहेको महासंघले ठहर गरेको बताए ।

पत्रकार सम्मेलनमा अभिभावक छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले महासंघको आग्रहमा वर्तमान सरकारले हरेक पालिकामा साना उद्याग ग्राम स्थापना गर्ने गरेको निर्णय कार्यान्वनयन गरी उद्योगलाई व्यवस्थित पार्नुको साटो नमोवुद्ध नगरपालिकाले आफ्नो पालिका सञ्चालित उद्योगलाई व्यक्तिगत इविका कारणले गर्दा तहसनहस गर्न डोजर चलाउनु निन्दनीय रहेको बताए ।

यदि त्यस्ता उद्योगले प्रदुषणको तोकिएको मापदण्ड पूरा गर्न सकेका थिएनन् भनेपनि त्यसलाई सुधार्न मौका दिनुपर्नेमा सरकारले तोकेको मापदण्ड भन्दा धेरै तल १५० देखि २०० पीपीएम को धुँवा उत्सर्जन गरिरहेका त्यस्ता उद्योगलाई बन्द गराउनु आफैमा गैर कानुनी कदम हो ।

त्यसैगरी अहिले विभिन्न पालिकामा विकल्पको व्यवस्था नगरी विभिन्न उद्योगहरु नविकरण गर्न विभिन्न झन्झट लगाइरहनु र यो वा त्यो नाममा उद्योग व्यवसायीहरुलाई हतोत्साही गराउने कामले सम्माननीय प्रधानमन्त्रीको समृद्ध नेपाल र सुखी नेपालीको आकाँक्षालाई असफल र दिग्भ्रमित बनाउन उनकै पार्टीका मान्छेहरु नै लागिपरेको जस्तो देखिन आएकोले यसतर्फ तत्काल संघीय सरकारको ध्यान जाओस भनि आग्रह पनि गरे ।

ईट्टा उद्योगी व्यवसायी संघ काभ्रेका अध्यक्ष जितेन्द्र खायामलीले ईट्टा उद्योगले सिर्जना गरेका आर्थिक अवसरका कारण विकास भएको भकुण्डेवेसीको बजारमा त्यहीका स्थानिय मेयरले ईट्टा उद्योगमा आक्रमण गराउनुको पछाडी व्यक्तिगत विषय रहेको बताए ।

ईट्टा उद्योग महासंघका बरिष्ठ उपाध्यक्ष शंकर चन्दले सो नगरपालिकाका मेयरले ईट्टा उद्योगमा आफ्नो पनि शेयर माग दावा गरेको र उद्योगीले दिन नसक्दा ईट्टा उद्योग नै तहसनहस गर्ने काम गरेको आरोप लगाए ।