काठमाडौं । लामो प्रयासपछि काठमाडौं–जापान उडान गरेको नेपाल एयरलाइन्सले बिहीबार सफल उडान गरेको छ ।
निगमका अनुसार बिहीबार राति साढे २ बजे काठमाडौंबाट उडान भरेको विमान ११ बजेर ५५ मिनेटमा ओसाका पुगेको थियो ।
बिहीबार साँझ ६ बजेसम्म काठमाडौं फर्किएको एयरलाइन्समा जापानबाट ४५ जना यात्रुले टिकट काटेको निगम स्रोतले क्लिकमाण्डूलाई जानकारी दियो ।
स्रोतका अनुसार काठमाडौं–जापानमा लागि पदाधिकारी र कर्मचारी सहित झण्डै १ सय जनाले यात्रा गरेकोमा ओसाकाबाट फर्कदा ४५ जना मात्रै यात्रुले टिकट काटेका छन् र
सन् २००७ मा काठमाडौं–जापानको नियमित उडान स्थगन गरेको नेपाल एयरलाइन्सले १२ वर्षपछि पुनः उडान सुरु गरेको हो । निगमले ओसाकाबाट उडान सुरु गरेर नारितामा पुग्ने लक्ष्य लिएको छ ।
नेपाल वायू सेवा निगमका अध्यक्ष मदन खरेलले आगामी जनवरीसम्ममा नारितामा समेत उडान गर्ने गरी काम भइरहेको बताए । नेपाल एयरलाइन्सले पहिलो पटक काठमाडौं जापान सिधा उडान सफलतापूर्वक गर्न सफल भएको हो ।
यसअघि सन् १९९४ अक्टोवर ३० तारिखदेखि सन् २००७ सालसम्म नेपाल एयरलाइन्सले जापानमा उडान गर्दै आएको थियो । तत्कालिन समयमा नेपाल एयरलाइन्सले काठमाडौं–चीन–जापानको रुटमा उडान गर्दैै आएको थियो ।
यसअघि त्रिभुवन विमानस्थलमा बिदाइ गर्दै निगमका अध्यक्ष मदन खरेलले नेपाल जापानको उडान अनेकौं बाधापछि पनि सबै सरोकारवालाको सकारात्मक सहयोगले सफलता प्राप्त गरेको बताए ।
जापान उडानको वार्षिक ४३ हजार सिट क्षमता रहेकोमा वार्षिक ३५ हजार यात्रुवहन गर्ने लक्ष्य नेपाल एयरलाइन्सले लिएको छ ।
निगमले हप्ताको तीन दिन बिहीबार, शनिबार र मंगलबार ओसाकाको नियमित उडान गर्नेछ । निगमले हाललाई प्रवद्र्र्धनात्मक भाडादर दुईतर्फी ७२ हजार ८ सय र एकतर्फी ३७ हजार निर्धारण गरेको छ ।
नेपाल जापानको सिधा उडानलाई थप व्यावसायिक प्रवद्र्धन गर्न सेप्टेम्बर महिना भर प्रत्येक उडानमा यात्रुहरु बीच गोलाप्रथा गराइनेछ र एक जनालाई उपहार स्वरुप एक निःशुल्क नेपाल जापान उडानको टिकट प्रदान गरिनेछ ।
निगमले आगामी पुसदेखि जापानको अर्को गन्तव्य टोकियोको नारिता विमानस्थलमा पनि उडान गर्नेछ । पहिलो उडानमा सीमित यात्रु संख्याको आधारमा भविष्यमा यात्रुहरु निरन्तर बढ्दै जाने अपेक्षा निगमको छ ।
SHARE YOUR THOUGHTS