पुँजी बजारमा ढुंगेयुग अन्त्य गर्ने सिडिएससीकाे भनाइ भाषणमै सीमित, समय थप्दा बोर्डलाई तनाब « Eglish Khabarhub

पुँजी बजारमा ढुंगेयुग अन्त्य गर्ने सिडिएससीकाे भनाइ भाषणमै सीमित, समय थप्दा बोर्डलाई तनाब



काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेडको चरम लापरबाही र ढिलासुस्तिको कारण सेयर बजारमा रहेको ढुंगे युगको अन्त्य गर्ने चर्चा केवल चर्चामा मात्रै सीमित बनेको छ ।

विगत ३ साता अघिदेखि नै सिडिएससीले मेरो सेयर प्रयोग गर्ने लगानीकर्ताहरुलाई ढुंगेयुगको उपमा पाएको औँठाछाप प्रथाको अन्त्य गराउने भनेको थियो ।

त्यसका लागि सफ्टवेयर निर्माण गरिरहेको ओठे जवाफ दिँदै आएको थियो, जुन अहिले पनि ज्यूँका त्यूँ नै छ । यसले गर्दा त्यो केवल गफमा मात्रै सीमित भएको देखिन्छ ।

अब लगानीकर्ता ब्रोकरकोमा औँठाछाप लगाउन जान नपर्ने गरी सफ्टवेयर निर्माण हुने भने पनि सिडिएससीको लापरबाहीले लगानीकर्ता अझै ब्रोकर कार्यालयमा औँठा छाप लगाउन जान बाध्य भएका छन् ।

बोर्डले पनि सिडिएसीलाई यो काम तत्काल सक्न भन्दै दोस्रो पटक निर्देशन दिइसकेको छ भने काम किन ढिलो भएको हो भन्दै जवाफ मागेको थियो । तर सिडिएसिले अझै आलटाल गरिरहेको छ । सिडिएससीले समयमा नै काम नगर्दा बोर्डलाई समस्या भएको बताइएको छ । सेयर बजारका नियामक निकाय बोर्ड भएकोले गर्दा लगानीकर्ताहरुलाई जवाफ दिन समस्या भएको बोर्डका एक अधिकारीले बताए ।

सिडिएससीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) देवप्रकाश गुप्ताले यो प्राविधिक काम भएकाले सम्भवत आगामी साता मात्रै सकिने बताए । उनले भने, ‘कसले कहाँ के भन्यो भन्दा पनि प्राविधिक काम भएकाले समय लाग्छ सम्भवत आगामी सातासम्म सकिनेमा आशावादी छौं ।’

सिडिएससीले भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणना गर्नका लागि भन्दै सफ्टवेयर प्रणाली विकास गरेर औँठाछापको युगलाई अन्त्य गर्ने उद्घोष गर्दै आएको छ । अहिले आन्तरिक रुपमा परीक्षण गरिरहेको गुप्ताको भनाइ छ ।

परीक्षणको क्रममा आफूहरुले देखेको, सोचेको समस्या नभएको खण्डमा आगामी साताबाट सफ्टवेयर सञ्चालनमा ल्याउने तयारी रहेको उनको तर्क छ । यो समयमा ल्याउने भन्ने चाँही समय तय भइनसकेको उनले बताए ।

मेरो सेयर सफ्टवेयरबाटै लाभकर गणना गर्न सक्ने गरी सीडीएससीले काम गरिरहेको र यसको टेस्टगर्दा समय लागेको बताइएको छ । गुप्ताले भने ‘हामीले ४ अर्ब डाटा इन्ट्री गर्नुपर्छ समय लागिहाल्छ नी, मनलाग्दी ल्याएर हुँदैन ।’

मेरो सेयर नामक सफ्टवेयर प्रयोगकर्ताले मात्रै प्रयोग गर्न पाँउछन् । सिडिएससीका अनुसार ५ लाखभन्दा बढीले मेरो सेयरको सफ्टवेयर प्रयोग गरिरहेका छन् ।

Publish on: