काठमाडौं । गत शुक्रबार मात्रै त्रिभुवन अन्तर्राष्टिय बिमानस्थल हुँदै नेपाल आएको चिनियाँ ह्याकरको टोलीले शनिबार दिउँसो आधा दर्जन बैंकको नक्कली भिसा कार्ड प्रयोग गरी करोडौं रुपैयाँ चोरी गर्यो ।
बैंकका कर्मचारीको सावधानी र सक्रियताका कारण प्रहरीले एक ह्याकरलाई शनिबार ४ बजेर ४० मिनेट जाँदा घटनास्थलमै, ४ जनालाई हात्तिसारस्थित माया मनोर बुटिक होटेलबाट भाग्ने क्रममा लिफ्टबाटै र अर्का एक जनालाई आइतबार राति एयरपोर्टबाट पक्राउ गर्यो ।
मायाँ मनोर होटेलमै बसेका बाँकी २ जना ह्याकर भने भाग्न सफल भएका छन् । उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गराई प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा २५ जना लुटेराहरु नेपाल आएको संकेत मिलेको प्रहरीले जनाएको छ ।
‘अनुसन्धानका क्रममा २५ जना ह्याकरहरु नेपाल आएको संकेत मिलेको छ, हामीले खोजीकार्य तीब्र बनाएका छौं,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले क्लिकमाण्डूसँग भने, ‘अरु ह्याकरहरुले एटीएम बुथसम्म पुगेर भिसा कार्ड प्रयोग गर्न नपाउँदै ५ जना पक्राउ परेपछि उनीहरु भागेको देखिन्छ ।’
प्रहरीका अनुसार बिमानस्थलबाट राति पक्राउ परेका ३६ वर्षिया ह्याक सु लुसली शनिबार राति नै भागेर केरुङ नाका पुगेका थिए । तर, उक्त नाकाको नेपालतर्फ कडा सुक्षा चेकिङ भएको देखेपछि त्यहाँबाट फर्किएर हवाइ मार्गबाट चीन जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल पुगेको प्रहरीले जनाएको छ ।
‘आइतबार राति पक्राउ परेका लुसली केरुङ नाकाबाट चीन जान केरुङ पुगेको तर त्यहाँबाट नाका कट्न सक्ने अवस्था नदेखेपछि फर्किएर त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल आइपुगेको अनुन्धानले देखाएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘बिमानस्थलमा प्रहरीले पक्राउ गर्दा आफूले त्यसअघि पक्राउ परिसकेका ह्याकरलाई नचिन्ने र सामान्य मानिस भएको बताएका थिए । उनले सबै विच्याट म्यासेजहरु डिलिट गरेका रहेका छन् ।’
शनिबार प्रहरीले चेन बिन बिन, झु लियाङ आङ, क्वियु युङक्विङ, लुओ जिआल्बी र लिन बिनमेङलाई पक्राउ गरेको थियो ।
उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, ९ हजार १ सय ८ अमेरिकी डलर, ५ हजार कम्बोडियाको मुद्रा र २ सय ५० यूरो बरामद भएको प्रहरीले जनाएको छ।
नेपाल र भारतबाट १७०० पटक कार्ड घोटेर ३ करोड ४५ लाख रुपैयाँ चोरी गरेका छन् । राष्ट्र बैंकले अध्ययन गर्न ५ सदस्यी कमिटि गठन गरेको छ भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार नेपालको बैंकिङ इतिहासमै यो हाइटेक चोरी प्रकरण हो
SHARE YOUR THOUGHTS