काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले बैंकहरुको फोर्स मर्जर हुन नसक्ने बताएका छन् । बैंकिङ समिटको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले भारतमा जस्तो फोर्स मर्जर नेपालमा सम्भव नभएको बताएका हुन् ।
भारतमा सरकारी मर्जरको फोर्स मर्जर गर्ने घोषणा गरिएको छ ।
भारतमा सरकारी लगानीका बैंकहरुलाई मर्ज गराएर संख्या घटाउन खोजिएको भन्दै अर्थमन्त्री खतिवडाले नेपालमा निजी क्षेत्रका बैंकहरुको संख्या बढी भएको भन्दै फोर्स मर्जर सम्भव नहुँने धारणा राखे ।
उनले ठूला बैंकहरु मर्जर हुन भनेर सरकारले चाहेको भन्दै प्रोत्साहनको नीति ल्याउने बताए । राष्ट्र बैंकका अधिकारीहरुले भने बैंकहरु प्रोत्साहन दिदा मर्जरमा नगए फोर्स मर्जरको बाटो समेत अपनाउन सकिने बताउदै आएका छन् ।
हालै मात्र विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा बैंकको संख्या १५ वटामा झार्न तथा चुक्ता पूँजी १६ अर्ब रुपैयाँ पुर्याउन सुझाव दिएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीति अगाडि नै मर्जरको विषयमा बैंकहरुको प्रतिबद्धता मागेको थियो । सो अनुसार बैंकहरुले मर्जरको लागि प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
अहिले केन्द्रीय बैंकले मर्जरको प्रगतीको विषयमा बैंकहरुसँग ताकेता गरिरहेको छ । राष्ट्र बैंकले ठूला बैंक मर्जरमा जान भनेपछि ग्लोबल आइएमई र जनता बैंकले मर्जरमा जाने निर्णय गरेका छन् । त्यसबाहेक अन्य बैंकको मर्जरको सामान्य मात्र कुरकानी भएको छ ।
SHARE YOUR THOUGHTS