धार्मिक कार्यमा कागजी नोटको प्रयोग बन्द गरिने, नोटको आयु घटेको भन्दै दशैंमा नयाँ नोट सटही बन्द हुने « Eglish Khabarhub

धार्मिक कार्यमा कागजी नोटको प्रयोग बन्द गरिने, नोटको आयु घटेको भन्दै दशैंमा नयाँ नोट सटही बन्द हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट विरणलाई बन्द गर्ने योजना बनाएको छ । अर्बौं खर्च गरेर छपाइएका नोटको आयु धार्मिक कार्यहरुले गर्दा छोटिने हुँदा दशैं जस्ता चार्डपर्वहरुमा आगामी वर्ष देखी नयाँ नोट वितरण बन्द गर्ने योजना राष्ट्र बैंकले बनाएको हो ।

यस्तै, धार्मिक कार्यक्रमहरुमा कागजी नोट प्रयोगमा राष्ट्र बैंकले रोक लगाउने भएको छ । वार्षिक अर्बौ रुपैयाँ खर्चगरी छपाइएका नोटहरु सबै भन्दा बढी धार्मिक तथा संस्कृति प्रयोजनमा बिग्रिने हुदाँ यो क्षेत्रमा धातु मुद्राको प्रयोग बढाइने भएको हो ।

नेपाल राष्ट्र बैंकले वर्षेनी ३ अर्ब रुपैयाँभन्दा बढीको नयाँ नोट छपाईमा खर्च गर्ने गरेको छ । ती नोटहरुको सुरक्षण नहुँदा विभिन्नदरका दैनिक ३ सय वन्डलभन्दा बढी नोट जलाइने गरिएको छ ।

यसरी राष्ट्रको ढुकुटीबाट अर्बौ रुपैयाँ खर्चगरी छपाइएका नोटहरु जलाउँदा मुलुकको अर्थतन्त्रमा नराम्रो असर पर्ने भनि राष्ट्र बैंकले आगमी दिनहरुमा दशैंका लागि नै भनेर नयाँ नोट वितरण बन्द गर्ने योजना बनाएको हो ।

नेपालमा मन्दिर, पुजाआजा, दक्षिण लगाए नोटमा रंग लगाउने पानीमा भिजाउने तथा केरमेट गरिने हुदाँ धातुका मुद्राहरुको प्रयोग बढाइन लागेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए ।

‘आगामी दिनमा धार्मिक कार्यहरुसँग सम्बन्धीत कार्यहरुबाट नोट नबिग्रियोस्,’ उनले भने ‘नेपालको प्रतिष्ठासँग नेपाली नोट जोडिएको छ, नोट सफा हुँदा सभ्य समाजको प्रतिकको रुपमा पनि विदेशीहरु माझ चिनिन्छ ।’

विदेशीहरु नेपाल आउँदा सबैभन्दा पहिला इमिग्रेसन र नेपाली नोट नै देख्ने हुँदा नोटले नेपालको सभ्यता विदेशी सामु झल्काउने निरौलाको भनाई छ ।

धार्मिक सभ्यतासँग नोटको सम्बन्ध जोडिएको हुनाले राष्ट्र बैंकले धार्मिक पञ्चाङ्ग निर्णायक समितिका व्यक्तिहरुसँग यस विषयमा छलफल समेत गरेको छ ।

समितिका व्यक्तिहरुहरुले सरकार तथा राष्ट्र बैंकले नियम बनाएर पनि प्रभावकारीरुपमा लागु गर्न नसकेको ठहर गरेका छन् । नोट राष्ट्रको पहिचान हो भने नोटको सुरक्षणमा राष्ट्र बैंक संवेदनशील हुनु पर्ने उनीहरुको भनाइ छ ।

हाल नेपालमा ५, १०, २०, ५०, १००, ५०० र १००० दरका नोटहरु राष्ट्र बैंकले चलन चल्तीमा ल्याएको छ । १ र २ रुपैयाँको दरमा धातुमुद्रा निष्कासन गर्ने गरेको छ । दरका नोटहरु राष्ट्र बैंकले विदेशमा छपाउने गर्दछ । नोट छपाउँदा १ हजारको नोटमा ३ रुपैयाँ ३७ पैसा र अन्य दरका नोटहरुमा २ रुपैयाँभन्दा बढी खर्च लाग्ने राष्ट्र बैंकले जनाएको छ ।

हाल राष्ट्र बैंकबाट ४ सय ९१ अर्ब रुपैयाँ बराबरको नोट बजारमा छ । बजारमा चलनचल्तीमा गएको छ ।

Publish on: