काठमाडौं । राजधानीका सडकमा इलेक्ट्रिक सवारी साधन सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले इलेक्ट्रिक कार पनि ल्याउने भएको छ ।
बिहीबार क्लिकमाण्डूसँग कुरा गर्दै कम्पनीका अध्यक्ष भेषबहादुर थापाले २५ वटा इलेक्ट्रिक कार ल्याउने तयारी गरिरहेको जानकारी दिए ।
उनले भने, ‘सुरुमा २५ वटा विद्युतीय बस ल्याउँछौं, त्यसपछि २५ वटा कार पनि ल्याउने योजना बनाएका छौं ।’
उनका अनुसार एक वर्षभित्रमा २५ वटा विद्युतीय बस कम्पनीले ल्याउनेछ । त्यसपछि २५ वटै कार ल्याइनेछ । ती कारको मूल्य तेलबाट चल्ने सवारीको तुलनामा निकै सस्तो पर्नेछ ।
उनका अनुसार एउटा कारको मूल्य १३ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म पर्ने आँकलन गरिएको छ ।
विद्युतीय बसको मूल्य भने प्रति बस १ करोड ६२ लाख रुपैयाँ पर्छ । थापाले सुरुमा थप २५ वटा विद्युतीय बस ल्याउनका लागि ४५ करोड रुपैयाँ खर्च लाग्ने बताए ।
उनले भने, ‘२५ वटा विद्युतीय बस ल्याउनका लागि ४५ करोड रुपैयाँ लाग्छ, यसका लागि ६ वटा बैंकबाट लोन लिएका छौं ।’
विद्युतीय बस ल्याउनका लागि बैंकबाट लोन ल्याउन निकै सकस भएको भन्दै थापाले यस विषयमा सरकारले ध्यान दिनुपर्ने बताए । थापाले सरकारले विद्युतीय सवारी साधानमा सहुलियतमा ऋण दिनुपर्ने समेत बताए ।
उनले भने, ‘विद्युतीय सवारी सञ्चालनका लागि सरकारले निजी कम्पनीलाई समेत सहुलियतमा ऋण दिएको खण्डमा हामीलाई सहज हुन्छ ।’
थापाले सरकारले चार्जिङ स्टेसनका लागि समेत सहज वातावरण बनाउनु पर्ने उल्लेख गर्दै छिटोभन्दा छिटो चार्जिङ स्टेसनका दररेट समेत तोकिदिन आग्रह गरे ।
उनले भने, ‘यसले विद्युतीय सवारी साधान सञ्चालन गर्न स्पष्ट मार्गनिर्देशन गर्छ ।’
सरकारले कुल सवारीमा २० प्रतिशत विद्युतीय सवारी पुर्याउने लक्ष्य लिएको छ । हाल सुन्दर यातायातले ४ वटा विद्युतीय बस राजधानीको चक्रपथमा सञ्चालन गरिरहेको छ ।
कम्पनीले आगामी दिनमा प्रदेश नम्बर १ र प्रदेश नम्बर ५ मा समेत थप हुने विद्युतीय बस सञ्चालन गर्ने योजना बनाएको छ । यसका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको कम्पनीले जानकारी दिएको छ ।
SHARE YOUR THOUGHTS