काठमाडौं । उपत्यका बाहिरबाट दशैका लागि काठमाडौं ल्याइएका निरोगी खसी-बोका, भेडा-च्याङ्ग्राको सिङ्मा हरियो रङ्ग लगाउन शुरु गरिएको छ ।
सोमबार महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको नेतृत्वमा कलंकी खसी बजार पुगेर रङ् लगाउन शुरु गरिएको हो । पर्वमा खाइने मासुजन्य परिकारलाई स्वस्थ्य बनाउन महानगरपालिकाले पशु स्वास्थ्य जाँच र बजार अनुगमनलाई एकैसाथ तीब्रता दिएको छ । यसै क्रममा कलंकीको चौपाया बिक्री केन्द्रको निरीक्षण पनि गरिएको हो ।
‘खाद्यबस्तुको उत्पादन, ढुवानी, भण्डारण र बिक्रीसम्मका सबै चरणमा खबरदारीको आवश्यक छ । मौसमी अनुगमनबाट बजार व्यवस्थापन गर्न झन जटिल भएको छ’
अनुगमनपछि खड्गीले भनिन् ।
सहरका बजारहरुमा ठाउँ-ठाउँमा सुधार गर्नु पर्ने, कति ठाउँमा नियमन गर्नु पर्ने अबस्था रहेको उनको भनाई छ । उनले भनिन् ‘अब सचेतना पनि बढाउने र कानून नमान्नेलाई कारवाहीको दायरामा पनि ल्याउने छौं ।’ बजार निरीक्षणका क्रममा चौपाया खरिद बिक्री सेवा संघ र काठमाडौं चौपाया खरिद बिक्री कम्पनीका अधिकारीसँग पशु उत्पादन हुने क्षेत्र, ढुवानी गर्ने बिधि, ढुवानीकर्ताका दुःख-सुख, विक्री व्यवस्थापक र उपभोक्ताका सवालमा छलफल गरिएको थियो ।
‘काठमाडौंमा कुनै रोगी खसी बोका, भेडा च्याङ्ग्रा आउँछ भन्ने हामीलाई लाग्दैन, पशु सेवा बिभागका महानिर्देशक डा. बंशी शर्माले भने ‘रोगी भेटिए ढुवानी हुनु अघि नै रोकिने छन् ।’
पशु ढुवानी गर्ने क्रममा बिरामी नदेखिएका तर बाटोमा आउँदा बिरामी परेका चौपायाको स्वास्थ्य अवस्था के हो भनेर काठमाडौंमा स्वास्थ्य परीक्षण गरिने उनको भनाई छ ।
कलंकीमा १३२ जना व्यापारी छन् । बिगत बर्षहरुमा काठमाडौंमा ६५ हजार चौपाया ल्याउने गरेको थियो भने कलंकीमा करीब ४० हजार आउँने गरेका थिए ।
चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष दीपक थापाका अनुसार ६५ हजार चौपाया आएमा कलंकीमा २५ हजार मात्र छिर्छन् भने बाँकी बीचबाटोबाटै सहर पस्छन् । यसले खसीबोका जाँच कलंकीमा गरेर मात्र नपुग्ने उनको भनाई छ । ‘पसल पसलमा पुग्ने चौपायाको पनि कुरा गर्नुपर्छ’ उनले भने ।
यता खरिद बिक्री कम्पनीका अध्यक्ष जनककुमार खड्काका अनुसार चौपायाको एकीकृत बजार बनाउन आवश्यक रहेको छ । यसले गर्दा राम्रा र नराम्रा छुट््याउन सजिलो हुनेछ, जवाफदेहिता पनि बढ्नेछ । ‘अहिले केही समस्या देखियो भने कसलाई समाउने ? एउटाले मात्र काम गर्दैन । एक ठाउँबाट मात्र पनि काम हुँदैन’ उनले भने ।
महानगरले पशु सेवा बिभागसँग समन्वय गरेर अब स्वस्थ्य चौपायाको सिङ्मा हरियो र खान प्रयोग गर्न नमिल्ने खसीको सिङ्मा रातो रङ् लगाउनेछ । महानगरको कृषि तथा पशुसेवा बिभागका प्रमुख हरिबहादुर भण्डारी भने ‘यस पटक कलंकी, टुकुचा र गोङ्गबु बाइपाससहित ३ ठाउँमा खसी बजार लाग्नेछ । यहाँ आउने खसी बोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बिक्री प्रबन्ध मिलाइनेछ ।’
SHARE YOUR THOUGHTS