सेयर बजार घटेपछि ब्रोकरको आम्दानी घट्यो, कुन ब्रोकरले कति कमाए ? (सूचिसहित) « Eglish Khabarhub

सेयर बजार घटेपछि ब्रोकरको आम्दानी घट्यो, कुन ब्रोकरले कति कमाए ? (सूचिसहित)



काठमाडौं । सेयर बजारमा आएको गिरावटको प्रत्यक्ष असर ब्रोकर कम्पनीमा पनि परेको छ । सेयर कारोबार घटेसँगै गत वर्ष ४ वटा ब्रोकर कम्पनीको नाफामा गिरावट आएको छ ।

क्लिकमाण्डूलाई प्राप्त २१ वटा ब्रोकर कम्पनीको विवरण अनुसार ४ वटा कम्पनी घाटामा गएका छन् । २१ वटा कम्पनीमा अघिल्लो वर्ष २ वटा कम्पनी घाटामा रहेका थिए । अहिले २ वटा कम्पनी थपिएका छन् ।

नेप्सेका अनुसार नेपाल इन्भेष्टमेन्ट कम्पनी, अक्सफोर्ड सेक्युरिटिज, स्वर्णलक्ष्मी सेक्युरिटिज, मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ नोक्सानमा रहेका छन् । यस्तै सगरमाथा सेक्युरिटिज, जेएफ सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ, थ्राइभ ब्रोकरेज हाउस, कुमारी सेक्युरिटिज लगायतका ब्रोकर कम्पनीको नाफामा गिरावट आएको छ ।

नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले ओभरअल भोलुम कम भएका कारण नाफामा गिरावट आएको बताए ।

‘हाम्रो ब्रोकर कमिशन कम भएर नाफा घटेको हो, अहिले हाम्रो कमिशन मात्रै हैन, कारोबार भोलुम पनि कम नै छ, कमिशन घटेर भोलुम बढेको भए हुने, अहिले भोलुम बढ्न सकेन, हाम्रो आम्दानीको स्रोत नै त्यही हो,’ उनले भने ।

यो व्यापार भएकाले सँधै नाफा नै नाफाभन्दा पनि कुनै समयमा नाफा कुनै समयमा घाटा हुने भएकोले ब्रोकरले पनि त्यही अनुसार लिएको अध्यक्ष रानाभाटको भनाई छ ।

ब्रोकरहरुको कार्यालय खर्च बढ्ने तर कारोबार भोलुममा आएको गिरावटले असर पारेको उनको भनाई छ । सेयर लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको सेयर किनबेचमा कारोबार रकमको ०.६ प्रतिशत कमिसन तिर्नुपर्छ । ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको किनबेचमा ०.५५ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.५० प्रतिशत र २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत र सो भन्दा माथिको कारोबारमा ०.४० प्रतिशत कमिसन तिर्नुपर्छ ।

२०७३ साउनमा धितोपत्र बोर्डले ४० प्रतिशत ब्रोकर कमिसन घटाएको थियो । प्राप्त कमिसनबाट २० प्रतिशत नेप्सेलाई बुझाउनु पर्छ भने धितोपत्र बोर्डलाई ०.६ प्रतिशत बुझाउनु पर्छ । यस्तै सरकारलाई ब्रोकर कम्पनीले नाफाको ३० प्रतिशत कर तिर्नुपर्दछ ।

सेयर कारोबार आएको गिरावटले सेयर लगानीकर्ता, ब्रोकर कम्पनीको नाफामा गिरावट आउनुको साथै सरकारलाई पनि नोक्सान रहेको छ । कारोबार घट्दा सरकारले पाउने पुँजीगत लाभकर पनि घट्ने छ । सरकारले संस्थागत लगानीकर्ताबाट १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताबाट ५ प्रतिशत पुँजीगत लाभकर लिँदै आएको छ । 

Publish on: