अर्थसमितिका सभापति दाहाललाई इन्साइडर ट्रेडिङकै चिन्ता, लगानीकर्ता र सभापतिबीच यस्तो रह्यो प्रश्नोत्तर « Eglish Khabarhub

अर्थसमितिका सभापति दाहाललाई इन्साइडर ट्रेडिङकै चिन्ता, लगानीकर्ता र सभापतिबीच यस्तो रह्यो प्रश्नोत्तर



काठमाडौं । मंगलबार पुँजी बजार र मुद्रा बजारको अध्ययनका लागि गठित उपसमितिले सरोकारवालासँग छलफल गरेको छ ।

छलफलका क्रममा अर्थ सिमितिका सभापति कृष्णप्रसाद दाहालले इन्साइडर टे«डिङमा किनै चिन्ता जनाए ।

छलफलका क्रममा पुँजी बजार र मुद्रा बजारको विषयमा छलफल हुने भनिए पनि छलफल सेयर बजारको विषयमा केन्द्रित भएको थियो । त्यतीमात्रै नभएर डेढ घन्टाभन्दा बढी भएको छलफलमा बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयमा केन्द्रित भएको थियो ।

मंगलबार नै उपसमितिले सेयर लगानीकर्ता र नेपाल ब्रोकर एसोसिएसनका अधिकारीहरुसँग छलफल गरेको हो ।

उक्त छलफलमा धितोपत्र दलाल व्यवसायीसँग भन्दा लगानीकर्तासँग बढी छलफल भएको छ । छलफलका क्रममा अर्थसमितिका सभापति दाहाल र लगानीकर्ताबीच प्रश्नोत्तर नै भएको थियो ।

समितिका सभापति दाहालः बैंकलाई ब्रोकर लाइसेन्स दिँदा के फाइदा हुन्छ, नदिँदा के घाटा हुन्छ ?

लगानीकर्ताः अहिलेको अवस्थामा बैंकका सहायक कम्पनीलाई ब्रोकरको काम गर्न दिँदा कुनै पनि असर पर्दैन । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिँदा २७ सय शाखाबाट सेयर कारोबार हुन्छ । त्यसले बजारको विकास, विस्तार हुन्छ । यो भनेको बजारको हितका लागि हो ।

सभापति दाहालः बैंकलाई ब्रोकरको काम गर्न दिँदा इन्साइडरको खतरा हुन्छ भन्ने चर्चा गरेका छन् त्यो के हो खासमा ?
लगानीकर्ताः बैंकका सहायक कम्पनीलाई ब्रोकरको काम गर्न दिँदा इन्साइडर टे«डिङ कुनै हालतमा हुँदैन । इन्साइडर हुने हो भने अहिले पनि हुन्छ । इन्साइडर होला भनेर डराएर हुँदैन । यसका लागि ऐन कानून प्रभावकारी हुन आवश्यक छ । कानून कडा हुने हो, कार्यान्वयन प्रभावकारी भयो भने त्यसमा कुनै समस्या पर्दैन ।

सभापति दाहालः सबै काम किन बैंकलाई दिनु, बैंकले रेमिट्यान्सको काम, निक्षेप संकलन गर्ने काम, ऋण दिने काम गरिरहेका छन्, अब फेरि किन व्यापार गर्न दिने ?
लगानीकर्ताः बैंकलाई लाइसेन्स दिँदा धेरै ठाँउबाट कारोबार हुने, बजारमा सेयरको माग बढ्ने, दूर दराजमा भएका मानिसले कारोबार गर्न पाउँछन् । यसको दायरा बढ्दै जान्छ । देशभरमा बजारको विकास गर्नका लागि आवश्यक छ । अहिले बजारमा धेरै सेयर सप्लाइ भएको छ । जसले गर्दा पनि इन्साइडरको सम्भावना न्यून हुन्छ ।

उक्त छलफलमा लगानीकर्ताहरुले सेयर बजारमा रातारात समस्या निस्कने र समाधानका लागि वर्षौ लाग्ने अवस्था रहेको जानकारी गराए । छलफलमा लगानीकर्ताले भारित औषतले निम्त्याएका समस्या, बोर्डमा अध्यक्ष पद रिक्त, अनलाइनको समस्याका विषयमा जानकारी गराएको बताइएको छ ।

छलफलमा लगानीकर्ताहरुले बजारमा रहेको राम्रा लगानीकर्ताहरुले आन्दोलनमा लाग्छु, अनसनमा बस्छु भनेर भन्नु गलत भएको सदस्यहरुले बताए ।

समितिले सोही दिन ब्रोकरसँग पनि छलफल गरेको छ ।

मंगलबार धितोपत्र दलाल व्यवसायीहरुले पनि उपसमितिसँग छलफल गरेका छन् । छलफलमा सहभागी एक सदस्यका अनुसार बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने भन्दा पनि समग्र पुँजी बजार र मुद्रा बजारको विषयमा छलफल भएको बताए ।

एसोसिएसनले समितिलाई लिखित रुपमा कुनै सुझाव नदिएपनि मौखिक रुपमा धेरै कुरा भएको उनको भनाइ छ । छलफलका क्रममा ब्रोकरहरुलाई उपत्यका बाहिर जानको लागि बाटो सजिलो बनाउने व्यवस्था मिलाउन पनि समितिलाई आग्रह गरेको एक ब्रोकरले बताए ।

‘त्यसो भएको खण्डमा बजारको विकास हुने छ, त्यसैले हामीले यस्तो सुझाव दिएका हौं,’ उनले भने ।

दलाल व्यवसायीहरुले बजारको विकासको लागि आवश्यक नीति नियममा पनि सुधार आवश्यक देखिएको उपसमितिलाई जानकारी गराएको बताइएको छ ।

संघीय संसद अन्तर्गतको अर्थसमितिले गठन गरेको पुँजी बजार र मुद्रा बजार अध्ययन उपसमितिकी संयोजक झाँक्रीको संयोजकत्वमा समिति गठन गरेको थियो । मंगलबार समितिले नेपाल इन्भेष्टर फोरम, सेयर लगानीकर्ता संघ र नेपाल पुँजी बजार लगानीकर्ता संघका साथै ब्रोकरसँग छलफल गरेको हो ।

उपसमितिले केही समयमा बैंकर्सहरुसँग पनि यस विषयमा छलफल गर्ने र रिपोर्ट ल्याउने बताइएको छ ।

Publish on: