उपत्यकाका पाइप र ढलले मेलम्चीको पानी थेग्न सक्दैननः सभापति खड्का « Eglish Khabarhub

उपत्यकाका पाइप र ढलले मेलम्चीको पानी थेग्न सक्दैननः सभापति खड्का



काठमाडौं । उपत्यकामा खानेपानी तथा ढलको व्यवस्थापन कमजोर हुँदा यसले मेलम्चीको पानी थेग्न नसक्ने विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले बताएकी छन् ।

‘अहिले उपत्यकाका जनता धुलो, धुँवा, हिलोबाट निकै आतंकित भएका छन् । अहिले सडक निर्माण हुने र ढल खन्ने काममा तालमेल मिलेको छैन । उपत्यकाका पाइप निकै पुराना छन् । पानी पनि चुहिने समस्या छ । उपत्यकामा पानी आएपछि सडकमा पानी बगेर मान्छेलाई डुबाउने हो की भन्ने चिन्ता पनि छ,’ उनले भनिन् ।

उनले मेलम्ची काठमाडौंमा आएपछि मान्छे डुबाउने हो की भन्ने डर बढेको बताएकी छिन् ।

सोमबार विकास तथा प्रविधि समितिको बैठकमा मेलम्ची आयोजनाले आगामी असारसम्ममा सुन्दरिजलमा पानी झर्ने जनाएको छ । तर समितिका सभापति खड्काले उक्त पानी उपत्यकामा आएपछि उक्त पानीले उपत्यकाका मान्छे डुबाउने हो की भन्ने चिन्ता बढेको बताइन ।

पहिला वर्षातको पानीले हिलो बनाउने, अहिले मुहान नै ल्याएर हाल्दा बगाउने हुन सक्ने उनको तर्क छ ।

सभापति खड्काले मेलम्चीको पानी असार मसान्तसम्म सुन्दरीजलमा आउने भनिएको छ । उनले अहिले पानी वितरणमा पनि निकै चुनौती रहेको बताइन ।

‘त्यो पानी त्यहाँ मात्रै आएर पुग्दैन, काठमाडौंमा आउनु पर्छ, सुन्दरीजलमा आएर बाग्मतीमा बग्नको लागि पानी ल्याउनुको कुनै अर्थ छैन,’ उनले भनिन् ।

सभापति खड्काले मेलम्चीको पानी उपत्यकामा ल्याउँदा त्यहाँका स्थानीयको समस्या पनि समाधान हुन आवश्यक रहेको उनले बताइन ।

‘स्थानीयको उठिबास लगाएर यहाँ पानी ल्याउनुको अर्थ छैन, उक्त आयोजना समयमा नै बन्नको लागि स्थानीय जनप्रतिनिधिसँग पनि सहकार्य आवश्यक छ,’ सभापति खड्काले भनिन् ।
बैठकमा सांसद तथा पूर्व कानून मन्त्री शेरबहादुर तामाङले मेलम्चीका जनता त्यहाँको पानी काठमाडौंलाई अन्माउने तयारीमा रहेको बताए ।

बैठकमा तामाङले आयोजना समयमा नै सम्पन्न गर्नको लागि स्थानीयको समस्या समाधा नै समाधान गर्नुपर्ने, भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने, स्थानीयको लागि पानीको सुविधा हुने पर्ने बताए ।

उनले लामिडाँडा–मेलम्ची सडक निर्माणको लागि एडिबीले लगानी गरेको र उक्त सडक समयमा नै निर्माण नहुने अवस्थामा पुगेको जानकारी दिए । १ वर्षमा निर्माण सक्ने भनेर ९६ करोडमा निर्माण कार्य सुरु भएको आयोजनाको समय १ वर्ष थपिएको र थपिएको समयमा पनि आयोजना निर्माण नहुने अवस्थामा रहेको बताए ।

‘थपिएको समयमा पनि जम्मा ६५ प्रतिशत काम सकिएको छ । एडिबीको समय भोलि सकिँदै छ । अब एडिबीले समय थप्ने सम्भावना न्यून छ । समय थपेको खण्डमा ६ महिनामा काम सकिन्छ । समय नथपेमा ३०÷३५ करोड रुपैयाँ थप्नुपर्ने हुन्छ, त्यो पैसा आन्तरिक कोषबाट व्यवस्था मिलाउनुपर्छ । त्यसको लागि अर्थ मन्त्रालयले सहयोग गर्नुपर्छ,’ उनले भने ।

उनले ७२ वटा आयोजनाको डिपीआर तयार पार्न ३२ करोड माग भएको जनाए । उनले आयोजनाको २५ प्रतिशत रोयल्टी स्थानीयलाई दिने भनेको र त्यसमा सरोकारवाला निकाय सिरियस नभएको बताए । आयोजना देखि स्थानीयको समस्या समाधान भएको खण्डमा असारमा सुन्दरिजलमा पानी आइपुग्ने बताए ।

समितिको बैठकमा सांसद गणेश पहाडीले असारमा पानी आउँछ भनेर गफ नगर्न आग्रह गरे । लामो समयदेखि मेलम्ची आउने भनेर चर्चा मात्रै हुने गरेको तर अहिलेसम्म त्यो बसै गफमात्रै भएकोले अब गफ भन्दा पनि काम गर्न आग्रह गरे ।

यसअघि पनि खानेपानी मन्त्रालयले गत वर्षमा नै आउने भनेपनि अहिलेसम्म नआएकाले अब गफभन्दा काम गर्न आवश्यक रहेको भनाइ छ । पछिल्लो ३ महिनामा हेडबक्सको २० प्रतिशत काम सकिएको र यसैगरी काम भएको खण्डमा असारसम्ममा पानी सुन्दरीजलमा आउने बताए । ठेकेदार कम्पनीलाई पनि समयमा नै सकेको खण्डमा बोनस दिने र नसकेको खण्डमा जरिवाना तिराउने भनेपछि समयमा नै काम सकिने आशा रहेको तर्क गरे ।

उनले स्थानीयले उठाएको समस्या समाधान नभएको खण्डमा आयोजना निर्माणमा अन्योलता सिर्जना हुने तर्क गरे ।

बैठकमा सांसद टोपबहादुर रायमाझीले अहिले उपत्यकाबासी धुलो धुँवाबाट आक्रान्त भएकाले आयोजनाको पाइप गाड्ने र ढल खन्ने काममा समन्वय हुन आवश्यक रहेको बताए । उनले यो आयोजना सम्पन्न गर्न अन्तरमन्त्रालय समन्वय आवश्यक रहेको बताए ।

पानी ल्याउँदा बाग्मतीको फोहोर सफा गर्ने गरी ल्याउन नहुने उनको भनाइ छ । उपत्यकाका विभिन्न ठाँउको पाइपमा चुहावट रहेको भन्दै त्यो समस्या समयमा नै समाधान गर्न आग्रह गरे ।

Publish on: