केही दिन अगाडि पूर्व अर्थसचिव रामेश्वर खनालले नेकपाले योग्य व्यक्तिलाई मन्त्री नबनाएर २० महिना खेर पालेको भनेर लेखे ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको बारेमा सामाजिक संजाल ट्वीटरमा खनालले लेखेका थिए,‘ भौतिक योजना तथा पूर्वाधार मन्त्री बनाउन यस्तो योग्य राजनीतिज्ञ पार्टीभित्र हुँदाहुँदै, सरकारले शुरुवाती २० महिना खेरा फालेछ। द्रष्टव्यस् यो टिप्पणी हाल सड़क सुधारमा भएको कामको बाह्य अवलोकनमा आधारित! ’
पूर्व अर्थसचिव खनालले भनेजस्तो भौतिक योजना तथा पूर्वाधारमन्त्री नेम्वाङले देखिने गरेर सुधारको प्रयास थालेका छन् । केपी शर्मा नेतृत्वको सरकार दुईवर्ष अगाडि गठन भएपछि सबैभन्दा बढी विवादित भएको मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय थियो । प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाएका रघुबिर महासेठको २० महिनाको कार्यकाल विवादमा नै सकिएको थियो ।
कर्मचारीको सरुवादेखि विकास निर्माणका आयोजनामा महासेठ यती विवादित भएका थिए कि उनी मन्त्रीबाट हटेपछि उनको निर्वाचन क्षेत्रमा स्थानीयले दिपावली नै समेत गरेका थिए ।
विकास निर्माणमा सबैभन्दा ठूलो बजेट हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सरकारले जनतालाई विकासको महशुस गराउने मन्त्रालय हो । निवर्तमान भौतिक पूर्वाधारमन्त्री महासेठले समयमा निर्माण आयोजना पुरा नगर्ने आयोजनालाई लम्बाउने ठेकेदारको पक्षमा लबिङ नै गरेका थिए ।
भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको प्रमुख समस्या नै समयमा सडक तथा पुलको निर्माण काम नसकिनु हो । आर्थिक विकासमा पहिलो खुट्किलो नै सडकको विकासबाट हुन्छ । जुन हाम्रो जस्तो पूर्वाधार विकासको लागि पछाडि परेको देशमा निकै नै महत्वपूर्ण हुन्छ ।
सार्वजनिक नीति निर्माणमा चासो लिने अर्को पूर्वअर्थसचिव शान्तराज सुवेदीले पनि सामाजिक संजाल ट्वीटर मार्फत लेखे,‘अहिलेका भौतिक पूर्वाधार मन्त्रीको कार्य जिम्मेवारी प्रतिको चासो, खटाई एवं सक्रियता हेर्दा केही गर्लान जस्तो छ। यसैगरी अगाडी बढेमा सबै तिरबाट साथ सहयोग पाईने छ। शुभकामना ’
मन्त्रालयका कर्मचारीहरुका अनुसार प्रारम्भिक काममा जसरी भौतिक पूर्वाधारमन्त्री नेम्वाङले काम गर्दै छन् त्यसलाई निरन्तरता दिएमा हाम्रा अधुरा आयोजनाहरु पुरा हुने र जनताले विकासको महुशस गर्न सक्ने छन् ।
‘विगतको भन्दा यो पटक मन्त्रीले फरक तरिकाबाट काम गरेको देखिएको छ,त्यो कर्मचारीको सरुवामा होस् या आयोजनाको अगाडि बढाउने काममा किन नहोस्,’मन्त्रालयक एक कर्मचारीले भने ।
विवादित भएपनि शक्तिकेन्द्रलाई रिझाउने क्षमता भएका रघुबिर महासेठ हट्लान भन्ने धेरैलाई विश्वास नै थिएन । हटेपनि सो मन्त्रालयमा नेकपाभित्रमा हेबिवेटले चान्स पाउने सम्भावना थियो । अघिल्लोदिनसम्म भक्तपुरबाट निर्वाचित नेकपाका युवानेता महेश बस्नेत नै भौतिक योजनामन्त्री बनेको चर्चा समेत चलेको थियो ।
एक सय दिनको हनिमुन नसक्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयमा उनले प्रारम्भिक रुपमा केही राम्रा कामको संकेत गरेका छन् । चुनौती भने मन्त्री नेम्वाङलाई नभएको भने होइन । पार्टी अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदा अधिकारीदेखि काम नगर्ने शक्तिशाली ठेकेदारहरुलाई नियमन गर्नु नै उनको चुनौती हो ।
२०४८ सालमा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा चुनिएका नेम्वाङ तत्कालिन एमालेमा अवसर नपाउने नेतामा पर्छन् । ओली सरकारले गत मंसिरमा मन्त्रीपरिषद् हेरफेर गर्दा पहिलो पटक मन्त्री बनेका हुन् । यो पटक पनि उनी मन्त्री बन्नेमा धेरैको आशंका थियो ।
२०५६ को संसदीय निर्वाचनमा जितेका उनले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पाँचथरबाट नै चुनाव जितेका हुन् । पार्टीमा लो प्रोफाइल बसेर काम गरेका नेम्वाङ प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि सारेको ‘सुखी नेपाली सम्बृद्ध नेपाल’ अभियानका प्रमुख खम्बा हुन् । यो वर्ष भौतिकको बजेट १ खर्ब ५६ अर्ब रुपैयाँको बजेट छ । सरकारले हासिल गर्ने आर्थिक बृद्धिदर तथा विकास गतिमा भौतिक पूर्वाधार मन्त्रालयमा भूमिका सबैभन्दा बढी नै हुन्छ । यसमा नेम्वाङले प्रारम्भिक रुपमा देखाएको सक्रियता सफल भएमा पूर्वाधारको जटिलता हटाउन उनी सफल हुनेछन् ।
SHARE YOUR THOUGHTS