नम्बर वानको बिरासत जोगाउन इन्भेष्टमेन्ट बैंक बिग मर्जरमा जाने, छिट्टै खबर सुनाउँछौं: सीइओ पाण्डे « Eglish Khabarhub

नम्बर वानको बिरासत जोगाउन इन्भेष्टमेन्ट बैंक बिग मर्जरमा जाने, छिट्टै खबर सुनाउँछौं: सीइओ पाण्डे



कठमाडौं । लामो समयसम्म नम्बर वान बैंकको फाइट नेपाल इन्भेष्टमेन्ट बैंक र नविल बैंकको मात्रै हुन्थ्यो । कुनै सूचकमा नविल बैंक फस्ट हुन्थ्यो त कुनै सूचकमा इन्भेष्टमेन्ट बैंक ।

कसैले असल बैंकको उदाहारण दिनुपर्यो भने नविल, इन्भेष्टमेन्टकै दिन्थे ।

तर, अहिले अवस्था फेरिएको छ ।

बिग मर्जर (वाणिज्य बैंकबीचकको मर्जर)सँगै आक्रमक बजार विस्तार गरेर विभिन्न सूचकहरुमा एनआइसी एशिया नम्बर वान बनेको छ भने बिग मर्जर गरेर ग्लोबल आइएमइ बैंक पनि विभिन्न सूचकमा पहिलो नम्बरमा उक्लिएको छ ।

अन्य बैंकहरुले पनि मर्जरको तयारीमा छन् । जसले लामो समयदेखि पहिलो नम्बरको विरासत बोकेका नविल र इन्भेष्टमेन्ट बैंकको आफ्नो बिराधरी जोगाउन हम्मेहम्मे परेको छ ।

केही वर्षयता नाफा लगायतका हिसाबले नविल बैंक लगातार पहिलो नम्बरमा छ भने इन्भेष्टमेन्ट बैंकको परम्पराबादी बैंकिङ र केही कर्जा बिग्रिएका कारण केही पछि परेको छ ।

तर, यी बैंकले कुनै एउटा ठूलो वाणिज्य बैंक मर्ज गर्ने हो भने आगामी ५/१० वर्ष अर्को बैंकले नम्बर वानको बिरासत खोस्न सक्दैन । इन्भेष्टमेन्ट र नविल बैंकले अहिले त्यही रणनीति बनाइरहेका छन् ।

काउन्टर ग्यारेन्टीमा फसेको २ अर्ब उठेपछि इन्भेष्टमेन्ट बैंकका सीइओको खुसी- ठूलो खड्गो टर्यो

‘हामी ठूलो बैंक पहिला पनि थियौं । र, अहिले पनि छौं,’ इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डेले क्लिकमाण्डूसँग भने, ‘तर, आगामी दिनमा पनि नम्बर वान रहिरहनका लागि मर्जर र थप आक्रमक व्यवसाय विस्तार गर्नै पर्ने भएको छ । हामीले मर्जरको गृहकार्य गरिरहेका छौं ।’

इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुन इच्छा देखाउँदै ३/४ वटा बैंकले प्रस्ताव गरेको पाण्डेले सुनाए ।

‘हामीले ओके भन्ने वित्तकै मर्ज भइहाल्ने अवस्था पनि छ, तर हामीले तुलनात्मक लाभ मिल्ने संस्था हेर्नुपर्छ,’ उनले भने, ‘हामीले मर्जरमा गृहकार्य गरिरहेका छौं, सबैचिज मिल्यो भने छिट्टै केही होला । मर्जर हुने भयो भने चाँडै नै तपाईंहरुले खबर सुन्न पाउनु हुनेछ ।’

अब बैंकहरु लागत घटाउनमा केन्द्रित हुनेपर्ने अवस्था आएको र लागत घटाउने एउटा उपयुक्त बिकल्प मर्जर भएको उनको भनाइ छ ।

‘राज्यले पनि मर्जरलाई प्रोत्साहन गरेको छ, बैंकरलाई लागत घटाउनुपर्ने चुनौति छ, लागत घटाउने उपयुक्त विकल्प मर्जर हो,’ उनले भने, ‘इन्भेष्टमेन्ट बैंककै कुरा गर्नुहुन्छ भने वार्षिक २४ करोड भाडा दिर्छौं, १२ करोर सेक्युरिटी गार्डमा खर्च छ, आइटी सेक्युरिटीमा पनि करोडौं खर्च छ, मर्जरमा जाने हो भने यी खर्चमा केही कम गर्न सकिन्छ ।’

हिमालयन बैंकसँगको मर्जरको हल्ला अहिलेसम्म हल्लामात्रै भएको उनले बताए ।

‘हिमालयन बैंकसँग धेरै पहिला कुरा भएको हो, अहिले त थप ३/४ वटा बैंकसँग हाम्रो सञ्चालक समितिले, अध्यक्षले कुरा गरिरहनु भएको छ,’ उनले भने, ‘व्यवस्थापनको तर्फबाट मैले कुन बैंकसँग मर्ज गर्दा के हुन्छ भनेर ब्रिफिङ पनि गरिसकेको छु । सञ्चालक समितिलाई जुन उपयुक्त लाग्छ, त्योसँग मर्ज हुनसक्छ ।’

पूराना र नयाँ बैंक दुबैसँग कुराकानी भइरहेको उनले जानकारी दिए ।

‘कुरा मिल्यो भने त २/३ महिनामै प्रक्रिया धेरै अघि बढ्छ,’ उनले भने, ‘हाम्रो निष्कर्श के हो भने अब स-सानो संस्था लिएर हुँदैन, सकेसम्म वाणिज्य बैंकसँगै गर्ने भन्ने हो ।’

इन्भेष्टमेन्ट बैंकले राष्ट्र बैंकले मर्जरको नीति ल्याउनुभन्दा अघिदेखि नै मर्जरको कुराकानी गरेको पनि पाण्डेले सुनाए ।

‘राष्ट्र बैंकले मर्जरको नीति ल्याउनुभन्दा अगाडि नै हामीले एभरेष्ट बैंकसँग मर्जरको कुराकानी गरेका थियौं, तर सफल भएन,’ उनले भने, ‘तर अहिले हामी पनि बढी सिरियस छौं ।’

इन्भेष्टमेन्ट बैंकले कुनै वाणिज्य बैंकलाई मर्ज गर्यो भने अझै ८/१० वर्ष नम्बरवानको बिरासत कसैले तोड्न नसक्ने उनको भनाइ थियो ।

‘अहिले पनि हाम्रो कोरा क्यापिटल २३/२४ अर्ब रुपैयाँ छ, अर्को वाणिज्य बैंक लिने हो भने कम्तिमा पनि ३४/३५ अर्ब कोर क्यापिटल हुन्छ, शाखा सञ्जाल पनि देशभर हुन्छ, तेस्पछि त ८/१० वर्ष हामीलाई अरुले भेट्दैनन्,’ पाण्डेले प्रष्ट पारे ।

Publish on: