काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर सीमित कर्मचारीबाट आलोपालो प्रणालीमा सेवा प्रवाह गर्न निर्देशन दिएको छ । निषेधाज्ञा अवधिभर न्यूनतम बैंकिङ सेवा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
सरकारले बुधबार रातिदेखि भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरेको हो । यसअवधिमा अत्यावश्यक सेवाबाहेकका सबै व्यापार व्यवसाय बन्द गर्र्न सरकारले निर्णय गरिसकेको छ ।
निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई विशेष पास नचाहिने समेत सरकारले स्पष्ट पारेको छ । अब बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीले कार्यालयले उपलब्ध गराएको फोटोसहितको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् ।
राष्ट्र बैंकले सरकारले निषेधाज्ञा गरेको समयमा बैंक तथा वित्तीय संस्थाले कसरी काम गर्ने भन्ने बारेमा सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
राष्ट्र बैंकले सूचना जारी गर्दै यो अवधिमा स्वास्थ्यको मापदण्ड पुरा गरेर काम गर्न भनेको छ । कोरोनाको असर बढ्दै गएको भन्दै विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता प्रदान गरी आफ्नो ग्राहकलाई सम्भव भएसँगै विद्युतीय माध्यमबाट कारोबार गर्न भनेको हो ।
यस्तै एटीएम मेसिनमा पर्याप्त नगद राख्ने र त्यसको निगरानी गर्न पनि भनेको छ ।
कोरोनाको संक्रमण बढदै गएको भन्दै अत्यावश्यक वस्तुको आपुर्ति सुनिश्चित गर्न ड्राफ्ट, टिटी, प्रतीतपत्र, ग्यारेन्टी जस्ता कारोबार सञ्चालन हुने व्यवस्था मिलाउन पनि भनेको छ ।
सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो मिलाई न्यूनतम कर्मचारीबाट न्यूनतम संख्यामा शाखा खोली आधारभूत बैंकिङ कारोबार (नगद भुक्तानी/जम्मा, बैंक ट्रान्सफर, चेक क्लियरिङ आदी) सुचारु गर्ने व्यवस्था मिलाउन भनेको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था खुल्ने शाखाहरुको विवरण तथा सम्पर्क व्यक्तिको फोन नम्बर आफ्नो वेवसाइटमा अद्यावधिक गर्नु र बन्द रहने शाखाको मूल ढोकामा सर्वसाधारणले देख्ने गरी खुल्ने वैकल्पिक शाखाको विवरण टाँस्न निर्देशन दिएको छ ।
SHARE YOUR THOUGHTS