काठमाडौं । निजी क्षेत्रका दुई ठूला र पुराना बैंक हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक आपसमा मर्ज भई नेपालकै सबैभन्दा ठूलो बैंक बन्ने अन्तिम तयारीमा जुटेका छन् ।
बैंकिङ क्षेत्रमा देखिएको तीब्र प्रतिस्पर्धाको सामना गर्न र राष्ट्र बैंकको दबाबपछि यसपटक भने यी दुई बैंक आपसमा मर्ज हुनेगरी तयारी गरिरहेको स्रोतको दाबी छ ।
यी दुई बैंकबीच मर्जरका धेरैपटक वार्ता र सम्वाद भएका थिए । तर खासगरी सेयर नियन्त्रण गर्न सक्ने र पारिवारिक सम्बन्धसमेत गाँसिएका निर्णायक सेयरधनीहरुको टकरावका कारण यसअघिका सम्पूर्ण प्रयासहरु निरर्थक भएका थिए ।
तर यसपटक भने मर्जको गम्भीर वार्ता र लिखित प्रतिवद्धता आदान-प्रदान भई काम अघि बढेको दुबै बैंकका उच्च अधिकारीहरुले पुष्टि गरे ।
‘यसअघि हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्ज गरौं भन्ने तरिकाले मौखिक कुराकानी मात्रै भएको थियो, तर यो पटक भने लिखितरुपमा मर्जरको प्रक्रिया अघि बढाइएको छ,’ स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘चाँडै मर्ज हुने वा नहुने कुराको छिनोफानो हुन्छ । अहिले नै मर्ज नहुने बारे सोचिएको छैन, जसकारण हुने संभावना अत्यन्तै बलियो छ ।’
स्रोतका अनुसार सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १ः१ हुने छ । राष्ट्र बैंकसँगको नजिकको छलफल र सम्पर्कसमेत स्थापित गरी दुई बैंक मिल्ने तयारीमा जुटेका हुन् ।
‘पुस दोस्रो साता मर्जको सहमतिपत्रमा हस्ताक्षरको तयारी छ, कथम् कदाचित ढिला हुन गएमा पुसभित्रै साधारणसभा गरी सहमतिपत्रमा हस्ताक्षर हुनसक्ने संभावना पनि छ,’ स्रोतले भन्यो ।
स्रोतका अनुसार अहिले दुईवटै बैंकका मर्जर कमिटिबीच घनिभूत छलफल भइरहेको छ । दुबै बैंकले आन्तरिक ड्यु डेलिजेन्स अडिट गरिरहेका छन् ।
स्रोतकाअनुसार अघिल्लो आर्थिक वर्षको लाभांश वितरणबारे पनि स्वापको पूर्वसहमत अनुपातमा मिल्नेगरी कायम गरिने भएको छ ।
राष्ट्रबैंक स्रोतका अनुसार दुबै बैंकले १५ प्रतिशत लाभांश दिन सक्नेगरी यसै हप्ताको अन्त्यमा स्वीकृति प्राप्त गर्दैछन् ।
मर्जरपछि बैंकको अध्यक्ष पृथ्वीवहादुर पाँडे र सीइओ अशोक राणा रहने छन् भने ज्योति पाण्डे डेपुटी सीइओ रहने बताइएको छ ।
बैंकका लगानीकर्ताले इगो छाडेर बिग मर्जरमा जानुको बिकल्प छैनः इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे
इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे हिमालय शमशेर राणाका ज्वाँई हुन् । सीइओ राणाका भिनाजू हुन् ।
हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकका प्रभावशाली लगानीकर्ताको पारिवारिक सम्बन्ध भएका कारण यी दुई बैंक आपसमा गाभिने चर्चा लामो समयदेखि हुँदै आएको छ । र, मर्जरमा जाँदा इन्भेष्टमेन्टको पहिलो रोजाइ हिमालयन हो भने हिमालयनको पहिलो रोजाइ पनि इन्भेष्टमेन्ट बैंक नै हो ।
‘हिमालयन बैंक मर्जरमा जाने हो भने सबैभन्दा उपयुक्त जोडी इन्भेष्टमेन्ट बैंक नै हो,’ हिमालयन बैंक स्रोतले भन्यो ‘किनभने इन्भेष्टमेन्टसँग हम्रो धेरै कुरा मिल्छ र सबैभन्दा बढी सिनर्जी पनि आउँछ ।’
‘पक्कै पनि मर्जरका लागि हिमालयन बैंक हाम्रो पहिलो रोजाइ हो,’ इन्भेष्टमेन्ट बैंक स्रोतले भन्यो ।
मर्जरमा गएर एनआइसी एशिया र ग्लोबल आइएमइ बैंक विभिन्न सूचकका आधारमा नम्बर वान बनेपछि ठूला र पूराना भनिएका बैंकलाई दबाब परेको छ । मर्जर गरेर ठूलो बन्नुका साथै लागत घटाउनुपर्ने तीव्र दबाब छ ।
लागत बढी भए नाफा कम हुन्छ । र, नाफा कम भएपछि लगानीकर्ताले पाउने लाभांश कम हुन्छ । इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेले बैंकले दिने लाभांश १० प्रतिशतमा झरे आफूले लगानी डाइभर्ड गर्ने घोषणा गरिसकेका छन् ।
प्रतिफल १०% मा झरे बैंकिङबाट लगानी झिक्छु, ८ वटा बैंक भए पुग्छः पृथ्वीबहादुर पाँडेको भिडियो आर्टिकल
त्यस्तै इन्भेष्टमेन्ट बैंकका सीइओ पाण्डेले केही महिनाअघि बिग मर्जरको खबर छिट्टै सुनाउने बताएका थिए ।
नम्बर वानको बिरासत जोगाउन इन्भेष्टमेन्ट बैंक बिग मर्जरमा जाने, छिट्टै खबर सुनाउँछौं: सीइओ पाण्डे
हिमालयन बैंकका सीइओ अशोक राणाले पनि मर्जरका लागि इन्भेष्टमेन्ट बैंक नै सबैभन्दा उपयुक्त पार्टनर भएको बताउँदै आएका छन् ।
अशोक राणा भन्छन्- हिमालयन बैंकले ग्राहक झुक्याउँदैन, मर्जका लागि इन्भेष्टमेन्ट बैंक उपयुक्त
यी आधारहरुले पनि दुई बैंकले भित्रभित्रै मर्जरको प्रक्रिया धेरै अघि बढाइसकेका छन् भन्ने संकेत गर्छ ।
हिमालयन बैंकका अध्यक्ष तुलसीराम गौतम बैंकको व्यक्तिगतरुपमा सेयरधनी होइनन् । सञ्चय कोषका जागिरे उनी संस्थागत प्रतिनिधित्व गरेर बैंकको अध्यक्ष बनेका हुन् । गौतम व्यापारी नभएकाले भोलिको ठूलो नाफाघाटा र आफ्नो पद के होला भनेर हेर्दैन् । बरु आफू अध्यक्ष भएको बेला सरकारी नीतिअनुरुप बिग मर्जर गराएको जस लिने पक्षमा छन् ।
त्यतिमात्रै होइन, हिमालयन बैंकका अध्यक्ष गौतम राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र नियमन विभागका कर्यकारी निर्देशक देवकुमार ढकालसँग क्याम्पस पढ्दादेखिकै दोस्ती हुन् । र, अहिलेसम्म पनि सुमधुर सम्बन्ध छ । शिवाकोटी र ढकालले पनि मर्जर राष्ट्र बैंकको नीति भएको उल्लेख गर्दै गौतमलाई मर्जरमा जान प्रोत्साहन गरिरहेका छन् ।
इन्भेष्टमेन्ट बैंकक अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयन बैंकक अध्यक्ष तुलसीराम गौतमले मर्जरको कुराकानी निकै अघि बढाइसकेका छन् ।
सञ्चय कोषका प्रशासकसमेत रहेका गौतम हिमालयनको अध्यक्ष भएर आएपछि इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेलाई पनि डिल गर्न धेरै सजिलो भएको छ भने हिमालयन बैंकको सञ्चालक समितिमा पनि पहिलेको जस्तो झगडा हुन छाडेको छ ।
मर्जपछिको हैसियत
मर्जपछि नेपाल हिमालयन इन्भेष्टमेन्ट बैंक देशकै सबैभन्दा ठूलो बैंक बन्नेछ । असोज मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रुपैयाँ रहेको छ । बैंकको रिजर्बमा रिजर्बमा १२ अर्ब १ करोड ५४ लाख २१ हजार छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकसँग १ खर्ब ८४ अर्ब ७३ करोड ४२ लाख ७१ हजार रुपैयाँ निक्षेप छ । कर्जा १ खर्ब ३९ अर्ब २ करोड २४ लाख ५१ हजार रुपैयाँ रहेको छ ।
हिमालयन बैंकसँग असोज मसान्तको विवरण अनुसार ९ अर्ब ३७ करोड २२ लाख ८१ ह्जार ४२८ रुपैयाँ चुक्ता पूँजी छ । रिजर्बमा ६ अर्ब ८ करोड ७ लाख ६ हजार ७५९ रहेको छ । यस्तै निक्षेप १ खर्ब २८ अर्ब र कर्जा ९९ अर्ब ३८ करोड रहेको छ । बैैंक १ः१ को अनुपातले मर्ज हुँदा पूँजी,रिजर्ब तथा निक्षेप र कर्जामा सबैभन्दा ठूलो हुने छ ।
निजी बैंकको सरकारीकरणः कुन बैंकमा कति छ क्रस होल्डिङ, राष्ट्र बैंकले फोर्स मर्जर गराउला ?
असोज मसान्तको विवरणलाई आधार मान्दा मर्जपछि बैंकको चुक्ता पूँजी २४ अर्ब ६२ करोड हुन्छ । यस्तै रिजर्बमा १८ अर्ब ९० करोड रहेको छ । निक्षेप ३ खर्ब १२ अर्ब रुपैयाँ हुन्छ । जुन वाणिज्य बैंकमा सबैभन्दा बढी हो । यस्तै कर्जा २ खर्ब ३४ अर्ब हुन्छ । योपनि वाणिज्य बैंकमा सबैभन्दा बढी हो ।
शाखा सञ्जाल विस्तारमा सुस्त यी दुबै बैंकको मर्जपछिको शाखा संख्या १ सय ५० पुग्नेछ । इन्भेष्टमेन्ट बैंकको समग्र पोर्टफोलियो भन्दा हिमालयनको सानो छ । तर हिमालयनको सञ्चालन खर्च बढी छ ।
मर्जपछि सञ्चालन खर्च उल्लेख्य मात्रामा घट्ने र स्प्रेडदरमा राष्ट्रबैंकले लचकता दिएकोले त्यसको फाइदा लिएर नाफा बढी कमाउने दुवै बैंकको उद्देश्य समान भएपछि पनि मर्जका लागि सहमति बनेको हो ।
हिमालयन बैंकमा पाकिस्तानी हबिब बैंकको लगानी रहेको छ भने हबिबले लगानी फिर्ता लैजाने आशय प्रकट गरिसकेको छ । यदि उसले सेयर अफलोड गरेमा बेलायतको एक बैंकले उक्त सेयर खरिदको चासो राखेको छ ।
हिमालयन बैंकको संस्थापक सेयर बिक्री गर्न लगानीकर्ता खोज्दै हबिब, सञ्चय कोषको यस्तो तयारी
अशोक राणाको कार्यकालको मुख्य सफलता बेलायतको बैंकसँगको सहभागितालाई पाण्डे दाजुभाइले स्वीकारेपछि वार्ताको वातावरण अनुकूल बनेको थियो । उक्त सेयरलाई सञ्चयकोषले पनि खरिद गर्ने इच्छा प्रकट गरेको जनाइएको छ ।
हिमालयन बैंकको २० प्रतिशत र इन्भेष्टमेन्ट बैंकको ३० सेयर पब्लिकमा रहेको छ ।
राष्ट्रबैंकको उदेश्य र बैंकिङ परिदृश्य
राष्ट्र बैंकले यी दुबै बैंकलाई मर्ज गराउन केही बर्ष अघिदेखि कसरत गर्दै आएको हो । यस सिलसिलामा राष्ट्र बैंकले यी दुबै बैंकलाई मौका पाएको अवस्थामा धेरै नै पेलेर राखेको छ । सञ्चालक समितिको संरचना, कार्यकारी प्रमुख, ब्यालेन्स सिटलगायत हरेक ठाउँमा हस्तक्षेप गर्दै आएको छ ।
अर्थतन्त्र जोगाउन राष्ट्र बैंकले जस्तोसुकै कदम चाल्छ, ऋण मिनाह हुँदैन, बिग मर्जर हुन्छ: गभर्नर
किनभने यी दुई बैंकको मिलनपछि बैंकिङ क्षेत्रमा फरक परिदृश्य देखिनेछ । प्रतिस्पर्धाको वातावरण अझ फरक स्वरुपको हुनेछ । पुँजी कोष मजबूत भएका बैंकहरु टिक्न सक्ने तर साना बैंकहरुलाई कठिन हुन सक्ने अनुमान गरिएको छ । यसअघिको ग्लोबल र जनताको मर्ज छायाँमा पर्नेछ ।
राष्ट्र बैंकले त अझ यी दुई बैंक मिलेपछि अर्को एक सानो बैंकलाई लिए हुन्थ्यो भन्ने आशय पनि प्रकट गरेको छ ।
यी दुई बैंक मर्ज भएपछि अन्य बैंकहरुलाई पनि मर्जरको तीब्र दबाब पर्नेछ । सबैभन्दा बढी दबाब नविल बैंकलाई पर्ने छ । किनभने एक नम्बरको ताज खोसिएपछि यस बैंकलाई पनि आक्रमकरुपमा अगाडि बढ्न र विशेषगरी राष्ट्रबैंकको बैंकसंख्या घटाउने उद्देश्य अनुरुप अगाडि बढ्न दबाब बढ्नेछ । र, मर्ज नगरी नम्बर वान हुन असंभव हुनेछ ।
ठूला बैंकहरु मिल्दा साना बैंकहरुलाई पनि मिल्न दबाब सिर्जना हुनेछ । यसले समग्रमा बैंकको संख्या घटाउन ठोस सहयोग पुग्नेछ । अन्यथा साना बैंकलाई बजारमा टिक्न कठिन हुनेछ ।
०७७ असार मसान्तसम्मको बैंकहरुका महत्वपूर्ण सूचक
प्रतिक्रिया