घरजग्गा कारोबारले लय समात्यो, मंसिरमा १ लाख ६८ हजार संख्यामा कारोबार « Eglish Khabarhub

घरजग्गा कारोबारले लय समात्यो, मंसिरमा १ लाख ६८ हजार संख्यामा कारोबार



काठमाडौं । कोरोना भाइरस महामारीले अधिकांश बजार शिथिल बनाएता पनि घरजग्गा कारोबारमा भने कुनै असर नपरेको देखिन्छ । लामो समयको बन्दाबन्दीको अवस्थामा पनि घरजग्गा तथा किनबेचमा कुनै असर नपरेको घरजग्गा बिक्री गर्ने व्यवसायीहरू बताउँछन् । साथै, अन्य व्यवसायी लयमा फर्कन धेरै समयलागेता पनि बजार चलयमान हुन थालिसकेपछि घरजग्गा किनबेच भने उल्लेखनीय भएको उनीहरूको भनाइ छ । साथै, कोरोनाको समयमा पनि घरजग्गाको किनबेचको ग्राहकको कुनै कमी नभएको उनीहरूले बताउँछन् ।

त्यस्तै आर्थिक वर्ष २०७७÷७८ को मंसिर महिनामा देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट १ लाख ६८ हजार घरजग्गाको कारोबार भएको छ । देशभरका विभिन्न १०८ वटा भूमिसुधार तथा मालपोत कार्यलयबाट लिखित पारित, नामसारी, संशोधन, रोक्का, फुकुवा, प्रतिलिपि जस्ता कार्यगरी कुल एक लाख ६८ हजार ६ वटा घरजग्गाको कारोबार गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको जनाएको छ । यो भन्दा अगाडिको महिनामा करिब १ लाख ४ हजार घरजग्गाको कारोबार भएको थियो ।

विभागअन्तर्गत १ सय २६ कार्यालयमध्ये अनलाईन प्रणाली सञ्चालन भएका १ सय ८ कार्यालयहरूको मात्रै कारोबार भएको तथ्याङ्क समावेश रहेको विभागले जनाएको छ । साथै, अनलाईन प्रणाली लागु नभएका बाँकी १८ कार्यालयहरूको कारोवार यसमा समावेश गरिएको छैन । तर, यी कार्यालयहरूबाट पनि अनलाइन प्रणाली सञ्चालनमा ल्याउने प्रक्रिया भइरहेको विभागले जनाएको छ ।

त्यस्तै, देशभरका मालपोत कार्यालयबाट मंसिर महिनामा ६१ हजार ४ सय ५१ लिखित पारित, ३ हजार २ सय ५९ नामसारी, ४ हजार १ सय १५ संशोधन, ५३ हजार २ सय ८१ रोक्का र १८ हजार र ३२ हजार २ सय ६० फुकुवा गरेको विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।

विभागको तथ्याङ्क अनुसार मंसिर महिनामा सबैभन्दा बढी कारोबार गरेकोमा भूमि सुधार तथा मालपोत कार्यालय इन्रुवा रहेको छ । इन्रुवाले मात्रै ७ हजार १३ वटा घरजग्गाको कारोबार गरेको छ । जसमा इन्रुवाले २९ सय ८६ लिखित पारित, २०१ संशोधन, १९ सय ७५ रोक्का र १४ सय फुकुवाका गरेको छ ।

त्यसैगरी, भद्रपुर झापाले ६ हजार १४ ले कारोबार गरेको मध्येमा १७ सय ९० लिखित पारित, १ सय ७५ संशोधन, २ हजार ३० रोक्का र १५ सय ३६ फुकुवा गरेको छ । त्यस्तै अन्य मालपोत कार्यालयमा बेलाबारी–मोरङले ५ हजार ५ सय ५१, नेपालगञ्ज–बाँकेले ५ हजार १ सय ६७, उपत्यकाका कार्यालय लगनखेल कार्यालयले ५ हजार १ सय २५, भक्तपुरले ४ हजार ४ सय ७५ र चितवनले ४ हजार ३ सय ६२ घरजग्गाको कारोबार गरेको छ । त्यसैगरी मंसिर महिनामा मात्रै ८७ वटा अपार्टमेन्टको लिखित पारित भएको छ ।

५ अर्ब राजस्व संकलन

कोरोना भाइरस महामारी तीब्र रुपमा बढी रहेको समयमा पनि देशभरका मालपोत कार्यालयबाट ५ अर्ब १४ करोड ४८ लाख राजस्व संकलन गरेको छ । मंसिर महिनामा १०८ वटा मालपोत कार्यालयबाट घरजग्गाको कारोबार भई उक्त राजस्व संकलन भएको हो ।

देशभरका मालपोत कार्यलयबाट सेवा कर, बागमति, रजिष्ट्रेशन दस्तुर, छुट, सेवा सुविधा शुल्क, पुँजीगत लाभ कर, रिकभर छुट, बिलम्ब शुल्क, नगर पूर्वाधार विकास, मुख्यमन्त्री स्वच्छता अभियान गरी ५ अर्ब रकम संकलन गरेको विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।

जसमा सेवाकर वापत ३३ करोड १४ लाख ३५ हजार, बागमतिबाट १५ करोड २७ लाख २० हजार, रजिष्ट्रेसन दस्तुरबाट २ अर्ब ९४ करोड १८ लाख २६ हजार, छुटबाट ४५ करोड ६ करोड ९४ हजार, पूजीँगत लाभ करबाट १ अर्ब २१ करोड ८ लाख ३२ हजार, विलम्ब शुल्कबाट ३ लाख ५१ हजार, मुख्यमन्त्री स्वछता अभियान कोषबाट ३ करोड ४७ लाख राजस्व संकलन गरेको छ ।

ललितपुरबाट मात्रै ५८ करोड राजस्व संकलन

मंसिरमा ५ अर्ब राजस्व संकलन हुँदा सबैभन्दा बढी मालपोत कार्यालय ललितपुरले गरेको छ । ललितपुरले मालपोत कार्यालयले ५८ करोड ७० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त मालपोत कार्यालयबाट सेवाकरबापत १ करोड ७६ लाख, छुटवापत ३९ करोड ७२ लाख र ७३ हजारलगायत अन्य विभिन्न कार्यबाट उक्त राजस्व संकलन गरेको छ ।

कोभिड–१९ पछि ललितपुरले मंसिर महिनामा संकलन गरेको राजस्व संकलन हालसम्मको नै उच्च हो । त्यस्तै, उपत्यकामा अन्य कार्यालय भक्तपुरले ३० करोड १० लाख ९५ हजार, कलंकी कार्यालयले २९ करोड ९९ लाख ७१ हजार, डिल्लीबजार कार्यालयले २५ करोड ६९ लाख ९८ हजार र चावहिलबाट २३ करोड ४९ लाख ६४ हजार राजस्व संकलन गरेको छ ।

उपत्यका बाहिर चितवनले उछिन्यो

उपत्यकामा ललितपुरले अत्याधिक राजस्व संकलन गरेता पनि उपत्यकाबाहिर भने चितवन मालपोत कार्यालयले सबैलाई उछिनिएको छ । चितवनले बैशाखमा मात्रै १४ करोड ९२ लाख ८७ हजार राजस्व संकलन गरेको छ । त्यसैगरी अन्य मालपोत कार्यालयमा मालपोत कार्यालय कास्कीबाट १४ करोड ७६ लाख ३२ हजार, इनरुवा–सुनसरीबाट १० करोड ३० लाख, विराटनगर– मोरङबाट ९ करोड ९५ लाख २ लाख, काभ्रेपलाञ्चोकले ९ करोड ८० लाख २४ हजार राजस्व संकलन गरेको छ ।

Publish on: