उद्योगमा अक्सिजन मौज्दात नराख्न र मूल्यवृद्धि नगर्न निजी क्षेत्रका तीन संघको अपिल « Eglish Khabarhub

उद्योगमा अक्सिजन मौज्दात नराख्न र मूल्यवृद्धि नगर्न निजी क्षेत्रका तीन संघको अपिल



काठमाडौं । निजी क्षेत्र तीन वटा संघले व्यवसायीहरुलाई मूल्यवृद्धि नगर्न र उद्योगमा अक्सिजन मौज्दात नराख्न अपिल गरेका छन् ।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति जारी गर्दै कोरोनाको उपचारमा महत्वपूर्ण अक्सिजनलाई उद्योगमा मौज्दात नराख्न अपिल गरेको हो ।

‘अक्सिजन प्रयोग गरिरहेका सम्पूर्ण उद्योगहरुलाई आपूmसंग मौज्दात रहेको सिलिन्डर यथासिघ्र सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन अपिल गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।

मुलुक कहिल्लै भोग्नु नपरेको महामारी र त्यसबाट सिर्जित स्वास्थ्य जटिलतासँगै सामाजिक एवं आर्थिक समस्यासँग जुधिरहेको बताउँदै कोरोना संक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डर मोज्दात नराख्न अपिल गरेको हो ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण ग्यास उत्पादक कम्पनीहरुलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन पनि अपिल गर्दछौ । यस परिस्थितिमा आम  उपभोक्ताहरुलाई पनि आफ्नो जस्तै अरुको स्वास्थ्यको पनि ख्याल राख्दै आवश्यकताभन्दा बढि सिलिन्डिर सञ्चिती नगरी दिनु हुन आग्रह गर्दछौ ।’

जारी विज्ञप्तिमा व्यवसायीसँग यदि अक्सिजनको सिलिन्डर भएमा त्यसलाई पनि स्वास्थ्य उपचारका लागि प्रयोग गर्ने गरी सम्बन्धित निकायमा उपलब्ध गराइदिन हुन अनुरोध गरेको छ ।

मूल्यवृद्धि नगर्नु
‘यसैगरी अत्यावश्यकीय खाद्य सामग्रीको सञ्चिती र त्यसमा मूल्यवृद्धि भइरहेको भन्ने सर्वसाधारणको गुनासोप्रति पनि ध्यानाकर्षण भएको उल्लेख गर्दै माहामारीको बिषम परिस्थितिमा कुनै पनि प्रकारको सञ्चिती र मूल्यवृद्धि नगर्न निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु सम्बद्ध सबै व्यवसायीहरुमा अपिल गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ ।

अहिलेको अवस्थामा ठूला उद्योगी एवं वितरकहरुले पनि समग्र वितरण प्रणालीमा अनावश्यक मुल्यवृद्धि हुन नदिन आवश्यक अनुगमन गर्न पनि उनीहरुले आग्रह गरेका छन् ।

यसैगरी केही निजी अस्पतालहरुले बिषम परिस्थितिमा चर्को शुल्क लिइ उपचार गरिरहेको भन्ने समाचारतर्फ पनि ध्यानाकर्षण भएको भन्दै बिरामीहरुको जीवनरक्षा मुख्य उद्देश्य राखेर खुलेका अस्पतालहरु मुलुक संकटमा रहेको र स्वास्थ्य सेवा जटिल वन्दै गएको यस समयमा अनावश्यक नाफा आर्जन गर्ने तर्फ नलाग्न पनि अपिल गरेको छ ।

Publish on: