मोदीका प्रिय अर्बपति अडानीका कम्पनीको सेयरमा भारी गिरावट, छानबिन शुरू « Eglish Khabarhub

मोदीका प्रिय अर्बपति अडानीका कम्पनीको सेयरमा भारी गिरावट, छानबिन शुरू



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आडमा व्यापार व्यवसाय बिस्तार गरिरहेको अडानी समूहलाई ठूलो धक्का लागेको छ । भारतीय डलर अर्बपतिहरुको सूचिमा मुकेश अम्बानीपछि दोस्रो स्थानमा रहेका गौतम अडानीलाई सोमबार त्यहाँको सेयर बजारको नियामक निकायले तीन विदेशी लगानीकर्ताको लगानीलाई शंकाको घेरामा राखेसँगै सेयर बजारमा उनका कम्पनीका सेयर मूल्यमा ठूलो गिरावट देखिएको हो ।

शक्तिशाली प्रधामन्त्री मोदीको आडमा पछिल्लो समय आक्रमकरुपमा व्यापार बिस्तार गरिरहेका अडानीका लागि यो ठूलो धक्का मानिएको छ । भारतीय सञ्चार माध्यमहरुले अडानी केही समयपछि नै धनीहरुको सूचीमा मुकेश अम्बानीलाई माथ गर्ने आँकलन गरिएको समाचार प्रकाशित गरिरहेका छन् ।

गौतम अडानीका ६ वटा सूचिकृत कम्पनीको सेयर मूल्यमा ५ प्रतिशतदेखि २२ प्रतिशतसम्म गिरावट देखिएको छ । यसमा सबैभन्दा धेरै अडानी इन्टरप्राइजेजको सेयर मूल्यमा भारी गिरावट देखिएको हो । उक्त कम्पनीको सेयर मूल्यमा शुक्रबारको तुलनामा सोमबार २२ प्रतिशतले घटेर प्रतिकित्ता १२०० भारु मा झरेको छ । शुक्रबार उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६०० भारु थियो । त्यसपछि अडानी समूह अन्तर्गतका अन्य कम्पनीको सेयर मूल्य घट्न शुरु गरेको थियो । जसमा लगानीकर्ताहरुलाई शुरुवाती घण्टामा ५० करोड भारुको नोक्सानी भएको छ ।

३ विदेशी लगानीकर्ताको लगानी शंकाको घेरामा
सेयर मूल्यमा आएको गिरावटको कारण नियामक निकाय सेबीले अडानी ग्रुपको कम्पनीमा तीन यस्ता विदेशी लगानीकर्ता रहेका छन् जसलाई नक्कली मानिएको छ । यी तीन लगानीकर्तामा अलबुला इन्भेष्टमेन्ट फन्ड, क्रेस्टा फन्ड र एपीएमएस इन्भेष्टमेन्ट फन्ड छन् । यी कम्पनीहरु मोरिससको राजधानी पोर्ट लुइसको एउटै ठेगानामा दर्ता भएका छन् । यी कम्पनीहरुको वेवसाइट समेत छैन । सेबीले यी तीन वटै कम्पनीको लगानी हाललाई फ्रिज गरी छानबिन शुरु गरेको छ ।

कुल लगानी ४३ हजार ५०० करोड भारु
त्यहाँको नेशनल सेक्युरिटी डिपोजिटरी लिमिटेड अर्थात् एनएसडिएलका अनुसार अडानीको कम्पनीमा यी तीन वटा लगानीकर्ता कम्पनीबाट कुल ४३ हजार ५०० करोड भारु लगानी भएको छ । यी अकाउन्ट फ्रिज गर्नुको कारणबारे अहिले सेबीसँग कुनै जानकारी नभएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

साथै ती कम्पनीमा लगानी भएको पैसा कस्को हो भन्ने पनि अहिले पत्ता लागेको छैन । त्यसकारण सम्पत्ति शुद्धिकरण ऐन अन्तर्गत उनीहरु विरुद्ध कारबाही शुरु गरिएको छ । यद्यपि जसमा अडानी ग्रुपको यो विषय नभए पनि उनको कम्पनीमा यी कम्पनीहरुको लगानी छ । जसका कारण ग्रुपको सेयर मूल्यमा गिरावट देखिएको हो ।

अडानी इन्टरप्राइजेजमा ती कम्पनीको सेयर ६.८२ प्रतिशत
यी लगानीकर्ता कम्पनीले अडानी इन्टरप्राइजेजमा ६.८२ प्रतिशत सेयरमा लगानी गरेका छन् । जसको मूल्य १२ हजार ८ करोड भारु छ । अडानी ट्रान्समिसनमा ८.०३ प्रतिशत, लगानी छ । जसको मूल्य १४ हजार ११२ करोड भारु हो । साथै अडानी टोटल ग्यासमा यी कम्पनीहरुको ५.९२ प्रतिशत लगानी छ । जसको मूल्य १० हजार ५७८ करोड भारु छ भने अडानी ग्रीन इनर्जी कम्पनीमा ती कम्पनीको कुल हिस्सेदारी ३.५८ प्रतिशत छ । जसको मूल्य ६ हजार ८६१ करोड भारु छ ।

सबै कम्पनीको सेयरमा गिरावट
अडानी ग्रुपको जुन कम्पनीको सेयरमा सोमबार गिरावट देखिएको छ त्यसमा ती सबै कम्पनीको लगानी छ । जसमा अडानी ग्रीन इनर्जीको सेयर ५ प्रतिशत, अडानी टोटल ग्यास तथा अडानी ट्रान्समिसनको सेयर ५/५ प्रतिशत, अडानी पावरको सेयर ४.९६ प्रतिशत तथा अडानी पोर्टको सेयर १५ प्रतिशतले घटेको छ । एक वर्षमा यसको रिटर्न हेर्दा अडानी इन्टरप्राइजेजको रिटर्न १२.१८ गुणा, ग्रीन इनर्जीको ४.५ गुणा, अडानी टोटल ग्यासको १३.४४ गुणा, अडानी ट्रान्समिसनको ८.६६ गुणा। अडानी पावरको ४.११ गुणा र अडानी पोर्टको ३.०२ गुणा रिटर्न छ ।

सन् २०१९ मा केवाइसीको पूरा गर्न आदेश
सेबीले सन् २०१९ मा सम्पत्ति शुद्धिकरणलाई रोक्नका लागि विदेशी लगानीकर्तालाई केवाइसी सन् २०२० सम्म पूरा गर्नका लागि आदेश दिएको थियो । नयाँ नियम अनुसार यो पूरा गर्नुपर्ने थियो । यसमा फेल भएमा डिम्याट अकाउन्ट फ्रिज गर्न सकिने नियम छ ।

सन् २०२० मा छानबिन शुरु
सञ्चारमाध्यमका अनुसार सेबीले सन् २०२० मा यी कम्पनीहरुको सेयरबारे छानबिन शुरु गरेको थियो । यद्यपि हालसम्म कुनै छानबिनमा कुनै फैसला आएको छैन । त्यसपछि पनि यी कम्पनीहरुको सेयर मूल्य लगातार बढिरहेको छ । यी कम्पनीमा अडानी इन्टरप्राइजेज, अडानी ट्रान्समिसन तथा अडानी पावरमा प्रमोटर्सको हिस्सेदारी ७४.२९ प्रतिशतभन्दा बढी छ ।

अडानी इन्टरप्राइजेजमा विदेशी लगानीको हिस्सा २०.५१ प्रतिशत, अडानी टोटल ग्यासमा २१.४७ प्रतिशत, अडानी ट्रान्समिसनमा २०.३० प्रतिशत, अडानी ग्रीन इनर्जीमा २१.४७ प्रतिशत अडानी पोर्टमा १७.९० प्रतिशत र अडानी पावरमा ११.४९ प्रतिशत विदेशी लगानी छ ।

Publish on: