सेबोनले चलखेल भएको भनेका ५१ मध्ये ४७ कम्पनीको सेयरमा ‘पहिरो’, ३ वटाको बढ्यो « Eglish Khabarhub

सेबोनले चलखेल भएको भनेका ५१ मध्ये ४७ कम्पनीको सेयरमा ‘पहिरो’, ३ वटाको बढ्यो



काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलबार सेयर बजार बन्द भए लगत्तै ५१ वटा कम्पनीको सूची सार्वजनिक गर्यो । सेयर बजारमा चलखेल गरी अस्वाभाविकरुपमा मूल्य बढाइएको पाइएको भन्दै ती ५१ कम्पनीमा गरिने लगानी जोखिमयुक्त भएको बोर्डको निष्कर्ष छ ।

ती कम्पनीलाई आशंकाको घेरामा राखेर बोर्डले थप अध्ययन गर्ने जनाएको छ । बोर्डले कम्पनीहरुको नाम सार्वजनिक गरेपछि पक्ष र विपक्षीमा चर्कोरुपमा तर्क-वितर्क भइरहेको छ ।

कतिपयले बोर्डले उर्लदै बजारको बजारको गतिलाई रोक्न खोजेको बताए भने कतिपयले बोर्डले क्षेत्राधिकारभन्दा बाहिर गएर सूची सार्वजनिक गरेको दलिल पेश गरे ।

जति तर्क र बितर्क गर्नेहरु अधिकांशले बुधबारको बजारमा प्यानिक सेल हुने आँकलन गरेका थिए । जुन केही हदसम्म सत्य सावित पनि भयो । सेयर कर्नरिङ गरेर अप्राकृतिकरुपमा मूल्य बढाइएको र यसलाई नियन्त्रण गर्नुपर्ने उद्देश्य अनुरुप सूची सार्वजनिक गर्दै बोर्डले सचेत भई लगानी गर्न आग्रहसमेत गरेको थियो ।

बुधबारको बजारमा प्यानिक सेल देखियो । अधिकांश कम्पनीका लगानीकर्ताले ठूलो सम्पत्ति गुमाउन पुगे । यसबीच बोर्डले सार्वजनिक गरेको ५१ वटा कम्पनीमध्ये ३ वटा कम्पनीको सेयरमा भने हरियो देखिएको छ ।

युनियन हाइड्रोपावर लिमिटेड कम्पनीको सेयर मूल्य ७.६७ प्रतिशतले बढ्यो भने सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड कम्पनीको सेयर मूल्य ०.८८ प्रतिशतले बढ्यो । त्यसैगरी महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ०.१ प्रतिशतले वृद्धि भएको छ ।

यी तीन कम्पनीको सेयर मूल्य बढ्यो

साथै घोडाघोडी लघुवित्त वित्तीय संस्था भने मर्जरको प्रक्रियामा रहेकाले लामो समयदेखि सेयर बजारमा कारोबार भएको छैन ।

त्यसैगरी ४७ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट देखिएको छ ।

जसमध्ये सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा गोर्खाज फाइनान्स, नेशनल हाइड्रोपावर कम्पनी, छ्याङदी हाइड्रोपावर कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी, पञ्चकन्या माइ हाइड्रोपावर, मल्टिप्रपोज फाइनान्स कम्पनी, दिव्यश्वरी फाइनान्स कम्पनी, नेपाल फाइनान्स, समृद्धि फाइनान्स कम्पनी, पाँचथर पावर कम्पनी र सोल्टी होटलको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

त्यसैगरी रसुवागढी हाइड्रोपावर, लिवर्टी इनर्जी, हिमालयन उर्जा विकास, माउन्टेन हाइड्रो नेपाल, राइराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा पनि भारी गिरावट देखिएको छ ।

कुन कम्पनीको सेयर कतिले घट्यो ? हेर्नुस् तलको सूची

Publish on: