कोकाकोलाको लाभकर छली प्रकरणः २ अर्ब ५० करोडभन्दा बढी कर असूल्नुपर्ने महालेखा प्रतिवेदन « Eglish Khabarhub

कोकाकोलाको लाभकर छली प्रकरणः २ अर्ब ५० करोडभन्दा बढी कर असूल्नुपर्ने महालेखा प्रतिवेदन


४ भाद्र २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपालमा कोकाकोला, स्प्राइट, फेन्टालगायतका हल्का पेय पदार्थ उत्पादन गर्दै आइरहेको बोटलर्स नेपाल लिमिटेडको स्वामित्व फेरबदल हुँदा नियमानुसार तिर्नुपर्ने पूँजीगत लाभ कर छली भएको महालेखा परीक्षकको ठहर छ ।

महालेखाले कोकाकोलाबाट २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लाभकर असूल गर्नुपर्ने शुक्रबार सार्वजनिक गरेको अन्ठाउन्नौं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । गत डिसेम्बर महिनामा कोकाकोलाको स्वामित्व परिवर्तन हुँदा मोटो रकम करी छली भएको समाचार क्लिकमाण्डूले प्रकाशित गरेको थियो ।

ठूला करदाता कार्यालयमा दर्ता भएको बहुराष्ट्रिय कम्पनी कोकाकोलाको कुल शेयर संख्या १९ लाख ४८ हजार मध्ये १४ लाख ८४ हजार ३०१ कित्ता सेयर अर्को बहुराष्ट्रिय कम्पनीले खरिद गरेको थियो । उक्त कम्पनीको २०७१ मंसिरमा ७६.१६ प्रतिशत स्वामित्व परिवर्तन भएको देखिन्छ। ततपश्चात् कम्पनीको नामसमेत परिवर्तन गरिएको छ।

‘सेयर खरिद बिक्री गर्दा भएको स्वामित्व परिवर्तनको जानकारी नेपालका कुनै पनि नियामक निकायलाई नदिनुका साथै निःसर्गमा प्राप्त भएको लाभमा कर गणना गरी दाखिला गरेको देखिंदैन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘नेपालमा रहेको निकायको हितको मूल्य बढ्नु भनेको नेपालमै रहेको सञ्चालित क्रियाकलाप र सम्पत्तिको मूल्यको कारण भएकोले त्यस्तो आयको स्रोत नेपाल नै हो ।’

पुँजीगत लाभकर गणना गर्ने प्रयोजनार्थ नेपाल स्टक एक्सचेन्ज लिमिटेडको स्वामित्व परिवर्तन हुँदाको २०७१ मंसिरमा प्रकाशित गरेको औसत मूल्य १६६० को आधारमा उपर्युक्त शेयरको बिक्री मूल्य २ अर्ब ४६ करोड ३९ लाख ४० हजार र सो मूल्यमा कम्पनीलाई २०६१ मा खरिदकर्ता बहुराष्ट्रिय कम्पनीले तिरेको लागत खर्च प्रतिशेयर २२४.७५ रुपैयाँका दरले ३३ करोड ३५ लाख ९७ हजार घटाउँदा २ अर्ब १३ करोड ३ लाख पुँजीगत लाभ हुने देखिन्छ। सो लाभमा नेपालमा रहेको स्थायी संस्थापनबाट कट्टा गर्नुपर्ने १५ प्रतिशत अग्रिम कर ३१ करोड ९५ लाख ५१ हजार रुपैयाँ र ऐनको दफा ९६ बमोजिम आय विवरण पेस गरी लाग्ने २५ प्रतिशत समेत लाग्ने कर ५३ करोड २५ लाख ८६ हजार रुपैयाँमा लाग्ने शुल्क र ब्याजसमेत छानबिन गरी कर निर्धारण एवं असुल गर्नुपर्ने महालेखाले भनेको छ।

कम्पनीले मुख्य शेयरहोल्डरको रुपमा रहेको सिंगापुरस्थित एक कम्पनीमा आफ्नो सम्पूर्ण हित २०६१÷१÷९ मा दुबईस्थित अर्को बहुराष्ट्रिय कम्पनीले खरिद गरेको कम्पनी रजिष्ट्रार कार्यालयको अभिलेखमा देखिन्छ । त्यसैगरी पुनः २०७१ मंसिरमा उक्त कम्पनीको ७६.१६ प्रतिशत हित अर्को अमेरिकी कम्पनीले खरिद गरी नियन्त्रण परिवर्तन भएकोमा आयकर ऐन, २०५८ को दफा ५७ बमोजिम विवरण पेश गरी कर निर्धारण नगरेकोले सो समेत छानबिन गरी कर निर्धारण हनुपर्दछ ।

कोकाकोलाले छलेको ५३ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको करमा शतप्रतिशत जरिवाना लगाउँदा उक्त रकम १ अर्ब ६ करोड ५१ लाख ७२ हजार रुपैयाँ बराबर हुन जान्छ । यसमा वार्षिक १५ प्रतिशतका दरले तिर्नुपर्ने कम्तिमा ७ वर्षको ब्याज रकम हिसाब गर्दा १ अर्ब ११ करोड ८४ लाख ३० हजार रुपैयाँ बराबर हुन जान्छ । हरेक वर्षको ब्याज साँवामा गणना गर्दा यो रकम अझ धेरै हुन आउँछ । त्यस्तै थप शुल्कबाट लाग्ने निर्धारण करको ०.०१ प्रतिशत रकम पनि कोलाकोलाबाट असुल गरिनुपर्ने महालेखाले औंल्याएको छ । यसो गर्दा कोकाकोलाले पुँजीगत लाभकर छली र त्यसको शुल्क तथा ब्याज र हर्जना गर्दा २ अर्ब ५० करोड रुपैयाँभन्दा धेरै कर तिर्नुपर्ने देखिन्छ ।

आयकर ऐन २०५८ अनुसार जरिवाना एकपटक लाग्छ । भुलबस कर छली भएको देखिएमा ५० प्रतिशत र जानाजान भएकोमा शतप्रतिशत जरिवाना लाग्छ । ऐनको दफा १२० को उपदफा ‘ख’ अनुसार कुनै करदाताले जानाजानी वा लापरवाही गरेको कारणले झुटा वा भ्रमपूर्ण हुन गएकोमा त्यसबाट हुने घटी कर रकमको शतप्रतिशत जरिवाना तिर्नुपर्दछ ।

‘कोकाकोलाको सम्पत्ति र आयमा आधारित जहाँसुकै वा जुनसुकै कम्पनीको शेयर वा स्वामित्व वा धितोपत्र बिक्री गरे तापनि त्यो नेपालमा संचालित क्रियाकलापसँग सम्बन्धित भुक्तानी भएकोले सिर्जना भएको पुँजीगत लाभमा प्राथमिकरुपमा नेपालमा कर लाग्ने देखिन्,’ प्रतिवेदनमा भनिएको छ ।

मध्यस्थ निकायमार्फत् हुने स्वामित्व परिवर्तनमा नेपालमा कर लाग्ने सम्बन्धमा सर्वोच्च अदालतबाट एनसेलको हकमा फैसला समेत भएको उल्लेख गर्दै कोकाकोलाको स्वामित्व परिवर्तन भएकोमा प्राप्त लाभमा पुँजीगत लाभकर दाखिला गर्नुपर्नेमा हालसम्म दाखिला नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

यस्तो थियो घटना

बोटलर्स नेपाल लिमिटेड कम्पनी रजिष्टार कार्यालय त्रिपुरेश्वरमा दर्ता कम्पनी हो । १९ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीमा ७६.१७ प्रतिशत शेयर दुबईमा दर्ता कोकाकोला सप्को एशिया (साउथ अफ्रिकन बोटलिङ कम्पनी), २२ प्रतिशत सेयर गोर्खा बु्रअरी र १.८४ प्रतिशत सेयर नेपाली सर्वसाधारणको थियो ।

यो कर छली प्रकरणको शुरुवात हुन्छ, नेपालमा कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालमा ७६.१७ प्रतिशत सेयर स्वामित्व रहेको साउथ अफ्रिकन बोटलिङ कम्पनी कोकाकोला सप्को एसियाको सेयर खरिद बिक्री प्रकरणबाट ।

एनसेल प्रकरणमा जस्तै यो प्रकरणमा पनि नेपालमा सेयरको खरिद बिक्री भएको छैन । तर नेपाली कम्पनीमा ७६.१७ प्रतिशत सेयर भएको कम्पनी खरिद बिक्री भएको छ ।

कोकाकोला सब्को एशियाको सेयरको मूल्य बढ्नु वा घट्नुमा नेपालको व्यवसायको ठूलो भूमिका हुन्छ । त्यसैले, कोकाकोला सप्को एसियाको सेयर कारोबार दुबईमा भएपनि नेपालमा पूँजीगत लाभ कर लाग्ने ब्याख्या एनसेल प्रकरणमा सर्वाेच्च अदालतले गरेको छ ।

साउथ अफ्रिकन कम्पनी गुत्शे परिवार लगानी लिमिटेडले कोकाकोला सप्को एशियामार्फत् नेपालमा लागानी गरेको थियो । २०६१ सालमा नेपालको पेय पदार्थ व्यवसायमा कोकाकोला सप्को एशियामार्फत् प्रवेश गरेको गुत्शे परिवार लगानी लिमिटेडले २०७१ सालमा बाहिरियो ।

२०७१ साल मंसिरमा गुत्शे परिवार लगानी लिमिटेडले दुबईमा दर्ता कम्पनी कोकाकोला सप्को एसिया द कोकाकोला कम्पनी, एटलांटा, अमेरिकालाई बिक्री गर्यो । जसको प्रभाव, नेपालको कोकाकोला व्यवसायमा गुत्शे परिवारको लगानी लिमिटेडको नियन्त्रणबाट दि कोकाकोला कम्पनीमा सरेको थियो ।

कागजीरुपमा नेपालको कम्पनी रजिष्ट्रार कार्यालय बोटलर्स नेपाल लिमिटेडको ७६.१७ प्रतिशत सेयरको सेयरधनी कोकाकोला सब्को एशिया नै भए पनि वास्तविक लगानीकर्ता र सेयरधनी फेरिएका थिए ।

यसरी कुनै पनि कम्पनीमा सेयरधनी र लगानीकर्ता परिवर्तन हुँदा आयकर ऐनअनुसार स्वामित्व परिवर्तन भएको मानिने हुँदा पूँजीगत लाभ कर लाग्ने गर्छ ।

कम्पनीको सेयरको प्राथमिक मूल्य वा आफूले किन्ता तिरेको मूल्यभन्दा माथि बिक्री गर्दा सेयर बिक्री गरेको व्यक्तिलाई जे–जति पूँजीगत लाभ हुन्छ, त्यसको २५ प्रतिशत राज्यलाई पूँजीगत लाभकरका रुपमा तिर्नुपर्ने हुन्छ ।

दुबईमा दर्ता कागजी कम्पनी भएकाले कोकाकोला सब्को एशियाकोे मूल्य नेपालको व्यवसायका कारण सिर्जना हुन्छ । कुनै पनि कम्पनीको सेयरधनी परिवर्तन हुदाँ नियमानुसार नेपालका सरकारी निकायलाई जानकारी दिनु पर्दथ्यो ।

बोटलर्स नेपाल लिमिटेड, कोकाकोला सप्को एशिया र दि कोकाकोला कम्पनी कसैले पनि नेपाल सरकारलाई सेयरखरिद बिक्रीको जानकारी दिएनन् । तर, कतिसम्म गरियो भने बोटलर्स नेपाल लिमिटेडको सेयरधनी कोकाकोला सब्को एशियाको नाम परिवर्तन भएको भन्दै कम्पनी रजिष्ट्रार कार्यालयमा सेयरधनीको नाम साउथ बेष्ट एशिया होल्डिङ लिमिटेड कायम गरिएको थियो ।

नेपालका सरकारी निकायले कम्पनीको नाम परिवर्तनमात्र भएको हो वा सेयरधनी नै परिवर्तन भएको हो भन्ने विषयमा चासो नदेखाउँदा सरकारले पूँजीगतलाभ कर उठाउन सकेन ।

६ वर्षसम्म गुपचुप रहेको सेयर खरिदबिक्री प्रकरण राजस्व अनुसन्धान विभागको छानबिनले बाहिर आएको छ । बोटलर्स नेपाल लिमिटेड, बोटलर्स नेपाल (तराई) लिमिटेड र ट्रोइका ट्रेडर्स प्रालि गरी ३ कम्पनी कोकाकोला सप्को एशियाको नियन्त्रणमा थिए । अब ३ वटै कम्पनीको स्वामित्व साउथ बेष्ट एशिया होल्डिङ लिमिटेडमा गएको छ ।

१२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बोटलर्स नेपाल (तराई)को ९०.७८ प्रतिशत सेयर स्वामित्व बोटलर्स नेपाल लिमिटेडको नाममा छ । र, बाँकी ९.२२ प्रतिशत सेयर सर्वसाधारण सेयरधनीको रहेको छ । त्यस्तै, बोटलर्स नेपाल लिमिटेडले ७ लाख ५० हजार रुपैयाँ पूँजी रहेको ट्रोइका ट्रेडर्स प्रालि नामको अर्काे ट्रेडिङ कम्पनी पनि दर्ता गरेको छ ।

बोटलर्स नेपाल, बोटलर्स नेपाल (तराई) र ट्रोइका ट्रेडर्स प्रालि गरी ३ कम्पनीमा नियन्त्रण कायम गर्न दि कोकाकोला कम्पनीले दुबईमा दर्ता कोकाकोला सब्को एसियाको सेयर खरिद गरेको हो । र, दि कोकाकोला कम्पनीले कोकाकोला सप्को एशियाको ठाउँमा साउथ बेष्ट एसिया होल्डिङ लिमिटेड नामको कम्पनीबाट नेपालमा व्यवसाय सञ्चालन गरिरहेको छ ।

दुबईमा दर्ता भएको कम्पनीको सेयर खरिदबिक्री हुँदा पनि नेपालको व्यसायमा स्वामित्व परिवर्तन भएकाले नेपाल सरकारलाई नियमानुसार पूँजीगत लाभ र बुझाउनुपर्ने एनसेल प्रकरणमा सर्वाेच्च अदालतले गरेको फैसलामा उल्लेख छ । त्यसैले यस प्रकरणमा पनि पूँजीगत लाभकर लाग्ने राजस्व अनुसन्धान विभागका अधिकारीहरु बताउँछन् ।

कोकाकोला: विश्वकै ठूलो अमेरिकी कम्पनी

सन् १८८६ मा जोन पेम्बर्टन नामक एकजना फार्मेसिस्ट जसले कालान्तरमा कोकाकोला जस्तो अन्तर्राष्ट्रियस्तरको ब्राण्डका रुपमा स्थापित गर्न सफल भए । अमेरिकाको एट्लान्टा सहरमा फार्मेसिस्टका रुपमा पेम्बर्टन काम गर्दथे ।

केही समय अगाडि अमेरिकामा भएको गृहयुद्धको समयमा घाइते भएका थिए । र, त्यसबाट बच्नका लागि मोर्फिन नामक ड्रग्सको प्रयोग गर्न थालेका थिए । जुन दुखाइ कम गर्नका लागि लिइन्थ्यो । तर पछि उनी त्यसैमा एडिक्ट पनि भए । तर त्यसबाट आफूलाई हटाउन चाहन्थे । र, त्यसका लागि उनले त्यसको विकल्प खोजी गर्न थाले ।

यसैक्रममा उनले स्पेसेफिक सब्स्टान्स कोकालिफका बारेमा जानकारी लिन पाए । कोकालिफलाई प्रयोग गरेर उनले औषधि बनाउने सोच बनाए । तर त्यसअघि कोकालिफ प्रयोग गरेर विन मारियानी वाइन बनाइएको थियो । त्यो वाइन उक्त समयमा निकै चर्चित थियो । यसको प्रयोग शरीरमा स्फूर्ती बनाउनका लागि प्रयोग गरिन्थ्यो ।

त्यसपछि उनले वाइनमा प्रयोग गरिएको कोकालिफसँगै कोलानट्स पनि मिसाएर नयाँ ड्रिग्स बनाए र आफ्नो उक्त ड्रिग्स सबैभन्दा राम्रो भएको दावी समेत गरे । र, जसलाई आजका दिनमा हामीले कोकाकोलाका नामले चिन्छौं ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार ००:००  ५ : ४२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping