चुरोट बेचेर सूर्य नेपालले कमायो २७ अर्ब रुपैयाँ

काठमाडौं। बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले चुरोट बेचेर एक वर्षमै २७ अर्ब रुपैयाँ कमाएको छ । यो अघिल्लो वर्षकोभन्दा डेढ अर्ब रुपैयाँ अर्थात् १०.२९ प्रतिशतले बढी हो ।

सूर्य लगायतका ब्राण्डमा चुरोट उत्पादन तथा बिक्री वितरण गर्दै आएको सूर्य नेपाल राम्रो प्रतिफल दिने कम्पनी पनि हो । गत वर्ष गरेको नाफाबाट सूर्य नेपालले सेयरधनीलाई १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश घोषणा गरेको छ। यो अघिल्लो वर्षको भन्दा १ अर्ब रुपैयाँले बढी हो ।

कम्पनीले लगानी विविधिकरण गर्न होटल व्यवसायमा प्रवेश गर्ने घोषणा गरेको भए पनि निर्माण भने सुरु गरिसकेको छैन।

सूर्य नेपालले ५ अर्ब ७५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ। रेटिंग एजेन्सीले सूर्य नेपालको उक्त कर्जालाई ए वान प्लस रेटिंग दिएको छ । जसको अर्थ हो उक्त कम्पनीमा कर्जा लगानी गर्नु अत्यन्तै कम जोखिम छ ।

चुरोटका साथै सूर्य नेपालले सलाइ र अगरबत्ती पनि उत्पादन गर्दै आएको छ। कम्पनीले सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ्स, शिखर फिल्टर किङ्स, शिखर आइस, नौलो, खुकरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी ब्रान्डका चुरोट उत्पादन गरिरहेको छ। सूर्य नेपालका देशभर १०० भन्दा बढी थोक बिक्रेता छन्।

सन् १९८६ मा स्थापना भएको सूर्य नेपालमा आइटिसी इन्डिया लिमिटेडको ५९ प्रतिशत सेयर छ। ३९ प्रतिशत नेपाली व्यक्तिगत लगानीकर्ताको स्वामित्व छ। यस्तै २ प्रतिशत ब्रिटिस अमेरिका टोबाको लिमिटेडको स्वामित्व छ।

सूर्य नेपालको माउ कम्पनी आइटिसीले एक वर्षमा ८ अर्ब ४५ करोडज अमेरिकी डलरबराबर व्यापार गरेको छ। आइटिसीको बजार पुँजीकरण ५८ अर्ब डलर पुगेको छ।

आइटिसी सन् १९१० मा स्थापना भएको थियो। कम्पनी भारतमा चुरोट उत्पादनसाथै प्याकेजिङ फुड, स्टेसनरी, सलाइ, अगरबत्ती, होटल, एग्रोलगायतका व्यवसायमा आवद्ध छ ।