![](https://internal.appharu.com/wp-content/uploads/2024/06/hulas-steel-768x487.jpg)
काठमाडौं । हितेश र हिमांशु गोल्छाले नेतृत्व गरिरहेको दिवाकर गोल्छा कर्पोरेशनद्वारा सञ्चालित हुलास स्टिल इन्डष्ट्रिजको व्यापार एकैवर्ष सवा ३ अर्ब रुपैयाँले घटेको छ ।
सन् २०२२ मा १५ अर्ब ६५ करोड रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा जम्मा १२ अर्ब ४४ करोड रुपैयाँको मात्रै व्यापार गरेको छ । अर्थतन्त्रमा देखिएको संकुचनका कारण्मा मागमा आएको कमीले कम्पनीको व्यापार प्रभावित बनेको हो । जबकी, कम्पनीले सन् २०२१ मा नै ११ अर्ब ४७ करोड रुपैयाँको व्यापार गरेको थियो ।
त्यस्तै, कम्पनीले सन् २०२० मा ६ अर्ब १४ करोड ४९ लाख रुपैयाँ र सन् २०१९ मा ८ अर्ब ५४ करोड ६७ लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले ८ अर्ब ४६ करोड रुपैयाँ बराबरको ऋणका लागि रेटिङ गराएको छ ।
सन् १९८१ मा स्थापना भएको कम्पनीमा चार्नले डेभलेपमेन्ट कम्पनीको ५० प्रतिशत हिस्सा छ । त्यसबाहेक कम्पनीमा गोल्छा समूहका सदस्य जयश्री गोल्छाको २१ प्रतिशत, हिमांशु गोल्छाको ६ प्रतिशत, हितेश गोल्छाको ६ प्रतिशत र हुलास मेटलको ६ प्रतिशत तथा अन्यको स्वामित्व छ ।
कम्पनीले विभिन्न प्रकारका स्टिलजन्य सामग्री उत्पादन गरी ‘हुलास’ ब्रान्डमा बिक्री गर्दै आएको छ । कम्पनीले स्टिल सिट्स, पाइपलगायतका विभिन्न प्रकारका सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीले विशेषगरी एचआर स्टिल सिट्स कच्चा पदार्थ आयात गरी स्टिलजन्य सामग्री उत्पादन तथा बिक्री गर्दै आएको छ ।
हुलास स्टिल इन्डष्ट्रिजले जिन्क, आल्मुनियम र सीआर सिट्स पनि आयात गर्दै आएको छ । वार्षिक ४ लाख ८१ हजार ७६२ टन स्टिलजन्य सामग्री उत्पादन गर्ने कम्पनीको क्षमता छ । कम्पनीले वार्षिक ५० हजार टन पाइप र ३ लाख ९४ हजार ७ सय टन सिट्ससहित आल्मुनियम स्ट्रक्चर, वेल्डेड स्ट्रक्चर, पाइप फिटिङ आदि उत्पादन गर्दै आएको छ । उक्त सामग्रीमध्ये ९२ प्रतिशत हिस्सा पाइप र सिट्सको छ ।
SHARE YOUR THOUGHTS