काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आजै (मंगलबार) नै उद्योगीहरुको लाइन जोड्ने बताएका छन् ।
क्लिकमान्डुसँग संक्षिप्त कुराकानी गर्दै उनले ३ महिनाभित्र बक्यौता तिर्न शर्तमा लाइन जोडिने बताए । उनका अनुसार आजै सोही अनुसारको माइन्युट तयार भएको छ ।
‘माइन्युटमा मैले हस्ताक्षर गरिसकेको छु, आजै लाइन जोडिन्छ,’ खड्काले भने ।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शर्तसहित उद्योगमा लाइन जोड्ने माइन्युट तयार पारेका थिए। मंगलबार दिउँसो साढे १२ बजे ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा बसेर माइन्युट तयार पारेका हुन् ।
करिब १:१० बजे मन्त्रालयमा माइन्युट तयार भएर अघि बढेको छ । माइन्युटमा प्राधिकरणका अध्यक्षा ऊर्जामन्त्री खड्का, सदस्यसमेत रहनुभएकी ऊर्जा सचिव दवाडी र सदस्यसचिव समेत रहेका प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन् । सञ्चालक समितिका सदस्यहरुले हस्ताक्षर गरेपछि कुलमान घिसिङको सचिवालयले पत्र वितरण तथा ग्राहक सेवा निर्देशनालयलाई पठाउँछ । निर्देशनालयले लाइन जोड्छ ।
सोमबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले घिसिङलाई माइन्युट लेख्ने अधिकारी दिएको थियो । बैठकमा सबैजसो सञ्चालक समितिका सदस्यहरु लाइन जोड्न सहमत भएका थिए । तर लाइन जोड्ने निर्णय भने भएको थिएन ।
प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न उद्योगीहरुलाई पत्र पठाएको थियो । असार ९ गते ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न १५ दिनको समय दिएर जानकारीसहितको पत्र पठाएको हो ।
उद्योगीलाई दिएको समय सकिएको भन्दै प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेको छ । प्राधिकरणले रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची,जगदम्बा सिन्थेटिक, हुलास स्टील र जगदम्बा स्टील लाइन काटिदिएको छ ।
उद्योगीहरु टाइम्स अफ डे मिटरिङ (टिओडी) मिटरको रेकर्ड मागिरहेका छन् । प्राधिकरणले दिन सकेको छैन। जसका कारण फर्जी बिल भन्दै तिर्न अस्वीकार गरिरहेका छन् ।
SHARE YOUR THOUGHTS