काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई व्यवस्थित गर्न सकिएको अवस्थामा मात्रै स्वास्थ्य सुविधा सहज र सरल बन्नसक्ने बताएका छन् ।
स्वास्थ्यमन्त्री पौडेलले बुधवार कान्ति बाल अस्पतालको मानसिक रोगको अन्तरंग सेवाको शुभराम्भ कार्यक्रममा बोल्दै स्वास्थ्य बीमामा राज्यका विभिन्न निकायहरुले दिएका स्वास्थ्य बीमा सम्बन्धि सुविधाहरुलाई स्वास्थ्य बीमासँग एकीकृत प्रणालीमा ल्याउन जरुरी रहेको बताए ।
सरकारले स्वास्थ्य बीमालाई थप व्यवस्थित गर्नसके मात्रै स्वास्थ्य सुविधाहरुलाई सहज,सरल र प्रभावकारी बनाउन सकिने उनको भनाइ छ ।
सरकारले युनिभर्सल कभरेजको रुपमा स्वास्थ्य बीमाको व्यवस्था गर्न खाजेको पौडेलले बताए ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमाका लागि गरेको प्रस्तावमा व्यापक टिकाटिप्पणी भइरहेको भन्दै मन्त्रालयले सबैलाई स्वास्थ्य बीमा ५ लाख दिने नभनेको उनले दाबी गरे।
स्वास्थ्यमन्त्री पौडेलले सरकारले बनाएको ८ वटा नसर्ने रोगहरुको सूचीअनुसार नसर्ने क्रोनिक रोग लागेका बिरामीहरुलाई कम्तिमा ५ लाख दिने प्रस्ताव गरिएको बताए ।
सामान्य रोग भएका बिरामीलाई १ लाखमा नै स्वास्थ्य उपचार गरिने उनको भनाइ छ ।
सरकारले एक लाख रुपैयाँ दिने भनेर बनाएका रोगहरुको सुविधा पनि बीमामा ल्याएर जोड्नुपर्ने उनको भनाइ छ । विपन्न,आमा सुरक्षा कार्यक्रमलाई पनि स्वास्थ्य बीमासँग जोड्नुपर्ने मन्त्री पौडेलले बताए ।
राज्यले सुर्तिजन्य र मदिराजन्य पदार्थमा लिएको करको आधा हिस्सा बीमालाई दिने गर्नुपर्ने उनको भनाइ छ । चिनीजन्य चिजहरुमा कर लगाउने व्यवस्था गर्नुपर्ने उनले बताए ।
‘प्रदेश र स्थानीय तहले स्वास्थ्य सेवा दिन जुन खर्च गरेको छ । त्यो पनि बीमा मार्फत गरिनुपर्छ । यो सबै गर्न सक्यौ भने सञ्चय कोषबाट दिने बीमा र सामाजिक सुरक्षा कोषबाट दिने स्वास्थ्य बीमा लगायत सबैलाई स्वास्थ्य बीमामा ल्याएर जोड्नुपर्छ । यसो गर्न सकिने भने वार्षिक रुपमा लाग्ने ९ अर्ब ४५ अर्बको हाराहारीमा पुग्नसक्छ,’ उनले भने ।
प्रतिक्रिया