![](https://internal.appharu.com/wp-content/uploads/2024/11/Sankar-Pokhrel-768x358.jpg)
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित भएको बताएका छन्।
महासचिव पोखरेलले शुक्रबारको एमाले सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट मेयर शाह एमालेविरुद्ध परिचालित भएको प्रस्ट रूपमा बुझिएको बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताए ।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन,’कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फवाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा ।’
महासचिब पोखरेलले महानगरपालिकाले जरिवानाको पर्चा सार्वजनिक गरेको समयमा नेकपा(एमाले) का स्वयम् सेवकहरु कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै गरेको र मंच तथा मंचमा प्रयोग गरिएका सामाग्री हटाउने काम संगसंगै जारी राखेको दावी गरेका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/11/sankar-pokhrel-1.jpg)
उनले भनेका छन,तर पनि मेयरको ध्यान सरसफाईमा होइन जरिवानाको स्टण्टवाजीमा थियो । जुन समय अगावै सार्वजनिक गरियो ।’
नेकपा(एमाले) पार्टी आफ्नो कार्यक्रम पछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर वालेनलाई । जागरण सभा यस प्रकारका स्टण्टवाजी गर्नेहरुलाई सचेत बनाउनका लागि पनि हो ।
काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको हो ।
फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ ।
महासचिब पोखरेलले आफ्नो धारणा सामाजिक सञ्जालमा सार्वजनिक गर्ना साथ उनको भनाईसँग असहमति राख्दै सयौं व्यक्तिले प्रतिक्रिया जनाएका छन्
SHARE YOUR THOUGHTS